राजविराज । जंगली जनावरको चोरी सिकारीमा संलग्न आरोपमा बुधबार मध्यरातमा पक्राउ परेका प्रहरीका पूर्वडीआईजी र बहालवाला सईसहित १० जनालाई प्रहरीले जिम्मा जमानीमा छाडेको छ ।
अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट बुधबार राति प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । उक्त घटनाको अनुसन्धान जारी राख्दै सबैलाई जिम्मा जमानीमा छोडिएको सप्तरी प्रहरीले जनाएको छ ।
बुधबार इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ घरभएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर–३ घरभएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपानेसहित १० जना पक्राउ गरेको थियो । अन्य पक्राउ पर्नेहरुमा हनुमाननगर कंकालिनी–८ घरभएका आकाश बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जनार्दन राउत, इटहरी–२ का प्रदीप लिम्बु, राजविराज–७ का रविन दास, हनुमाननगर कंकालनी–५ का ओमशंकर प्रसैला, वडा–१ का लक्षमण मण्डल, वडा–३ का शंकर खिडहरी यादव थिए ।
प्रहरीले को२त ६९ नम्बरको ट्र्याक्टर र त्यसमा रहेको मृत बँदेललाई बेवारिसे अवस्थामा फेला परेको मुचुल्का बनाई सवडिभिजन वन कार्यालय कंचनपुरमा पठाएको छ । सवडिभिजन वन कार्यालयका रेन्जर सन्तोष यादवका अनुसार प्रहरीले बेवारिसे अवस्थामा ट्र्याक्टर र त्यसमा लोड रहेको बँदेल फेला परेको पत्रसहित बिहीबार साँझ पठाएको बताए । यो घटनामा पक्राउ गरिएको राइफल र गोली अनुमति प्राप्त हो वा होइन भन्ने स्पष्ट खुल्न सकेको छैन ।
सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले राइफलको अनुमति पत्रको फोटोकपी पेस गरेको बताए । उनले पूर्वडीआईजी शाहको नाममा राइफलको अनुमतिपत्र रहेको बताए पनि राइफल राख्ने अनुमति कुन प्रयोजनका लागि दिइएको भन्ने खुलाउन सकेनन् । ‘कुन प्रयोजनका लागि राइफल राख्ने अनुमति दिएको हो खुल्न सकेको छैन, अनुसन्धान हुँदैछ,’ एसपी बज्राचार्यले भने ।
प्रहरीले उनीहरुको साथबाट २२ क्यालिवरको राइफल एक वटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीन वटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको थियो । साथै, मारिएको बँदेल लोड गरिएको को२त ६९ नम्बरको ट्र्याक्टर र प्र ३–०१–०२२ च ६८५५ नम्बरको स्कार्पियोसमेत नियन्त्रणमा लिएको थियो । यस्तै प्रकृतिका घटनामा यसअघि वन कार्यालय मार्फत मुद्दा चलाइएकोमा यसपटक जिम्मा जमानीमै छोड्ने प्रहरीको निर्णय भने शंकास्पद देखिएको छ ।
केही महिनाअघि पनि सोही क्षेत्रमा मारिएको मृगसहित पक्राउ गरिएका एक जनालाई सप्तरी प्रहरीले वन कार्यालय बुझाउँदै मुद्दा चलाइएको थियो । पछिल्लो प्रकरणमा पक्राउ परेकालाई छोड्न सप्तरी प्रहरीले गरेको हतार शंकास्पद रहेको स्थानीयको भनाइ छ । यो घटनामा पक्राउ परेका सबैलाई छोडिए पनि राइफलसहितका हतियार नछोडिएको एसपी बज्राचार्यले बताए ।
पूर्वडीआईजी शाह र बहालवाला सई न्यौपाने केही स्थानीयसँगै मिलेर लामो समयदेखि कोशी ब्यारेज क्षेत्रमा अवैध चोरी सिकारी गर्दै आएको स्थानीयको आरोप छ । बुधबार राति गाँजा तस्करको खोजीमा निस्केको प्रहरीले मृत बँदेल, हतियारसहित १० जनालाई नियन्त्रणमा लिएको थियो । पूर्वडीआईजीसहित रहेकाले सुरुमै छोड्ने प्रयास गरिए पनि स्थानीय बासिन्दाले थाहा पाइसकेको र बिहीबार बिहानै संचारमाध्यममा समाचार आएपछि उक्त प्रयास असफल भएको थियो । इकातिपुरबाट