जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर बोल्टस्का विजयी खेलाडीलाई बधाई दिँदै खेल र खेलाडीहरूको विकास तथा प्रगतिका लागि सरकार सहयोग रहने बताएका छन् ।
प्रथम नेपाल प्रिमियम लिग (एनपीएल) मा विजयी जनकपुर बोल्ट्सका खेलाडीको सम्मानमा आज जनकपुरधाममा निकालिएको शोभा यात्राका क्रममा मुख्यमन्त्री सिंहले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
क्रिकेट खेलप्रति आकर्षण बढाउन तथा खेलको दिगो विकासका लागि वातावरण तयार गर्न ट्रफीसहितको खेलाडीलाई सवारी साधनमा पुष्पमाला, अबिर तथा रातो टीका लगाएर सम्मानका साथ जनकपुरधामको नगर परिक्रमा गराइएको छ ।
जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट सुरु भएको शोभा यात्रा जिरो माइल, चानु चोक, पिडारी चोक, रामानन्द चोक हुँदै जानकी मंन्दिरमा पुजाआजा गरी समापन भएको थियो ।
जिल्ला क्रिकेट सङ्घ धनुषाद्वारा आयोजित सो शोभायात्रामा विभिन्न क्षेत्रका सामाजिक, व्यापारिक, धार्मिक तथा खेलसँग सम्बन्धित खेलाडी र आमजनताको सहभागिता थियो ।
एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई जनकपुर बोल्ट्सले पाँच विकेटले पराजित गरेको थियो । जनकपुर बोल्ट्सका खेलाडीसहितको ट्रफीलाई मधेस प्रदेशको विभिन्न जिल्लामा शोभायात्रा गराइनेछ ।
पुस १३ गते शनिबार जलेश्वर, सर्लाही तथा रौतटह जिल्लामा घुमाइने भएको छ । यसैगरी पुस १४ गते आइतबार बारा तथा पर्सा जिल्ला र १५ गते सोमबार सिराहा तथा सप्तरी जिल्लामा ट्रफीसहित घुमाइने भएको जनकपुर बोल्ट्स टिमले जानकारी दिएको छ ।
जनकपुर बोल्ट्सले प्रथम एनपिएल ट्रफी हात परेपछि मधेस प्रदेशका जिल्लाहरूमा खुसीको विशेष लहर देखिएकाले ट्रफीसहित खेलाडीलाई सम्मान गरिएको जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले बताए ।