वीरगन्ज । वीरगन्ज महानगरपालिकामा गठबन्धनको विजयी भएको छ । महानगरको मेयरमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राजेशमान सिंह निर्वाचित भएका छन् । भने उप मेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।
मंगलबार विहान प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले वीरगन्ज महानगरपालिकाको मेयरमा सिंह र उप मेयरमा आलम निर्वाचित भएको घोषणा गरेका छन् । सिंह ४६ हजार २१५ मत प्राप्त गरि महानगरपालिकाको मयरमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेबाट मेयर पदका उम्मेदवार विजय कुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरी पराजी भएका हुन । सरावगी भन्दा सिंह २२ हजार ५४४ मत बढि ल्याई महानगरको मेयरमा विजयी भएका हुन् । निर्वाचित सिंहलाई उनका कार्यकर्ताहरुले मतगणना स्थलमै भव्य स्वागत गरेका थिए । उनका शुभचिन्तक सहित कार्यकर्ताहरुले फुलको माला लगाई काँधमा बोकी मतगणना स्थलबाट वीरगन्ज बजार ल्याएका थिए ।
यसैगरि महानगरपालिकाको मेयर पदमा राप्रपाका गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार दिनेश रामले ९८ मत प्राप्त गरेका थिए । यसैगरि स्वतन्त्र उम्मेदवार लक्ष्मी हजारले ९५ मत प्राप्त गरेका छन् भने महम्मद ज्याउल हक हवारीले ३८ मत प्राप्त गरेका छन् । यसरी नै मेयर पदमा स्वतन्त्र उम्मेदवार कैलाश प्रसाद सर्राफ र जमिल राय भाटले शुन्य मत प्राप्त गरेका थिए ।
यसैगरि वीरगन्ज महानगरपालिकाको उपमेयरमा इम्तियाज आलमले ३० हजार ७८ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९ हजार ५६८ मत प्राप्त गरेका थिए । आलम झा भन्दा तेब्बर मत ल्याई उपमेयरमा निर्वाचित भएका हुन् ।
नव निर्वाचित उपमेयर आलमलाई उनका पार्टीका नेता तथा कार्यकर्ताहरुले मतगणना स्थलमा भव्य स्वागत गरेका थिए । उपमेयरमा राप्रपाकी विना जयसवार (कुर्मी) ले ५ हजार ९८८ मत प्राप्त गरेकी थिइन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९०९ मत प्राप्त गरेकी थिइन् । यसैगरि स्वतन्त्र उम्मेदवार अनिता देवीले १९४ मत प्राप्त गरेकी थिइन् भने सालिकराम प्रसाद कानुले २४२ मत प्राप्त गरेका थिए ।