जनकपुरधाम । पत्रकारिता क्षेत्रमा विगत केही समय यता आएर बढ्दै गएको विकृति तथा विसङ्गतिका कारणले समग्र पत्रकारिता क्षेत्र नै बदनाम भइरहेकोमा दशकौँसम्म पत्रकारितामा जीवन बिताउनु भएकाहरूले चिन्ता व्यक्त गर्नु भएको छ ।
नेपाल पत्रकार महासङ्घ धनुषाको संयोजन तथा फ्रि मिडिया नेटवर्कको आयोजनामा नेपाल पत्रकार महासङ्घको सभाकक्षमा आज भएको “सञ्चार नीति संवाद” कार्यक्रममा सहभागी वरिष्ठ पत्रकारहरूले अहिले पत्रकारिता क्षेत्रमा बढेका विकृतिका कारणले वास्तविक पत्रकारहरूको पेशामा नै क्षति भएको बताउँदै विकृति रोक्नका लागि पत्रकारितामा कडाइ गर्न आवश्यक भएको बताउनुभयो ।
यसका साथै सामाजिक सञ्जालका कारणले पत्रकारिता क्षेत्र कमजोर बनिरहेको बताउँदै पत्रकारितामा प्रवेश गर्नका लागि योग्यता परीक्षाको व्यवस्था गर्न जरुरी रहेकोमा जोड दिनुभयो । सहभागीहरूले वकालत गर्न, उपचार गर्नका लागि लिने परीक्षा जस्तै पत्रकारिता गर्न चाहनेका लागि त्यस्तै प्रकारको परीक्षा प्रणालीको विकास गरेको खण्डमा मात्र पत्रकारिता क्षेत्रको मर्यादा जोगाउन सक्ने बताउनुभयो ।
स्नातक उत्तीर्ण गर्ने र पत्रकारिता अध्ययन गर्ने बित्तिकै पत्रकारिता गर्न पाउने सम्पादक बन्ने नीतिमा संशोधन गर्न जरुरी रहेको वरिष्ठ पत्रकारहरूले जोड दिनु भयो । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रले उठाउनु पर्ने धेरै विषयहरू भएपनि त्यसमा पत्रकारहरूले ध्यान नदिएर चाकडी तथा चाप्लुसी गर्ने, रकम हत्याउने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।
पत्रकारिता क्षेत्रको सुधारका लागि शुद्धीकरण अभियान चलाउन आवश्यक भएको बताउँदै जनकपुरधामको पत्रकारिताको इतिहासका विषयमा जानकारी दिनु भएको थियो । मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकारिता क्षेत्रलाई शुद्ध र मर्यादित बनाउनका लागि पत्रकारितामा प्रवेश गर्न योग्यता प्रणालीको परीक्षण उत्तीर्ण गरेको हुनु पर्ने प्रावधान ल्याउन आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जनकपुरधामको अधिकांश साप्ताहिक पत्रपत्रिका कपीपेष्ट भएको पाइएको बताउँदै त्यसमा सुधार गर्नका लागि सुझाव दिँदै सामाजिक सञ्जालको नियमन तथा नियन्त्रण चुनौतीको विषय बनेको बताउनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पत्रकारिता क्षेत्र निष्पक्ष र तटस्थ भएको खण्डमा मुलुकलाई नै फाइदा पुग्ने बताउँदै अहिले पत्रकारिता क्षेत्रमा न्यूज भन्दा बढी पत्रकारहरूको भ्युजहरु आउनु दुःखद भएको बताउनु भयो । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले पत्रकारहरूसँग प्रहरी जहिले पनि सहकार्य गर्नका लागि तयार भएपनि विभिन्न कारणले कहिलेकाहीँ प्रहरीहरूले सहकार्य गर्न असमर्थ हुने गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ धनुषाका जिल्ला अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार श्यामसुन्दर शशीले कार्यपत्र प्रस्तुत गर्नु भएकोमा सो कार्यपत्र माथि सहभागी भएका पत्रकारहरूले विभिन्न राय सुझावका साथै आफ्नो दृष्टिकोण राख्नु भएको थियो । कार्यक्रममा ईयूका प्रतिनिधि शिव भण्डारी, फ्रि मिडिया नेटवर्कका प्रतिनिधि रामजी दहालले पनि बोल्नु भएको थियो । साभार : रेडियो नेपाल