काठमाडौँ । काठमाडौं–केरुङ रेलमार्गको भौगर्भिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा यसको अध्ययन थालिएको हो ।
रेलमार्गले छुने जिल्ला काठमाडौं, नुवाकोट र रसुवामा सम्भाव्यता अध्ययन भइरहेको छ । तीन जिल्लामा ८० मध्ये ७५ स्थानमा ड्रिलिङ गरेर माटो निकालिसकिएको छ । ९० प्रतिशत माटो परीक्षणको काम सकिसकेको रेल विभाग स्रोतले जनाएको छ ।
आठ स्थानमा चार सय मिटरसम्म गहिरो बनाएर माटो निकाल्नुपर्नेमा ७ स्थानको निकालिसकिएको छ । तीन वटै जिल्लामा रेलमार्गले छुने सम्भावित स्थान छानेर त्यहाँबाट माटो, ढुंगा, पानी, चट्टानको नमुना संकलन गरिएको रेल विभागका प्रवक्ता तथा सिनियर डिभिजनल इन्जिनियर कमलकुमार साहले बताए ।
पहिलो चरणको प्रारम्भिक अध्ययन सकेर अहिले दोस्रो चरणअन्तर्गत रेल गुड्ने सम्भावित ठाउँमा ड्रिल मेसिनमार्फत माटो परीक्षणको काम अघि बढाइएको हो । ‘तर ड्रिलिङको काम अझै बाँकी छ,’ उनले भने, ‘यसरी ड्रिल गरेर निकालिएको माटो, ढुंगा, पानी र चट्टानको नमुना परीक्षण नेपालमै र केहीको भने चीनमा लगेर गरिएको छ ।’
नेपालमा नहुने नमुनाको परीक्षणका लागि मात्र चीन पठाइएको साहको भनाइ छ । ‘नेपालकै प्रयोगशालामा सम्भव भएसम्मको परीक्षण गरिएको छ, गर्नैपर्ने तर यहाँ सम्भव नभएकोलाई मात्र परीक्षण गर्न चीन पठाउने गरिएको छ,’ उनले भने, ‘त्यसका लागि हामीले चिठी लेखेर सहजीकरण गर्दै आएका छौं ।’ नमुना परीक्षणका लागि रसुवागढी हुँदै माटो, ढुंगा, पानी र चट्टान चीन पठाउने गरिएको छ । स्थानीयको अवरोधले गर्दा भने बेला–बेला काम प्रभावित हुँदै आएको साहले सुनाए । ‘ड्रिल गर्ने क्रममा स्थानीयले आफूहरूको जग्गामा किन खाल्डो खनेको भन्दै अवरोध गरेका थिए,’ उनले भने, ‘रेलमार्गको रेखांकनमा जे छ, त्यसअनुसार मात्र काम भएको छ, त्यसबाहेकको जग्गामा काम गरिएको छैन ।’
भूबनोटले गर्दा पनि अध्ययनमा बेला–बेलामा समस्या हुने गरेको साहको भनाइ छ । ‘अध्ययन गर्ने ठाउँमा बाटोको समस्या हुने गरेको छ, त्यसैले त्यो ठाउँसम्म पुग्न सडक पनि बनाउनुपर्दा केही ढिलाइ भएको हो,’ उनले भने, ‘अहिले समस्या छैन ।’ केही–केही ठाउँमा पानी परेर पहिरो जाँदा त्यस्तो अवस्थामा काम पनि रोकिने गरेको उनले सुनाए ।
पहिलो चरणको प्रारम्भिक अध्ययन सक्न एक वर्ष लागेको थियो । अर्थात् रेलमार्गको सम्भाव्यता अध्ययनका लागि २०७९ पुसमा नेपाल आएको चिनियाँ प्राविधिक टोलीले २०८० माघ पहिलो साता पहिलो चरणको अध्ययन सकेको थियो । यसको अध्ययन सुरु भएको मितिबाट ४२ महिनाभित्र सक्नुपर्नेछ । तर अध्ययन थालेको अहिलेसम्म २७ महिना बितिसकेको छ । अहिले २०८३ असारसम्म अध्ययन गर्ने समय छ । उक्त समयभित्र अध्ययनको काम सकिने साहको दाबी छ । यो सम्भाव्यता अध्ययन भएकाले यसबाट निर्माणमा लाग्ने लागत, समय र रेलमार्गको कुल दूरी थाहा हुनेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्छन्, त्यो पनि थाहा हुनेछ । अन्तिम रिपोर्ट तयार भएपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेर निर्माणको काम अघि बढाइनेछ ।
‘दोस्रो चरणको काम पनि अन्तिम चरणमा पुग्न लागेको छ,’ विभागका एक इन्जिनियरले भने, ‘त्यसपछि अन्तिम चरणमा यसको फाइनल रिपोर्ट तयार पार्ने काम हुन्छ ।’ अहिलेसम्म हेर्दा तोकिएको समयमा काम सकिने देखिएको ती इन्जिनियरले बताए । अध्ययनमा चिनियाँ प्राविधिक टोलीलाई रेल विभागले सहयोग गर्दै आएको छ । अध्ययनमा विभागका इन्जिनियर टोलीले सघाउने गरेका छन् ।
रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्मको रेलमार्गको दूरी ७२ किमि रहनेछ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७५ मंसिरमा भएको थियो । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो ।
त्यस्तै २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अध्ययनमा अप्ठ्यारो पर्दा रेल विभाग र मन्त्रालयले सहजीकरण गर्दै आएको छ । साभार : इकान्तिपुर