शिवशंङ्कर मिश्र ।
बारा । बारा जिल्लामा चालु आर्थिक वर्ष ०७९/०८० मा १,२१,०६२.५ मेट्रिक टन आलु उत्पादन भएको छ । यसवर्ष कृषकहरुले विभिन्न जातका आलु कुल ७४५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर सावाँ १६ मेट्रिक टनले कुल १,२१,०६२.५ मेट्रिकटन आलु उत्पादन गरेको कृषि ज्ञानकेन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
कम लगानीमा बढी फाइदा हुने नगद बाली उखुखेती र माछापालन व्यवसायतर्फ कृषकहरु बढी आर्कषक भएपनि समयमा पैसा नपाएपछि गतवर्षको तुलनामा यसबर्ष आलुखेतीमा ३० हेक्टर क्षेत्रफलमा बढोत्तरी भएको छ ।
विगत तीन वर्षदेखि लगातार २० देखि ३० हेक्टर क्षेत्रफल जग्गामा आलुको साटो अन्य नगदेबाली खेती हुँदै आएको यादवले बताउनुभयो । केन्द्रका अनुसार गतवर्ष ०७८/०७९ सालमा ७४२० हेक्टर क्षेत्रफलमा खेती हुँदा प्रति हेक्टर १६ मेट्रिकटनले कुल १,१८,७२० मेट्रिकटन विभिन्न जातका आलु उत्पादन भएको थियो ।
यता धान पाक्ने बेलामा समयमा वर्षाको पानी नहुँदा खेतको नमी कमी भएको सिजनमा नै आलुखेती हुने गरेकाले गतवर्षको तुलनामा ३० हेक्टर क्षेत्रफल खेती भए पनि आलु उत्पादनमा कमी हुन गएको ज्ञान केन्द्रका सूचना अधिकारी रामजीवन ठाकुरले जानकारी दिनुभयोे ।
अन्यको तुलनामा शिवचालिस र लालमुनी जातको आलु बढी उत्पादन हुने भएकाले यी, दुई जातको आलुको खेती अधिकाँश ठाउँमा हुने गरेको छ । हालका दिनमा उत्पादित आलु कलैया बजारलगायत हाटबजारमा प्रतिकिलो २०/२५ रुपियाँमा बिक्री भइरहेको छ ।
जिल्लाको उचिडिह, हरिहरपुर, गोलागंज, अमृतगंज, देवापुर, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा लगायतका ठाउँ आलुखेतीको पकेट क्षेत्र भए पनि प्रायः सबै क्षेत्रमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत राजनारायण प्रसाद साहले बताउनुभयो ।
किसानको व्यथा
बजारमा अहिले २०/२५ रुपियाँ प्रतिकिलो आलु बिक्री भइरहे पनि हामीबाट व्यापारीले १७/१८ रुपियाँमा खरिद गर्ने गरेको कलैया उपमहानगरपालिका–१३ धर्मनगर टोलका किसान वीरेन्द्र मण्डलले बताउनुभयो ।
आलुको बीउस खरिद मूल्यको आधा भाउमा आलु बिक्री गर्नुपरेको बाध्यता रहेको सोही ठाउँका अर्का किसान अवधकिशोर महतोले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एक क्विन्टल बीउ खरिद गर्दा तीन हजार ६ सय रुपियाँ लागेको थियो, अहिले हामीले सत्र, अठ्ठार सयमा प्रति क्विन्टल आलु बेच्नुपरेको छ ।’’
असल किसान कुनै पनि बालीमा घाटानाफा जोड्दैन, रोप्ने बेलामा महँगो मूल्यमा बीउ खरिद गर्ने, बाली सप्रेपछि जुन रेट रहन्छ, त्यही मूल्यमा बिक्री गर्नेगर्छ महतोले भन्नुभयो । ‘‘केही किसानहरु घाटानाफा राख्छन् । खेतीमा बढी मुनाफा कमाउन पूरा गाउँमा एक–दुई जनाले प्राविधिक खेती (हाइब्रिड) गर्दै आएका छन् । तर त्यसको स्वाद र गाउँघरको बीउबाट उत्पादित वस्तुको स्वादमा धेरै फरक हुन जान्छ,’’ उहाँले भन्नुभयो ।
यस्तै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आलु खनेपछि साहुले डेढ सय रुपियाँ ज्याला दिने गरेको सोही ठाउँका ४५ वर्षीया महिला किसान प्रभावती देवीले सम्बन्धित निकायप्रति गुनासो गर्नुभयो । नेताहरुको मुखमा तथा कानुनमा जे भए पनि सबै तर्फबाट किसान र मजदुरले नै पीडा भोग्दै आएको प्रभावतीले दुःखेसो पोख्नुभयो । साभार : गोरखापत्र