पर्सा । काम नसकी उद्घाटन गरिएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी सडक खण्डको तिलावे नदीको पुलको थप काम अर्को ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले थालेको छ । दुई सातादेखि लुम्बिनीले काम थालेको हो ।
यो पुलको काम पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्स मिलेर गरेका थिए । तर, उद्घाटन गरिएको लामो समय बित्दा पनि बाँकी काम पूरा हुन सकेको थिएन । काम नभएपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले दुवै कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसपछि लुम्बिनी बिल्डर्स काम गर्न तयार भएको हो । कार्यालयका प्रमुख दारोगा प्रसादले लुम्बिनी काम सम्पन्न गर्न तयार भएको बताए । ‘सुरुमा पप्पुले काम ग¥यो र छोड्यो, त्यतिबेला काम सम्पन्न नभए पनि पुलको उद्घाटनसमेत गरियो,’ उनले भने, ‘त्यसपछि दुवै कम्पनी मौन बसेकाले कारबाही गर्ने चेतावनी दिएका हौं । हालसम्म काम सन्तोषजनक छ ।’
लुम्बिनीका साइट इन्चार्ज कविराज पौडेलले पप्पु कन्स्ट्रक्सनले काम नगरेपछि लुम्बिनीले अधुरो काम गरिरहेको बताए । उनले फागुन मसान्तसम्म काम सम्पन्न गर्ने अवधि बाँकी रहेको तर यसै गतिमा काम भए आउँदो दुई साताभित्र गरिसक्ने दाबी गरे । हाल पुलको पूर्व र पश्चिम दुवैतर्फ ३/३ मिटर लम्बाइ र ११/११ मिटर चौडाइको एबुडमेन्ट ढलाइ गर्न लागिएको उनले बताए । उनका अनुसार खोलाको पूर्वी किनारमा १ सय ५५ र पश्चिमी किनारमा १ सय ६५ मिटर लामो तटबन्ध बनाइएको छ ।
त्यसैगरी, पुलको सुरक्षाको लागि २० मिटर लामो र ७ मिटर चौडा एप्रोच साइड ग्यावलिनसमेत निर्माण भइरहेको उनले बताए । ८ वटा ह्युम पाइप पनि जडान गरिएको छ । पुलको पूर्व र पश्चिमतर्फ गरेर ३ सय मिटर कालोपत्रे सडक निर्माण गर्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार निर्माण कार्य समयमै सम्पन्न गर्न ढुंगा गिट्टी नपाइएकाले समस्या भइरहेको छ ।
गत साउन २८ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले पुल उद्घाटन गरेका थिए । त्यतिबेलै स्थानीयले काम सम्पन्न नगरी उद्घाटन गर्न लागिएको भनी विरोध गरेका थिए । ठेक्का लागेको ७ वर्षमा पुल निर्माण भएको हो । पप्पु/लुम्बिनी जेभीले १ सय मिटर लामो र ७ मिटर चौडा पुल निर्माणको ठेक्का ७ करोड ७१ लाख रुपैयाँमा पाएको थियो । पुल निर्माणको सम्झौता २०७२ जेठ २५ मा भई पहिलो पटक काम सम्पन्न गर्नुपर्ने म्याद २०७५ जेठ २४ थियो । तर ठेकेदार कम्पनीले पटकपटक म्याद थप गराउँदै आएका थिए । जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगन्जसँग जोड्ने हुलाकी सडकअन्तर्गतको यो पुल निर्माणमा ढिलाइ भएपछि गत वर्षको अन्त्यतिर जिल्लाका युवाले तिलाबे पुल निर्माण दबाब समूह गठन गरी दैनिकजसो दबाब दिएका थिए । साभार : कान्तिपुर