वीरगञ्ज । विश्व आत्महत्या रोकथाम विरुद्धको दिवसको दिन स्थगित भएको सचेतनामुलक कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय पर्साले आत्महत्या सम्बन्धी सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेको थियो । पछिल्लो समयमा आत्महत्याले विकराल रुप लिने गरेको भन्दै यसको विरुद्धमा सबैलाई सचेत बनाउन कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सासँगै, सबै सामुदायिक प्रहरी सेवा केन्द्र, आत्महत्या सम्बन्धी क्षेत्रमा काम गर्ने संघ संस्था, विद्यालय, युवा लगायतको सयुँक्त सहकार्यमा कार्यक्रम सम्पन्न भएको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अमूल्य जीवनलाई खेर फाल्न नहुने बताए ।
आत्महत्याको रोकथामका लागि सबैलाई सचेत बनाउन सरोकारवालाले हातेमालो गर्नुपर्नेमा ढकालले जोड दिए । बढ्दै गरेको आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतना फैलाउनुको विकल्प नरहेको उनको भनाई छ ।
विद्यार्थीको सन्देशमुलक नाटक
कार्यक्रममा जिएचपी माद्यामिक विद्यालयका विद्यार्थीहरुले आत्महत्या सम्बन्धी सन्देशमुलक नाटक समेत प्रस्तुत गरेका थिए । यसअघि आत्महत्या नगरो, जीवन बचाऔँ लगायतका सन्देशमुलक नारासहित जिएचपी मावि, मनकामना मावि लगायतका विद्यालयका विद्यार्थीहरुले नगर परिक्रमा समेत गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरी, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवा, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।