काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले दिगो पानी स्रोतको संरक्षण, स्वच्छ ढल व्यवस्थापन र सबै नागरिकका लागि सहज सरसफाइ सेवा सुनिश्चित गर्दै “नयाँ युगको आधारशिला” निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
आज खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को प्रगति र कार्ययोजना, आगामि आव २०८२/८३ को योजना तर्जुमा, र विभागको नवस्वीकृत सङगठनात्मक संरचनाअनुरूप भावी रणनीतिमाथिको गहन छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले सो कुरा बताउनु भएको छ ।
उहाँले भन्नुभयो, “आजको दिनसम्म, मुलुकभर १२ ठूला आयोजना सम्पन्न भई २० लाखभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा सुरक्षित खानेपानी सेवाबाट लाभान्वित भएका छन् । चालु आर्थिक वर्षभित्र, रु ११ अर्बभन्दा बढीको बहुवर्षीय स्रोत सहमति प्राप्त भई ८१ नयाँ आयोजना ठेक्का प्रक्रिया अन्तर्गत अघि बढिरहेका छन्, जुन हाम्रो प्रतिवद्धताको मूर्तरूप हो ।”
यसैगरी मन्त्री यादवले आफ्नै कार्यकालमा सात वर्षदेखि रोकिएको नेपाल खानेपानी संस्थान कर्मचारी सेवा शर्त विनियमावलीलाई अन्तत: कार्यान्वयनमा ल्याइएको थप स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपाल खानेपानी संस्थान कर्मचारी सेवा शर्त विनियमावली कार्यान्वयनमा ल्याइएको छ, यो केवल नीतिगत उपलब्धि नभई, कर्मचारी वर्गको मनोबल अभिवृद्धिका लागि महत्वपूर्ण कदम हो ।”
देशका गरिब, विपन्न तथा दुर्गम क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरूलाई नि:शुल्क खानेपानीको पहुँच सुनिश्चित गर्ने दिशामा सरकारले ठोस र दूरदर्शी पहल गरेको मन्त्री यादवले दाबी गर्नुभयो । मेलम्ची खानेपानी आयोजना अन्तर्गत पानीलाई अब स्काडा प्रणालीमार्फत नियमित रूपमा घर–घरमा पुर्याउने प्राविधिक पूर्वाधार स्थापित भइसकेको उहाँको भनाई छ ।
दीर्घकालीन खानेपानीका लागि अन्तर्राष्ट्रिय सहकार्यको दिशामा पनि उल्लेखनीय प्रगति भएको र दिगो पानी स्रोतको संरक्षण, स्वच्छ ढल व्यवस्थापन, र सर्वसुलभ सरसफाइ सेवा सुनिश्चित गर्दै नयाँ युगको आधारशिला निर्माण गर्दै गरेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “भारत सरकारसँगको समझदारी, इसिमोड, जाइका, तथा एशियाली विकास बैंक (एडिबी) सँगको सशक्त साझेदारीमार्फत हामीले नेपालको पानीलाई विश्वचिन्तनको केन्द्रबिन्दुमा ल्याउन सफल भएका छौँ ।”
उक्त कार्यक्रममा मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वच्छ, शुद्ध अनि गुणस्तरिय खानेपानी सेवा प्रदानका लागि मन्त्रालयले विभिन्न आयोजनाहरु अघि सारेर काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नेपाली नागरिकलाई स्वच्छ, शुद्ध अनि गुणस्तरिय खानेपानी सेवा प्रदान गर्न अहोरात्र खटिएका छौँ । खानेपानीको क्षेत्रमा गरेका कामहरुको चाडै परिणाम देखिने छ ।”
यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जलवायु परिवर्तन उत्थानशिल खानेपानी संरचना निर्माण गरि खानेपानीको गुणस्तर बृद्धि गर्ने र सम्पूर्ण नागरीकलाई खानेपानी तथा सरसफाई सेवाको पहुँच पुर्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, खानेपानी तथा ढल व्यवस्थापन विभागले अबका दिनमा नियमनकारी भुमिका समेत निभाउने र सम्पूर्ण नागरीकलाई खानेपानी तथा सरसफाई सेवाको पहुँच पुर्याउने छौँ ।
मन्त्री यादव तथा सचिव शाक्य बज्रचार्यलाई सशक्त नेतृत्व, दूरदृष्टिपूर्ण मार्गदर्शन, विभागको दीर्घकालीन स्थायित्व र प्रगतिको दिशामा पुर्याउन अतुलनीय योगदान गरेको भन्दै खानेपानी तथा ढल व्यस्थापन विभाग तथा परिवारको तर्फबाट १५ किलोको माला लगाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव मीन श्रेष्ठ, रमाकान्त दुवाडी, रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, क्षमता विकास केन्द्रका प्रमुख, माधवप्रसाद अधिकारी लगायतको सहभागीता रहेको थियो ।