सर्लाही । सर्लाहीको उत्तरी चुरेभेगका स्थानीयले प्रतिबन्धित गाँजा खेती बढाउँदै लगेका छन्। सडक नपुगेको यहाँस्थित चुरेका दुर्गम गाउँमा बसोबास गर्ने स्थानीयले राम्रो आम्दानी हुने देखेर गाँजाको खेती गर्ने क्रम बढ्दो छ। प्रहरी प्रशासन बिरलै पुग्ने चुरेपाखोका बस्तीमा स्थानीयले बारीभरि गाँजा रोपेका छन्।
प्रहरी पुगेर एक हप्तादेखि चुरेका पाखो बारीमा लगाइएको गाँजा नष्ट गरिरहेका छन्।
प्रहरी बर्सेनि गाँजा फडानी गर्न यो क्षेत्रमा पुगे खेती घट्नुभन्दा बढिरहेको छ। सिन्धुलीसँग सीमा जोडिएको दुर्गम बस्तीमा हमेसा प्रहरी नपुग्ने हुँदा स्थानीयले मकै, कोदो, फापरलगायत बाली लगाउन छाडेर गाँजा खेती गर्न थालेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत एक हप्ताको अवधिमा लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ३० बिघा र ईश्वरपुर नगरपालिका–१२, लामीदमारमा एक बिघा सात कट्ठाको गाँजा खेती प्रहरीले नष्ट गरिसकेको छ।
लामीदमारका एक युवकका अनुसार प्रहरी आएर गाँजा फँडानी गरिरहँदा स्थानीय चिन्तित छन्। तयारी हुनै लागेको गाँजा प्रहरी आएर नष्ट गर्दा धेरै परिवारको आम्दानीको मुख्य स्रोत नै गुमेको ती युवकले बताउनुभयो। “यहाँ प्रायः को आम्दानीको स्रोत भनेकै गाँजा खेती हो, अहिले बेच्ने बेला भएको गाँजा प्रहरी आएर नष्ट गर्दा धेरै परिवारमा रुवाबासी छ,” नाम उल्लेख नगर्ने सर्तमा ती युवकले भन्नुभयो, “प्रहरीले गाँजा फाड्दा स्थानीयलाई त अहिले दुहुनो भैँसी मरेको बराबर भएको छ।”
स्रोतका अनुसार गाँजा खेतीमा भारतीय तस्करको साथ छ। गाँजामा कुनै रोगब्याध लागे वा अन्य समस्या देखिए भारतबाटै प्राविधिक आउँछन्। गाँजा रोप्दादेखि तयार पार्दासम्म भारतीय तस्कर आएर सहयोग गर्छन्। केही स्थानीयले तयार पारेको गाँजा यो वर्ष प्रतिकेजी सात हजार रुपियाँमा बिक्री भइरहेको छ। नारायण खोलाका एक स्थानीयले मनग्य पैसा आर्जन हुने बेला प्रहरी आएर गाँजा नष्ट गरेपछि धेरै परिवारमा रुवाबासी चलेको बताउनुभयो। “गाँजा लगाउन एक जनाको लाख रुपियाँ भन्दा बढी नै खर्च भएको छ, यतिबेला धमाधम लगानी उठाउने र पैसा कमाउने बेला थियो,” ती स्थानीयले पनि नाम नबताउने सर्तमा भन्नुभयो।
सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले गाँजा खेती नष्ट गर्ने अभियान जारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सूचना आएका ठाउँमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने काम भइरहेको छ। प्रहरी पुगेर गाँजा फाँडिरहँदा त्यहाँ कोही पनि देखा पर्नुहुन्न। गाँजा स्थानीय आफैँले लगाएका हुन वा कसैको लगानीमा खेती भइरहेको हो, हामी त्यो बुझ्दै छौँ।” साभार : गोरखापत्र अनलाइन