जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको छ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति केन्द्रमा पटक पटक निर्देशक परिवर्तन भएका कारणले प्रदेश सरकार मातहतका प्रादेशिक अस्पताल सहितका प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ ।
मधेश प्रदेशका जिल्लाहरूमा रहेको सबै जिल्ला अस्पताल तथा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा औषधिको अभाव भएको कारणले विपन्न तथा गरिब वर्गका बिरामीहरू समस्यामा परेका छन् । अहिले प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधिहरू खरिद गरेर सेवा सञ्चालन गरेपनि सरकारले तोके अनुसारको निःशुल्क औषधि बिरामीलाई दिन सकेको छैन ।
मधेश प्रदेशको १ सय ३६ पालिकामा नै प्रयोगशाला स्थापना गर्नमा सफल भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक पर्ने किटहरू नभएका कारणले थप समस्या उत्पन्न भएको छ । स्थापनाको छोटो समयमा नै राम्रो जस कमाएका प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पनि निर्देशकको विषयमा पटक पटक विवाद हुने गरेको छ । तत्कालीन निर्देशक डा. श्रवण मिश्रलाई हटाइएपछि प्रयोगशालाको परीक्षणमा नै प्रश्न उठ्ने गरेको छ ।
यसका साथै मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकका विषयमा पनि विवाद हुने गरेको छ । अहिलेका निर्देशक रहनु भएका श्रवण नायक उच्च अदालत जनकपुरधामको आदेश पछि काम गरिरहनु भएको छ । उहाँले औषधि अभावको विषयमा आफूले पनि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको बताउनु भयो । औषधि आपूर्ति सहितका स्वास्थ्य समस्याहरूको विषयमा पटक पटक उच्च स्तरको बैठक पनि हुने गरेको बताउनु भयो ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा केही समय अगाडी सरुवा भएर आएका सुनिल कुमार कुशवाहाले औषधि आपूर्तिका लागि प्रक्रिया अगाडी बढाएकाले आपूर्ति चाडै सहज हुने मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिनु भएको छ ।
नेपाल सरकारले ९८ प्रकारको औषधि सरकारी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क रुपमा बिरामीलाई प्रदान गर्ने भएपनि यसको आधार औषधि पनि दिने गरेको छैन । उता जनकपुरधामको स्वास्थ्य आपूर्ति केन्द्रमा म्याद गुज्रेका धेरै औषधिहरू थन्केका छन् । तर नयाँ आपूर्ति हुन नसकेपछि गरिब तथा सीमान्तकृत वर्गका बिरामीहरूले औषधि पाउन सकेका छैन । साभार : रेडियो नेपाल