बारा । बारा जिल्लामा यस वर्ष एक लाख २१ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष कृषकले विभिन्न जातका आलु सात हजार ४५० हेक्टरमा खेती गरी प्रतिहेक्टर सवा १६ मेट्रिक टनका दरले उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
धेरै किसानले कम लगानीमा बढी फाइदा हुने नगदेबाली उखु खेती र माछापालन गर्दै आएका भए पनि समयमा पैसा र बजार नपाउने समस्या भएपछि यस वर्ष आलु खेतीतर्फ लागेका हुन् । गत वर्षको तुलनामा यस वर्ष आलु खेती गरिएको क्षेत्रफल ३० हेक्टरमा बढेको छ ।
“आव २०७८/७९ मा सात हजार ४२० हेक्टरमा खेती हुँदा प्रतिहेक्टर १६ मेट्रिक टनले कुल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको थियो,” कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।धान पाक्ने बेलामा वर्षा कम हुँदा समयमै आलु खेती भएकाले गत वर्षको तुलनामा ३० हेक्टर बढी क्षेत्रफलमा खेती भए पनि आलु उत्पादनमा कमी भएको ज्ञान केन्द्रका सूचना अधिकारी रामजीवन ठाकुरले जानकारी दिनुभयोे । अरू जातको तुलनामा शिवचालिस र लालमुनि जातको आलु बढी उत्पादन हुने भएकाले अधिकांश किसानले यी दुई जातको आलुको खेती गरेका छन् । हालका दिनमा उत्पादित आलु कलैया बजारलगायत हाटबजारमा प्रतिकिलो २०–२५ रुपियाँमा बिक्री भइरहेको छ ।
यस जिल्लाको उचिडिह, हरिहरपुर, गोलागञ्ज, अमृतगञ्ज, देवापुर, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वालगायतका ठाउँ आलु खेतीको पकेट क्षेत्र भए पनि प्रायः सबै क्षेत्रमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत राजनारायणप्रसाद साहले बताउनुभयो ।
किसानको व्यथा
बजारमा अहिले प्रतिकेजी २०–२५ रुपियाँमा आलु बिक्री भइरहे पनि किसानबाट व्यापारीले १७–१८ रुपियाँमा खरिद गर्ने गरेको कलैया उपमहानगरपालिका–१३, धर्मनगर टोलका किसान वीरेन्द्र मण्डलले बताउनुभयो ।
आलुको बीउ खरिद मूल्यको आधा भाउमा आलु बिक्री गर्नुपर्ने बाध्यता रहेको सोही ठाउँका अर्का किसान अवधकिशोर महतोले बताउनुभयो । एक क्विन्टल बीउ आलु खरिद गर्दा तीन हजार छ सय रुपियाँ लागेको उहाँले जानकारी दिनुभयो ।
“किसान कुनै पनि बालीमा घाटानाफा जोड्दैन, रोप्ने बेलामा महँगो मूल्यमा बीउ खरिद गर्ने, बाली तयार हुँदा जुन मूल्य हुन्छ, त्यहीमा बिक्री गर्छ,” महतोले भन्नुभयो ।
खेतीमा बढी मुनाफा कमाउन पूरा गाउँमा एक/दुई जनाले प्राविधिक खेती (हाइब्रिड) गर्दै आएका छन् तर त्यसको स्वाद र गाउँघरको बीउबाट उत्पादित वस्तुको स्वादमा धेरै फरक हुने गरेको महतोले बताउनुभयो । गोरखापत्र अनलाइन