वीरगञ्ज । प्रतिपक्षी दल नेकपा एमाले चुनाव केन्द्रित अभियानमा होमिएको छ । सरकारले मंसीर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तय गरेसँगै प्रमुख प्रतिपक्ष दल एमाले चुनावलाई लक्षित गर्दै पार्टी प्रवेश कार्यक्रमलाई निरन्तर दिएको हो । विभिन्न पार्टीबाट एमाले प्रवेश गराउँदै स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली देश दौडाहा अभियान थालेका छन् ।
शनिबार संघीय राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ओलीले मधेश प्रदेशका प्रदेश सभासदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य प्रल्हाद गिरी गोस्वामीसहित विभिन्न पार्टीका युवा कार्यकर्ता एमालेमा प्रवेश गराएका हुन् । लोसपाबाट सुजित गिरी, भुपेन्द्र साह र नेकपा एसबाट अरुण यादवले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वानसमेत गरेका छन् । उनले राष्ट्रको समृद्धि र जनताको सुखका लागि एमालेले अघि बढाएको अभियानमा सरकारबाट बाहिर पु¥याएपछि अल्पविराम लाग्न पुगेकाले अझै अगाडि बढाउन दिनुपर्नेमा जोड दिएका छन् ।
को हुन प्रदेश सभासदस्य प्रल्हाद गिरी ?
प्रल्हाद गिरी गोस्वामी तत्कालीन सङ्घीय समाजवादी फोरमको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । २०२६ सालमा विद्यार्थी सङ्गठनबाट राजनीतिमा आएका गिरी २०३२/०३३ मा राजकाज मुद्दामा जेल परेका थिए ।
२०३५ सालमा पञ्चायत विरुद्ध लागेको आरोपमा जागिरबाट निकालिएका थिए । २०३९ देखि २०४६ सम्म तत्कालीन नेकपा (माले) को पूर्णकालीन कार्यकर्ता भएका र बीचमा करिब एक दशक संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरी भूमिगत भएका गिरी २०६८ सालमा नेकपा (माओवादी) र २०७१ सालमा नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।
प्रदेश सभाको निर्वाचनअघि तत्कालीन सङ्घीय समाजवादी फोरममा प्रवेश गरेका गिरी प्रदेशमा कृषि विश्वविद्यालय स्थापना गरेर कृषिमा दक्ष जनशक्ति उत्पादन र कृषिमा आधारित उद्योग सञ्चालनमा विशेष जोड दिनुपर्ने बताउँछन् ।