जनकपुरधाम । मधेश प्रदेशमा असारे विकासको नाममा विभिन्न योजनाहरूमा अनियमितता भइरहेको आरोप प्रदेश सभाको बैठकमा नै उठेपछि सभामुख सरोज कुमार यादवले ८ सदस्यीय संसदीय समिति गठन गर्नु भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभाको बैठकमा असारे विकासको नाममा अनियमितता भइरहेको आवाज उठाएपछि ती योजनाहरूको छानबिनका लागि उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय संसदीय समिति गठन गरेको सभामुख यादवले जानकारी दिनु भयो ।
सभामुख यादवले १५ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरी उपसभामुख देवको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिनु भयो ।
समितिको सदस्यहरूमा प्रदेश सभाका सदस्यहरु विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहनु भएको छ ।
यस समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको तालाबन्दी लगायत विषयमा अनुगमन तथा छानविन गरी १५ दिनमा सभामुख समक्ष प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
यसै बीच संसदीय समितिले तोके अनुसारको कामकाज अगाडि बढाइसकेको समितिले जनाएको छ । खास गरेर अहिले हतार हतारमा विभिन्न योजनाहरूमा । आर्थिक अनियमितता अधिक हुने गरेको आरोप लाग्दै आएको छ । रेडियो नेपालबाट सभार