काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ ।
खानेपानी मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको “समावेशी, जलवायु–उत्थानशील, र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता” विषयक कार्यक्रममा बोल्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
मन्त्री यादवले भन्नुभयो, “वास सेवाको सशक्तीकरणका लागि सबैभन्दा पहिले आफ्नै पार्टीको केन्द्रीय स्तरबाट कार्यान्वयन गराउने गरी प्रतिबद्धता व्यक्त गर्छु । साथै, राष्ट्रिय प्राथमिकतामा पार्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजानेछु ।”
वास सेवा राष्ट्रिय प्राथमिकतामा पार्नका लागि सबै राजनीतिक दलका शीर्ष नेताहरूसँग लिखित रूपमा कार्यान्वयन हुने गरी प्रतिबद्धता सुनिश्चित गर्न पहल गरिने समेत मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको महत्त्व बुझाउन राजनीतिक दलका प्रमुख नेताहरूलाई लिखित प्रतिबद्धता जनाउन आग्रह गर्नेछु ।
राजनीतिक दल, संघ, प्रदेश, र स्थानीय तहका सरकारले एकताबद्ध भएर लिखित प्रतिबद्धता जनाए वास सेवा सुधारमा ठोस उपलब्धि हासिल गर्न सकिनेछ ।” वास सेवा सुनिश्चित गर्न तीनै तहका सरकारबीच सहकार्य मजबुत बनाउन नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ लगायतका संस्थाहरूसँग सहकार्य गर्दै नीति तथा रणनीतिहरू परिमार्जन गर्न आवश्यक रहेको मन्त्री यादवले जोडदिनुभयो ।
उहाँले भन्नुभयो, “संघीय, प्रदेश, र स्थानीय तहले दीर्घकालीन योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । संविधानले खानेपानी, सरसफाइ तथा स्वच्छता सेवालाई मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ । सुरक्षित खानेपानी र सरसफाइ सुविधा दिगो विकास लक्ष्य प्राप्तिको प्रमुख आधार हो ।” हाल नेपालका केवल १७ प्रतिशत जनसङ्ख्याले मात्रै सुरक्षित खानेपानी सेवा पाएका छन् भने ६१ प्रतिशत जनसङ्ख्याले सुरक्षित सरसफाइ सुविधा प्राप्त गरेका समेत मन्त्री यादवको भनाई छ ।
१६ औँ आवधिक योजनाले ४५ प्रतिशत सुरक्षित खानेपानी, ६५ प्रतिशत सुरक्षित सरसफाइ, र ३० प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य लिएको तथा यी लक्ष्य प्राप्त गर्न संघ, प्रदेश, र स्थानीय तहबीच सहकार्य, पर्याप्त स्रोत परिचालन, नीति सुधार, तथा प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको मन्त्री यादवले बताउनुभयो ।
कार्यक्रममा प्रदेशका खानेपानी मन्त्रीहरू, नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघका प्रतिनिधिहरूसँग गहन छलफल भएको थियो । छलफलका क्रममा सहभागीहरूले सुरक्षित खानेपानी तथा सरसफाइका लक्ष्यहरू हासिल गर्न सबैले एकताबद्ध भएर काम गर्नुपर्ने र वास सेवालाई सुरक्षित, सबल, तथा समावेशी बनाउन निरन्तर प्रतिबद्ध रहनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कर्णाली प्रदेशकी खानेपानी मन्त्री विजया बुढा, संघीय खानेपानी मन्त्रालयका सचिव इ. प्रमिलादेवी बज्राचार्य, सहसचिव मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ. रामकुमार श्रेष्ठ, सातवटै प्रदेशका सचिवहरू, उपमहानिर्देशक रामचन्द्र काफ्ले लगायतको उपस्थिति रहेको थियो ।