ढल्केबर । धनुषाको चुरे तथा भावर क्षेत्रमा रहेको वन जङ्गलबाट पछिल्लो समय काठ चोरी तस्करी बढेको छ। तस्करहरूले काँचो साल, खयर, कर्मालगायत जातका रुख कटान गरी तस्करी गर्दै आएका छन्।
तस्करहरूले प्रहरी प्रशासन र वन कर्मचारीको पहुँच कम भएको स्थानमा गएर दिनदहाडै रुख कटान गरी राति तस्करी गर्ने गरेका छन्। उनीहरूले जङ्गलभित्रै रुख कटान गरी त्यसको कडी, पटहा फलीलगायत चिरान गरेर तस्करी गरिरहेका हुन्छन्।
जिल्लाको मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकाको उत्तरी क्षेत्रमा वन जङ्गल पर्दछ। जङ्गलको सबैजसो स्थानबाट छिटफुट काठ चोरी तस्करी हुने गरेको भए पनि मिथिला नगरपालिकाको तल्लो तुलसी, धनुषाधाम नगरपालिकाको जमुनिया खोला र गणेशमान चारनाथ नगरपालिकाको चिसापानीस्थित जङ्गलबाट व्यापक मात्रामा काठ तस्करी हुने गरेको छ। मिथिला नगरपालिका–११, तल्लो तुलसीवासीका अनुसार ढाड खोलामा पर्ने सुन्दर सामुदायिक वन र चुरे क्षेत्रमा पर्ने राष्ट्रिय वनबाट काठ तस्करी अत्यधिक बढेको छ। काठ तस्करीमा अधिकांश स्थानीयवासीकै संलग्नता छ। उनीहरू चुरे जङ्गलबाट काँचो साल र खयरलगायत बहुमूल्य काठहरू कटान गरी बिक्री गर्ने गरेका छन्।
यहाँका करिब ४०–५० जनाले छुट्टाछुट्टै समूह बनाएर भरुवा बन्दुक र रुख काट्ने औजार लिएर दिनभरि रुख कटान गरी रात परेपछि ओसार्छन्। उनीहरू महोत्तरीको बर्दिबास, बिजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी जमुनीवासदेखि दक्षिणमा सञ्चालित फर्निचर उद्योग तथा सःमिलमा लगेर बिक्री गर्ने गरेको स्थानीयवासी बताउँछन्।
यस ठाउँबाट धेरै पहिलादेखि नै काठ तस्करी भइरहे पनि एक वर्षअगाडि वन कर्मचारी र प्रहरीले कडाइ गरेपछि केही हदसम्म काठ चोरी तस्करी कम भएको थियो। स्थानीय तहको चुनावपछि तस्करहरूको सङ्ख्या फेरि बढेको तल्लो तुलसीका एक स्थानीयले बताउनुभयो।
सामुदायिक वन उपभोक्ता महासङ्घ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले काठ चोरी तस्करी रोक्न वन कार्यालयले गस्ती बढाउनुपर्ने बताउनुभयो। वन कार्यालयले स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समिति र प्रहरी प्रशासनसँग समन्वय गरी नियमित गस्ती गरे काठ चोरी तस्करी रोक्न सकिने उहाँले जानकारी दिनुभयो।
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले जङ्गलबाट हुने गरेको अवैध वन फँडानी तथा चोरी तस्करी रोक्न नियमित वन गस्ती गरिरहेको बताउनुभयो। उहाँले वन रक्षक र कर्मचारीसहितको टोली गाडी तथा पैदल गस्ती गर्ने गरेको दाबी गर्नुभयो।
सीमित साधन स्रोतका कारण सबैतिर गस्ती गर्न कठिनाइ भएको बताउँदै प्रमुख चौधरीले काठ तस्करी कार्यमा जोसुकै संलग्न भए पनि पक्राउ गरी कारबाही गरिने बताउनुभयो।
उहाँले पछिल्लो चार महिनाको अवधिमा अवैध रूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो। जङ्गलको काठ चोरी निकासी नियन्त्रणका लागि नयाँ रणनीतिसहित अगाडि बढ्ने भन्दै डिभिजनल प्रमुख चौधरीले यसका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो।
मधेश प्रदेशमा सबैभन्दा कम वन क्षेत्र रहेको यस जिल्लाको वनजङ्गलबाट वन फँडानी हुनु दुःखद भएको वातावरण संरक्षण अभियानी तथा मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले बताउनुभयो। उहाँले चुरेको विनाशले थप प्राकृतिक समस्या उत्पन्न हुने जानकारी दिनुभयो। साभार : गोरखापत्र अनलाइन