काठमाण्डू उपत्यका र छेउछाउका क्षेत्रमा शनिवार बिहान २:३६ बजे भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्निट्यूड ४.६ को उक्त भूकम्पको केन्द्रबिन्दु भक्तपुर जिल्लामा थियो।
मानिसहरूले सामाजिक सञ्जालमा आफूहरू गहिरो निद्रामा भएकै बेला भूकम्प गएकाले आफू बिउँझिएको लेखेका छन्।
गइरहन्छ भूकम्प
नेपालमा अहिले पनि प्रत्येक दिन १०-१२ वटा भूकम्प गइरहेको विज्ञहरूले बताएका छन्। तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौँ।
हामीले महसुस गरेका वा लोकल म्याग्निट्यूड ४ भन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ।
तीभन्दा कम शक्तिशाली भूकम्पले चाहिँ जमिनको सतहमा खासै ठूलो प्रभाव पार्दैनन्। तर जमिनको भित्री भागमा ठूला भूकम्पका कारण खलबलिएको शक्तिलाई पुरानै अवस्थामा फर्काउन तिनको महत्त्वपूर्ण भूमिका हुने विज्ञहरू बताउँछन्।
वि.सं. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भरेर ७.८ म्याग्निट्यूडको भूकम्प गयो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख प्रमुख मोनिका झाले 'गोरखा भूकम्प' नाम दिइएको उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डूको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको बताएकी छन्।
किन जान्छ परकम्प
सात वर्षअघिको भूकम्पसँगै सुरु भएको भूकम्पीय शृङ्खलामा भूकम्पको सङ्ख्या पाँचगुनाले बढेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत विज्ञ लोकविजय अधिकारी बताउँछन्।
"त्यस भूकम्पले गर्दा जमिनमुनि प्रभावित शक्ति सन्तुलन नभएसम्म परकम्प आइरहन्छन्। पछिल्लो समय नेपालमै भएका अध्ययनहरूले त्यो शक्ति पुरानै अवस्थामा फर्किन समय लाग्ने देखाएको छ," उनले बीबीसी न्यूज नेपालीलाई बताए।
भूकम्पपछि कतै २०० वर्षसम्म पनि परकम्प जाने त कतै केही महिनामै साम्य हुनसक्ने विज्ञहरूको भनाइ छ। सात वर्षअघि विनाशकारी भूकम्प जानुअघि नेपालमा ठूलो भूकम्पपछि महसुस हुने परकम्पहरू कसरी घट्दै जान्छन् भन्नेबारे तथ्याङ्क थिएन।
नेपालमा पछिल्लो समय भने परकम्पको सङ्ख्या कसरी घट्दै जान्छ भन्ने विषयमा जानकारी सङ्कलन गरिएको अधिकारीले बताए।
के हो त परकम्पबारे नयाँ जानकारी
"गोरखा भूकम्पपछि बारपाकदेखि दोलखासम्म परकम्प जाने क्रम निकै बढ्यो। त्यो रोकिन समय लाग्दो रहेछ भन्ने कुरा पत्ता लागेको छ," उनले भने।
उक्त भूकम्पका परकम्पहरू आगामी १० वर्षसम्म जान सक्ने उनको आकलन छ। विगत सात वर्षमा ५५,००० भन्दा बढी परकम्प गएका र तीमध्ये लोकल म्याग्निट्यूड ४ भन्दा माथिका ५७५ वटा रहेको तथ्याङ्क राष्ट्रिय भूकम्प मापन केन्द्रसँग छ।
भूकम्पले सबैभन्दा प्रभाव पार्ने स्थान पहिचान
अहिले भएका वैज्ञानिक अध्ययनले नेपालको हिमाली भूभागका कुनकुन क्षेत्रमा भूकम्पको सम्भावना उच्च छ भन्ने कुरा स्पष्ट पार्ने भूकम्पविद् अधिकारीले बताए। त्यससँगै भूकम्प गएको खण्डमा कुन ठाउँमा सबैभन्दा बढी जमिन हल्लिन्छ वा शक्ति निष्कासन हुन्छ भन्ने थाहा हुने उनको भनाइ छ।
"गोरखा भूकम्प र त्यसभन्दा अघि त्यही ठाउँमा गएका भूकम्प तथा परकम्पहरूको सन् १९९४ देखि सङ्कलित तथ्याङ्कबाट के देखिन्छ भने ठूलो भूकम्प गयो भने त्यसले सबैभन्दा धेरै असर पार्ने वा शक्ति निष्काशन गर्ने ठाउँ थाहा पाउन सक्छौँ," उनले भने।
उदाहरणका लागि, २०७२ सालको भूकम्पमा गोरखादेखि दोलखासम्मको भूभाग प्रभावित भए।
त्यसबीचमा सबैभन्दा बढी असर कहाँ पर्यो त? जमिन सबै ठाउँमा एकनास हल्लिँदैन, सबैभन्दा बढी कहाँ हल्लियो? जस्ता प्रश्नहरूको जबाफ पत्ता लगाउन सकिन्छ।
काठमाण्डू पहिले तलाउ हुनुको फाइदा
काठमाण्डू खाल्डो पहिला एक ठूलो ताल भएको मानिन्छ। वरपर रहेका खोलाहरूले बालुवा, माटो, ढुङ्गाहरू बगाएर ल्याई थुपारेको वैज्ञानिक बुझाइ छ।
त्यसका कारण काठमाण्डूको जमिनमुनि थिगर आजसम्म रहेको विज्ञ अधिकारी बताउँछन्।
"काठमाण्डूको जमिनमा ६०० मिटर तल गएपछि मात्र चट्टान भेटाउन सकिन्छ। चट्टानमा भूकम्पको तरङ्गले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने त थाहा थियो तर स्थानीय रूपमा थिगर भएको खण्डमा कस्तो असर पार्छ थाहा थिएन," उनले भने।
अन्यत्र भएका अनुसन्धानका आधारमा काठमाण्डूको जमिनमुनि चट्टानमा कम्पन भएर सतहमा आइपुग्दा ८ देखि १० गुना बढी क्षति गर्ने बताइएको थियो। थिगरले सानो भूकम्प जाँदा भूमिमा हुने कम्पनलाई बढाइदिने वैज्ञानिकहरूको बुझाइ थियो।
तर सारा नेपाल र काठमाण्डू उपत्यकामा होला भनी पूर्वानुमान गरिएको जस्तो नराम्रो कम्पन र धनजनको क्षति नभएको विज्ञहरू बताउँछन्।
शक्तिशाली भूकम्प जाँदा काठमाण्डूको त्यही थिगर 'शक् अब्जर्बर्' (आघात अवशोषक) बनिदियो र केही उच्च आवृत्तिका कम्पनलाई सोसिदिएको 'गोरखा भूकम्प'का बारेमा शोध प्रकाशित गरेकी सुजन हफले बीबीसीलाई बताएकी थिइन्।
यदि त्यसरी कम्पनहरू नसोसिएका र तिनीहरू छिटोछिटो तलमाथि गरेका भए भूकम्पले काठमाण्डूमा रहेका संरचनालाई बढी क्षति पुर्याउँथ्यो र त्यसबाट धेरै क्षति हुन्थ्यो भन्ने उनको विश्लेषण छ।
"भूकम्प गएपछि जमिनमा हुने तरङ्गको फ्रिक्वन्सी फरकफरक हुन्छन्। जमिन छिटो हल्लिँदा तरङ्ग कम हुन्छ र बिस्तारै हल्लिँदा तरङ्ग बढी। गोरखा भूकम्प ठूलो थियो तर काठमाण्डूमा यसको तरङ्ग कम रह्यो। कारण जमिनमुनि रहेका बालुवा, रोडाहरू हुन सक्छन्। जसले गर्दा साना घरहरूमा क्षति कम भयो," लोकविजय अधिकारीले भने।
भूकम्पपछि पहिरो बढ्यो
नेपालमा भएका विभिन्न अध्ययनहरूले गोरखा भूकम्पपछि भौगर्भिक सन्तुलन प्रभावित भएको देखाएका छन्।
अधिकारीका अनुसार भूकम्पका कारण गोरखादेखि दोलखासम्मको विभिन्न भागमा २५,००० वटाभन्दा बढी नयाँ पहिरो गए।
"हाम्रो भूगर्भ जुन छ त्यसलाई भूकम्पका थर्थराहटले असर पारेको हुन्छ। चट्टान कमजोर बनेकै कारण पहिरो जाने हो। लाङ्टाङ पनि यसको एउटा उदाहरण हो। पछिल्लो समय मेलम्चीमा गएको पहिरोमा पनि यसको केही असर रहेको हुनसक्छ," उनले भने।
त्यस्तै बाँध, पुलजस्ता क्षेत्रहरूमा पनि भूकम्पको प्रभावबारे अध्ययन भइरहेका छन्।
सयौँ वर्ष लगाएर शक्ति सञ्चय भएपछि त्यो भूकम्पको रूपमा निस्किन्छ। पुराना भूकम्पहरूको अध्ययनपछि नेपालमा भूकम्प जाने क्षेत्र मुख्य तीन भागमा बाढिएका छन्। पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएका छैनन्। त्यस क्षेत्रमा ठूलो भूकम्पका निम्ति शक्ति सञ्चय हुन ६०० देखि ७०० वर्ष लाग्ने विश्लेषण रहेको अधिकारीले बताए।
देशको मध्य भागमा २०० वर्षभन्दा कम समयावधिमा ठूला भूकम्प गएको देखिन्छ। पश्चिम नेपालमा भने ५०० वर्षयता ठूलो भूकम्प नगएको भूवैज्ञानिकहरूले बताउने गरेका छन्।
"भूकम्प जाने शक्ति त्यस क्षेत्रमा सञ्चित भएको छ तर कहिले भूकम्प बनेर निस्किन्छ थाहा छैन। जति समय अन्तराल भयो भूकम्प त्यति नै शक्तिशाली हुनसक्छ," अधिकारीले भने।
"पूर्वमा कम शक्तिशाली र पश्चिममा ठूलो जान सक्ने शक्ति बाँकी छ। "
बहत्तर सालको भूकम्प विश्लेषण गर्दा नेपालमा भूकम्पको शक्ति दक्षिणमा चुरे शृङ्खला सुरु हुनुभन्दा करिब १०० किलोमिटर उत्तरतर्फ सञ्चित हुन्छ। उक्त भूकम्पमा गोरखादेखि काठमाण्डूसम्म परकम्पका केन्द्रबिन्दुहरू थिए।
तर हेटौँडाबाट तलतिर चुरेको भेगको शक्ति निष्कासन भएको छैन।
अब त्यो कसरी निस्कन्छ त? परकम्पको रूपमा वा अर्को ठूलो भूकम्पको रूपमा वा देशको पूर्वी वा पश्चिम भेगमा जाने भूकम्पले प्रभावित गरेर निकाल्छ त भन्ने प्रश्नको उत्तर आफूहरूसँग नभएको अधिकारी बताउँछन्।
भूकम्पीय जोखिमको नयाँ नक्सा
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले पनि गोरखा भूकम्पको परकम्प सिन्धुपाल्चोकबाट दक्षिणतर्फ गइरहेको बताइन्।
जमिनमुनि रहेको शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि "काठमाण्डूकै जमिनमुनि जम्मा भएको र नसरेको" उनको भनाइ छ।
"त्यसैले भूकम्पको जोखिम रहेकै छ। त्यसको सम्भाव्यता आकलन गरी जोखिम न्यूनीकरण गर्न भूकम्पीय जोखिम नक्सा 'एसएचएम'को तयारी गरिरहेका छौँ," उनले भनिन्।
सन् २००२ मा जारी गरिएको यस नक्सालाई अद्यावधिक गरिएको हो।
उक्त नक्सामा देशमा भूकम्पको जोखिम क्षेत्र सङ्केत गरिएको छ। जोखिम क्षेत्रहरूमध्ये पनि कुन चाहिँ उच्च, मध्यम वा न्यून जोखिममा छ भन्ने जनाइएको उनले बताइन्।
"नक्सामा अध्ययन र निगरानीको निचोड उल्लेख गरिएको हुन्छ। सोहीअनुरूप सतर्क हुने हो। क्षति त भूकम्पले होइन हाम्रो संरचनाले गर्छ। नक्साको सुझाव अनुसार हरेक क्षेत्रको भौतिक संरचना निर्माणका मापदण्ड तय गर्न सकिन्छ," झाले भनिन्।
कतिपय ठाउँहरूमा बस्ती नै सार्नु पर्ने हुनसक्ने उनको भनाइ छ।
नक्सामा भूकम्पका स्रोत वा उद्गम क्षेत्र कहाँ छन्, केन्द्रबिन्दु कहाँ बनेका छन् र दरारहरूबारे समेत जानकारी उल्लिखित हुनेछ। त्यस्तै कति वर्षमा कति म्याग्निट्यूडको भूकम्प जाने सम्भावना छ भन्नेबारे पनि विवरण हुने बताइएको छ।
"भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, दीर्घकालीन अनुमान हुन सक्छन्। तथ्याङ्क हेर्दा नेपालमा १०० वर्षमा ठूलो भूकम्प जान सक्छ," उनले भनिन्।
लोकविजय अधिकारीले भने नेपालको पूर्वदेखि पश्चिमसम्मै भूकम्पीय जोखिम रहेको बताए।
उनी भूकम्पबाट हुने भौतिक तथा मानवीय जोखिम कम गर्न अब हुने निर्माण कार्य मापदण्ड तयार गरी सोहीअनुरूप गर्नुपर्ने मत राख्छन्। सभार : बीबीसी नेपाली