बीरगन्ज /
पर्सामा गाउँपालिका अध्यक्ष र उपध्यक्ष वीच कुटाकुट भएको छ । जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा अध्यक्ष जैसवालले पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यक्ष फुलमतीले आफु माथि अपमानजनक तरिकाले आक्रमण गरेको र उल्टै आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष जैसवालले दोषीलाई कारवाही नभए अराजकता आउन सक्ने भन्दै आफुले कानुनी उपचार खोज्ने बताए । उनले घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने कुरामा जोड दिए । पत्रकारहरुको प्रश्नको जवाफ दिदैँ जैसवालले बिना कारण सामान्य छलफल भईरहेको बेला आक्रोशित मुद्रामा आएकी उपाध्यक्ष फुलमतीले आफुलाई हातपात गरेको आरोप लगाए ।
उपाध्यक्षले गाउँपालिकामा अराजक किसिमको गतिविधि गर्न खाजेको भन्दै अध्यक्ष जैसवालले उपाध्यक्ष थरुनीले कार्यालयमा गरेको हर्कतको बारेमा सबै कुरा सिसिटिभीमा रेकर्ड भएको बताए । पत्रकार सम्मेलनमा गाउँपालिका कार्यालय भित्र भएको घटनालाई सामाजिक सञ्जालमा नराख्न अनुरोध गर्दै जैसवालले घटनाको क्रममा सिसिटिभीमा रेकर्ड भएको लिएको भिडियो पत्रकारहरुलाई देखाए ।
पत्रकार सम्मेलनमा वडा नं. ३ का वडा अध्यक्ष मो. सलिम अंसारीले गापा अध्यक्ष निर्दोष रहेको तथा बिना कारण उपाध्यक्षले अध्यक्षलाई अपमानित गरेको भन्दै सबैले गाउँपालिकाको जनप्रतिनिधिहरुले उपाध्यक्षलाई कारवाहीको माग गरेको बताए । गापा अध्यक्ष जैसवालले स्थानीय चुनावको घोषणा भईसकेकोले राम्रो काम गरिरहेका अध्यक्षलाई बदनाम गराउन केही उत्श्रृखल व्यक्तिहरुको उक्साहटमा उपाध्यक्षले यस्तो काम गरेको आरोप लगाए ।
गापाको परिषद् तथा कार्यक्रम संसोधनको लागि बोलाइएको बैठकहरुमा जानकारी गराउँदा समेत नियतबस गापा उपाध्यक्ष अनुपस्थित हुने गरे पनि बहुमतबाट सभाले कार्यक्रमहरुलाई अनुमोदन तथा संसोधन गर्ने गरेको जैसवालले बताए । गापाको योजना संसोधनको बेला पनि उपाध्यक्ष अनुपस्थित रहेको भए पनि उनले पठाएको सबै योजनाहरु निती तथा कार्यक्रममा राखिएको अध्यक्ष जैसवालले दाबी गरे ।
यसअघि, सखुवाप्रसौनी गापाको उपाध्यक्ष फुलमती देवीले आफु माथि आईतबार गापा कार्यालयमै कुटपिट भएको भन्दै स्थानिय प्रशाकहरुलाई फोन गरेकी थिइन् । उनी हिजै बेलुका बीरगन्जको नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष जैसवालले उपाध्यक्षले आफ्नो गल्ती ढाकछोप गर्न तथा प्रहरी प्रशासनसँग बच्न बिरामी भएको बहाना गरेको बताए ।
सोमबार दिउँसो २ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा सखुवाप्रसौनी गापाको अध्यक्ष जैसवाल सहित वडा नं. १ का वडा अध्यक्ष विश्वनाथ पटवारी, वडा नं. २ का अध्यक्ष न्याज अहम्मद, वडा नं. ३ का अध्यक्ष मो. सलिम अंसारी, वडा नं. ४ का वडा अध्यक्ष जुम्मन अंसारी, वडा नं.५ का वडा अध्यक्ष रुपलाल यादव र वडा नं. ६ का वडा अध्यक्ष लालबाबु यादव तथा गापाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, भुजेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो । अध्यक्ष र उपाध्यक्षको झगडाले सोमबार दिनभर गाउँपालिका बन्द रहेको एक स्थानीयले बताए ।