काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ ।
राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने भएकाले केही दिनका लागि अभियान स्थगित गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।
‘आज रौतहटमा अभियान चलिरहेको छ । भोलिदेखि हुने अभियान भने केही दिनका लागि स्थगित भएको छ,’ महासचिव गुरुङले भने, ‘राष्ट्रिय राजनीतिलाई हेरेर केही सरसल्लाह गर्नुपर्ने तथा कार्यक्रमलाई केही परिमार्जन गर्नुपर्ने कारणले तत्काललाई अभियान स्थगित गरिएको हो ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्व टोली अनियानअन्तर्गत अहिले रौतहटमा आयोजित कार्यक्रममा सहभागी छन् ।
अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले रौतहटबाट अध्यक्षलगायतको टोली आजै काठमाडौं फर्कने र आइतबार पार्टीको पदाधिकारी बैठक बस्ने जानकारी दिए ।
‘पछिल्लो समय राजवादीहरूका गतिविधि पनि बढेका छन् । होली पनि नजिक आएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि आइसकेको छ । यी सबै विषयमा छलफल गर्न आइतबार पदाधिकारी बैठक बोलाइएको छ । त्यसैले केही दिनलाई अभियान स्थगित भएको हो,’ आचार्यले भने ।
सरकारको गलत रवैयाको कारण पश्चगामी शक्तिहरू सल्बलाउन थालेको निष्कर्षमा माओवादी नेताहरू पुगेका छन् । यसले पदाधिकारी बैठकमा गम्भीर छलफल हुने एक नेताले बताए ।
माओवादी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकको निर्णयअनुसार गत १२ फागुनबाट माओवादीले तराई–मधेशकेन्द्रित अभियान चलाइरहेको छ । अनलाइखनबर