वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख धर्मेन्द्रलाल कर्ण प्रमुख बनेर आए देखि सवारी शाखाको प्रत्येक फाँटहरु तथा सवारी चालक अनुमति पत्र (लाईसेन्स) शाखामा व्यापक भ्रष्टाचार भईरहँदा पनि नियमनकारी निकायको मौनताले सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।
सवारी शाखाको कैयौं फाँटहरु सँग हप्तावारी तथा कैयौं फाँटहरु सँग महिनवारी असुल्दै आएका प्रमुख कर्ण फाँट अधिकृतहरुलाई जहाँबाट जे भए पनि तोकिएको समयमा तोकिएको रकम अनिवार्य बुझाउनै पर्ने उर्दी जारी गरेको समाचार स्रोतले जनाएको छ ।प्रमुख कर्णको उर्दीका कारण फाँटहरुमा अधिकृत तथा कर्मचारीहरु सेवाग्रहीहरुलाई लुटने काम जारी नै राखेको जो कोहीले पनि सहजै हेर्न सक्छ ।
प्रमुख कर्ण कार्यालयमा प्रायः अनुपस्थित रहने तथा रकम असुली गर्ने बेलामा एक छिनको लागि आउने र असुली गरेर तुरुन्तै टाप हुने गरेको स्रोतको कथन रहेको छ ।
प्राविधिक फाँटका भ्रष्ट प्रवृतिका ईन्जिनियर अमित दास र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक लोकराज भट्टलाई सवारी चालक अनुमति पत्र परीक्षा समितिको सदस्यमा राखेर प्रमुख कर्ण लाईसेन्समा पनि व्यापक घोटाला गरिराखेको स्रोतले जनाएको छ ।
मासिक रुपमा करोडौं करोड कमाउन सफल व्यक्तित्वको रुपमा चिनिएका प्रमुख कर्ण सवारी चालक अनुमति पत्र विक्री गर्नको लागि दर्जनौं बिचौलियाहरु परिचालन गरिएको जनाईएको छ ।
ती बिचौलियाहरुले सेवाग्रहीहरु सँग मरमोलाई गरी जति रकम ठगे पनि प्रमुख कर्णलाई कार्यालयको आन्तरिक दररेट अनुसार नै रकम दिनु पर्ने बताईएको छ । कार्यालयको आन्तरिक दररेट मोटरसाईकलको ८ हजार, कार जिपको १२ हजार, हेभी गाडीको १५ हजार र जेसिबि, क्रेनहरुको २० हजार रहेको स्रोतले जनाएको छ ।
सवारी चालक अनुमति पत्रका परीक्षार्थीहरुले लिखित परीक्षा दिन जाँदा सेटिङ्गमा रहेका परीक्षार्थीहरुलाई ५/७ वटामा चिन्ह लगाई दिनुस भन्दै परीक्षामा खटिएका कर्मचारीहरुले नै बताउने गरेको एक परीक्षार्थीले नाम नलेख्ने शर्तमा यस अनलाईनलाई बताए ।
लिखित परीक्षामा पास भईसकेका परीक्षार्थीहरुले ट्रायल दिन जाँदा आफै ट्रायल पास भईसकेका परीक्षार्थीहरुको प्रवेश पत्रमा पास लेखेर दिने गरिन्छ भने फेल भएका परीक्षार्थीहरुको प्रवेश पत्र ट्राफिक प्रहरीले आफै राख्ने गरेको स्रोतले जनाएको छ । सो ट्रायलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रतिनिधिको रुपमा बरिष्ठ सई गुणनिधि खकुरेल उपस्थित रहे पनि प्रमुख प्रहरी निरिक्षक लोकराज भट्टको मिलोमतोमा सेटिङ्ग भईसकेको परीक्षार्थीहरुलाई पास गराउने गरिएको स्रोतको कथन रहेको छ ।
सवारी चालक अनुमति पत्रबाट भएको घुसको रकम आम्दानी मध्ये २० प्रतिशत प्रहरी निरिक्षक लोकराज भट्टले लिने गरेको स्रोतको कथन रहेको छ । तीन सदस्यीय रहेको परीक्षा समितिमा अध्यक्ष कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्ण र सदस्यहरुमा ईन्जिनियर अमित दास तथा ट्राफिक प्रहरी निरिक्षक लोकराज भट्ट रहेका छन् ।
परीक्षा समितिको गैरजिम्मेवारपनले गर्दा रकमको बलमा ज्यान मार्ने लाईसेन्स विक्री वितरण हुदै आईरहेकोमा नियमनकारी निकायको मौनताले विभिन्न किसिमको शंका उपशंका उब्जिएको छ ।