वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा बिद्यार्थीलाई चित्रण गरिएको बताउनु भएको छ ।
आज वीरगञ्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान सङ्कायका बिद्यार्थीहरुको “बिदाई कार्यक्रम २०८१” लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले बिद्यार्थीहरु भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका सम्वाहक भएका बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन । बिद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्र मात्र होइनन्, उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका सम्वाहक हुन् ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले “बिदाई कार्यक्रम २०८१” मा सहभागि विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा उत्कृष्ठ अङ्क प्राप्त गरी पर्सा जिल्ला सहित देशभरीमा नाम आफ्नो रोशन गर्नका लागि शुभकामना समेत दिनुभएको थियो । उहाँले भन्नुभयो, “म विश्वासका साथ भन्छु, भोलिका इञ्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै बिद्यालयहरूबाट जन्मिनेछन् । सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोशन गर्नुहोला ।”
एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै मन्त्री यादवले अब वीरगञ्जवासीका घरघरमा पाइपमार्फत नि:शुल्क रुपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताउनु भएको छ । मन्त्री यादवले जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एशियन विकास बैंकको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको बाउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एडिबीको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ । चाडै यहाँका नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ ।”
यसैगरी मन्त्री यादवले अबका दिनहरूमा सिङ्गो वीरगञ्ज नगरभर नि:शुल्क खानेपानी वितरण गरिने प्रतिबद्धता समेत जनाउनु हुँदै अब चाँडै वीरगञ्जवासीले चापाकलको भर पर्नु नपर्ने र प्रत्यक नागरिकलाई पाइपमार्फत नि:शुल्क र सुरक्षित पानी आपूर्ति गरिने बताउनुभयो ।
ढल व्यवस्थापनका लागि रु डेढ अर्बको बजेट छुट्याइएको र वीरगञ्ज महानगरपालिकाका वडानं. २०, ३०, ३१, नगवा लगायतका क्षेत्रमा योजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।
यसअघि आफु वन तथा वातावरण मन्त्री भएका बेलामा पर्साको रामपुरमा चिडियाखाना निर्माणको काम अगाडि बढाइएको तथा स्वास्थ्य मन्त्री भएको समयमा नारायणी अस्पतालको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले वन मन्त्रालय सम्हाल्दा पर्साको रामपुरमा चिडियाखाना निर्माण गराए । स्वास्थ्यमन्त्री हुँदा नारायणी अस्पतालको स्तरोन्नति गराए । म जनताको सेवक हुँ । तपाईहरुको सेवा गर्नु मेरो प्रमुख दायित्व हो ।”