पर्सा । हुलाकी सडकअन्तर्गत तिलाबे खोलामा निर्मित पुलको काम नसकिँदै उद्घाट्नको तयारी थालिएको छ । पुल निर्माण भए पनि दुवैतर्फको करिब १ सय मिटर एप्रोच सडक र नदी नियन्त्रणको काम नसक्दै हतारमा पुलको उद्घाट्न गर्न लागिएको हो । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री मोहम्मद इस्तियाक राईले बुधबार पुल उद्घाट्न गर्ने तय भएको छ ।
हुलाकी सडकको वीरगन्ज–चमरी खण्डअन्तर्गत तिलाबे खोलाको १ सय मिटर लामो पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले पाएको थियो । पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय युवाले गतवर्ष समूह गठन गरेर दबाब दिएका थिए । समूहका एक अगुवा राकेश यादवले एप्रोच सडक निर्माण र खोला नियन्त्रणको काम पूरा नभएको बताए । ‘हामीलाई केवल पुल मात्र चाहिएको होइन, पुलसँगै जोडिएको एप्रोच सडक र नदी नियन्त्रणको काम पनि सम्पन्न गरिनुपर्छ,’ उनले भने, ‘नत्र फेरि विरोधमा उत्रन बाध्य हुनेछौं ।’ समूहका अर्का अगुवा दिनेश मिश्रले ठेक्का सम्झौतामा उल्लेख भएका सबै भौतिक पूर्वाधार ठेकेदार कम्पनीले निर्माण गर्नुपर्ने बताए । ‘एप्रोच सडक बिनापुलबाट आवागमन गर्न गाह्रो हुन्छ,’ उनले भने ।
७ करोड ७१ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । २०७२ जेठ २५ मा सम्झौता हुँदा २०७५ जेठ २४ मा काम सक्ने जनाइएको थियो । तर, ठेकेदार कम्पनीले पटकपटक म्याद थप गराउँदै आएको थियो । पर्सा जिल्लाको लाइफलाइन मानिने पदम रोड÷हुलाकी सडकमा रहेको यो पुलको निर्माणमा ढिलाइ भएपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई सास्ती व्यहोर्दै आएका छन् ।
खोलामा हाल रहेको पुल साँघुरो हुँदै दैनिक घण्टौं जाम हुने गरेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर दुर्गा मण्डलले बुधबार पुलको उद्घाटन गर्न लागिएको सुनेको बताए । ‘मैले पनि पुलको उद्घाट्नको कुरा विभिन्न माध्यमबाट थाहा पाएको हुँ,’ उनले भने, ‘पुलको साइट इन्जिनियर पनि हुँ, त्यहाँ हालसम्म करिब ८० प्रतिशत मात्र काम भएको छ । एप्रोच सडक कालोपत्र गरिएको छैन । नदी नियन्त्रणको काम सुरु नै गरिएको छैन ।’
ठेकेदार पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारले पुल पूर्ण रूपले तयार भइसकेको बताए । ‘पुल तयार भइसकेको छ, १ सय मिटर एप्रोच सडक बनाउन बाँकी छ, यो सडक निर्माणका लागि भर्खरै माटो हालिएको छ,’ उनले भने, ‘हतारमा एप्रोच सडक बनाए त्यो भाँसिन्छ, ठेक्काको अवधि यस वर्षको चैत मसान्तसम्म छ, हामीले पनि त्यहाँ भरिएको माटोले एक वर्षाको पानी खाएपछि दसैंपछि एप्रोच सडक बनाउनु उपयुक्त देखेर हाल नबनाएका हौं, त्यसै पनि निर्माण सकिएपछि ठेक्काको मर्मत अवधि ३ वर्षको हुन्छ, त्यसै अवधिमा एप्रोच सडक बनाउन सकिन्छ ।’
ठेक्काअन्तर्गत बाँकी नदी नियन्त्रणको काम पनि त्यसै अवधिमा गर्ने उनले बताए । ‘समग्रमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ, बाँकी काम मेन्टेनेन्स अवधिमा दसैंपछि सम्पन्न गर्ने योजना छ,’ उनले भने, ‘हुलाकी सडक आयोजना कार्यालयबाट मन्त्रीजी बुधबार आउन लागेको जानकारी पाएकाले त्यसै अवसर पारेर उद्घाटन गराउन लागेका हौं ।’ साभार : कान्तिपुरबाट