सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा रहेको एक मनि ट्रान्सफर दिउँसै लुटिएको छ । गोडैता नगरपालिका वडा नं. ८ सिसौटिया रोडमा मा लालीगुराँस बहुउद्देश्यीय कृषि सहकारी संस्थाले सञ्चालन गरेको सिटी एक्सप्रेस मनि ट्रान्सफर बाट अज्ञात ४ जना व्यक्तिको समूहले हतियार देखाउँदै ८ लाख ५० हजार नगद र एक लाख बराबरको मोबाइल गरी करिब ९ लाख ५० हजार मूल्य बराबरको नगद तथा सरसामान लुटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अहिले गोडैताका व्यापारीहरू त्रसित बनेका छन् ।
अज्ञात व्यक्तिहरूको हतियारधारी समूहले बिहान साढे १० बजे नै मनि ट्रान्सफर लुट्नुको साथै दुई जना स्थानीय तथा एक जना मनि ट्रान्सफरका कर्मचारीको मोबाइल समेत लुटेको गोडैता स्थानीयहरूले बताएका छन् । हतियारधारी समूहले कालो रङ्गको एपाचे मोटरसाइकलमा नकाब लगाएर आएका स्थानीयहरूले बताउनुभयो ।
मोबाइल लुटिनेहरूमा गोडैता नगरपालिका वडा नं. २ बस्ने ५४ वर्षीय मोहमद तसलिमले बोकेको ३० हजार मूल्य बराबरको मोबाइल, वडा नं. १ बस्ने सेवाग्राही ७३ वर्षीय वृद्ध जगतलालले बोकेको २० हजार मूल्य पर्ने मोबाइल र मनि ट्रान्सफरका एक जना कर्मचारीको मोबाइल लुटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । घटना भएको स्थान बाट करिब ५ सय मिटर पर प्रहरी चौकी रहेको छ । पर्याप्त प्रहरीहरू नहुँदा सिटी एक्सप्रेस मनि ट्रान्सफर लुटिएको हो ।
एक स्थानीय तह एक इप्रका माग गर्दै आएको छु, गोडैतामा ५६ हजार जनसङ्ख्यामा ८ जना प्रहरी मात्र छ । सीमा सँग जोडिएको नगरपालिका र व्यापारिक केन्द्र रहेको नगरपालिकामा उचित प्रहरी सङ्ख्या नभएको हुँदा यस्तो घटना भएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र रायले गुनासो गर्नुभयो । आफूले पटक पटक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र नेपाल प्रहरीका एसपी प्रवीण पोखरेललाई गोडैतामा ईलाका प्रहरी कार्यालयको स्थापना गर्न अनुरोध गरेपनि उहाँहरूले चासो नदिँदा घटना घटेको गोडैता नगरपालिका नगर प्रमुख रायले आरोप लगाउनुभयो ।
अहिले गोडैताका व्यापारीहरू त्रसित बनेको नगर प्रमुख रायले बताउनुभयो । बरहथवा, लालबन्दी, हरिवन, इश्वरपुर नगरपालिकाहरूमा कहीँ तिन कहीँ २ वटा सम्म इप्रका छन् गोडैतामा एउटा पनि नभएको कारण मनि ट्रान्सफर लुटिएको नगर प्रमुख रायको भनाइ छ । साभार : रेडियो नेपाल