महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरको गेटमै दुई फिटभन्दा बढी पानी जमेपछि उपचारका लागि आउने बिरामी र कुरुवाहरूलाई समस्या भएको छ । पानीको निकास नहुँदा अस्पतालको पुरानो गेट तथा इमरजेन्सी भवनको अगाडि वर्षातमा पानी जम्ने गरेको छ ।
जसको कारणले उपचारका लागि आउने बिरामी र कुरुवाहरूलाई समस्या हुने गरेको स्थानीय लालबाबु चौधरीले बताउनुभयो । उहाँले पानी निकासका लागि च्याम्बर नभएको कारणले पानी जम्ने गरेको र अस्पतालले पानी निकासको व्यवस्थापन नगर्दा बिरामी र कुरुवाहरूलाई सास्ती भोग्नु परेको बताउनुभयो ।
प्रादेशिक अस्पताल जलेश्वर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिनु झाले विगतमा पानीको सहजै निकास हुने गरेकोमा अस्पताल हुँदै महोत्तरी र फूलहट्टा परिकौली जाने सडक बनेपछि पानीको निकास नहुने गरेको बताउनुभयो । उहाँले आफूले पटकपटक पानी निकासीका लागि वडाध्यक्षलाई आग्रह गर्दै आएपनि समस्या समाधान नभएको बताउनुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा.विकासकुमार साहले पानी जमेर बिरामी र कुरुवाहरूलाई समस्या भएपछि जलेश्वर नगरपालिकालाई समस्या समाधानका लागि आग्रह गरेको जानकारी दिनुभयो । अर्को गेट भएको कारणले बिरामीहरूलाई सास्ती नभएपनि एआरटी सेवा लिन आउने बिरामी तथा तिनका कुरुवाहरूलाई भने पानीबाटै जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
त्यसैगरी बिरामीका कुरुवाहरूका लागि सवारी पार्किङ्ग सो ठाउँमा रहेकोले पानी जमेपछि पार्किङ्गमा समेत समस्या देखिएको निमित्त कार्यालय प्रमुख डा.साहले बताउनुभयो ।
उहाँले पानी जमेको ठाउँबाट च्याम्बरसम्म जोड्दा समस्या हल हुने भएपनि बजेट अभावले गर्दा गर्न नसकिएको बताउनुहुँदै नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारलाई भेटेरै समस्या समाधानका लागि आग्रह गरेको बताउनुभयो ।
नगर प्रमुख सुरेश साह सोनारले उपचारार्थ आउने बिरामी र कुरुवाहरूलाई जलजमावले समस्या भइरहेको जानकारी भएपछि तत्कालै समस्या समाधानका लागि इन्जिनियर पठाएको बताउनुभयो । उहाँले इन्जिनियरले पेस गर्ने रायको आधारमा समस्याको समाधान गरिने बताउनुभयो ।
देशकै होचो सदरमुकामको रूपमा पहिचान बनाएको जलेश्वर नगरपालिकामा अलिकति पनि पानी पर्दा कार्यालयहरूमा पानी जम्ने गरेको छ ।