नेपालगन्ज । केही दिनदेखिको अविरल वर्षाका कारण बाँकेमा बाढी र डुबानबाट कम्तीमा ३ हजार ६ सय जना विस्थापित भएका छन् । राप्ती नदीमा आएको बाढी गएराति राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा त्यहाँका करिब ३ हजार मानिस विस्थापित भएका छन् ।
बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेका एक सय भन्दा बढी बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । नदीमा आएको बाढी अहिले पनि खतराको सतह भन्दा माथि बगिरहेको छ ।
यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरिका २ सय ५० जना विस्थापित भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ र २० का ४ सय भन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका प्रहरीले जनाएको छ ।
बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहा लगायत धेरै बस्ती डुबानमा परेका छन् । कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका हुन् । साभार : रेडियो नेपाल