बारा । भान्छा र सुत्ने कोठा सँगै छ । बिजुली अरुको घरबाट लामो तार तानेर ल्याइएको छ । सामान्य चर्पी र पानीका लागि चापाकल गाउँलेले चन्दा दिएर बनाइदिएका छन् । इँटाको कच्ची पिलर ठड्याइएको छाप्रोमा बाँसको बार छ । जस्तापाको छानो छ ।
छाप्रोको बीचमा बार नभएकाले सबै जना खाँदिएर सँगसँगै सुत्न बाध्य छन् । यो अवस्था हो– सिम्रौनगढ नगरपालिका १ खजानी गाउँभन्दा दक्षिणपट्टि भारतीय सीमासँग जोडिएको पथलवाघाट प्रहरी चौकीको । गाउँभन्दा १ किमी दक्षिण सीमासित जोडिएको अन्कन्टार ठाउँमा रहेको यो चौकीपरिपरि जंगल छ । चौकीमा प्रहरी सहायक निरीक्षकको ‘कमान्ड’ मा ६ जना प्रहरी छन् । सबैको आफ्नो मोटरसाइकल छन्, त्यसैबाट उनीहरू गस्ती जान्छन् । सरकारी सवारीसाधन छैन । त्यस नाकाबाट अवैध कारोबार बढ्न थालेपछि नियन्त्रणका लागि २०७५ मा अस्थायी चौकी स्थापना गरिएको थियो ।
चार वर्षदेखि चौकी भए पनि स्थानीय तह वा अन्य निकायले त्यहाँ पूर्वाधार निर्माणमा चासो दिएका छैनन् । ‘७÷८ लाख लागतको सामान्य भवन बनाइदिन नगरपालिकालाई अनुरोध गरेको छु, तर निर्माण होला नहोला थाहा छैन,’ पथलवाघाट चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले भने, ‘पक्की पर्खाल लगाएर माथिबाट जस्तापाता हालेर बनाए पनि काम चल्थ्यो ।’
प्रहरीको चौकीको दयनीय अवस्थाको यो एउटा उदाहरण मात्र हो । सीमासित जोडिएका आधा दर्जन नेपाल प्रहरी चौकीको पूर्वाधारको अवस्था यस्तै छ । कचोर्वा चौकीको आफ्नै १० कठा जग्गामा रहेको भवन द्वन्द्वकालमा माओवादीले विस्फोट गराएर ध्वस्त बनाएपछि चौकी भाडामा बस्दै आएको छ । चौकी निर्माणका लागि हालसम्म कतैबाट बजेट विनियोजन हुन सकेको छैन । खजानी चौकी रनिवास मन्दिरमा छ । बैरिया, पिपरपाती चौकीको पनि उस्तै विजोग छ । अहिले बर्खाको बेला प्रहरीहरू मुस्किलले बस्छन् ।
छाप्रो, भाडा, मठमन्दिरमा भएका सबै चौकीमा बर्खामा पानी चुहिने समस्या छ । जीर्ण छाप्रोमा थुनुवा कोठा छैन । ग्राउन्ड नभएर परेड खेलाउने समस्या छ । ‘बजेट अभावले भवन बन्न सकेको छैन । जसोतसो नागरिकको सुरक्षाको लागि खटिएका छौं,’ यादवले भने, ‘स्थानीय तह, संघ वा प्रदेशबाट त्यसको लागि बजेट विनियोजन भइदिएहुन्थ्यो ।’ भवन अभावमा धेरै जसो चौकीहरू भाडामा, कतै वडा कार्यालयलगायत अन्य सरकारी निकायको भवन र मठमन्दिरमा छन् ।
‘सबैतिर बजेट फालाफाल छ, तर प्रहरी बस्ने घर कसैले बनाइदिदैँन,’ उनले भने । यसैबीच सवारी साधनको अभावमा बारा प्रहरीले गस्ती गर्न सकेको छैन् । पहिलो संविधानसभाको चुनावताका भारत सरकारले नेपाल प्रहरीको लागि उपलब्ध गराएको गाडीहरू बिग्रेदेखि उनीहरूलाई समस्या भएको हो । साभार कान्तिपुरबाट