पर्सा । ठोरी गाउँपालिका–३ का किसान वन्यजन्तुले बालीनाली नष्ट गर्दा मर्कामा परेका छन् । सीमा जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भबाट आउने जंगली हात्ती, नीलगाई, हरिण, बँदेललगायत वन्यजन्तुले अन्नबाली नष्ट गर्दा स्थानीय किसानले करिब १० बिघा खेत गरी बाँझो राखेका छन् ।
वन्यजन्तुको निरन्तर आगमनले बुद्धनगरको पुछार टोलका किसानले खेतीपाती गर्न छाडेका छन् । डम्बरबहादुर बस्नेत, ईश्वरी भुजेल, धनबहादुर श्रेष्ठ, मानबहादुर श्रेष्ठ, बालानन्द पाठक, प्रेमबहादुर अधिकारीसमेतको करिब १० बिघा खेत बाँझो छ ।
पीडितमध्येका एक किसान ईश्वरी भुजेलले वन्यजन्तुको निरन्तर मानवबस्ती प्रवेश जारी रहँदा कुनै पनि बाली सग्लो रूपमा भित्र्याउने अवस्था नआएपछि आफूहरूले बाध्य भएर खेतीपाती गर्न छोडेको बताए । ‘मेरो पनि २ बिघा जग्गा वर्षौंदेखि बाँझो छ,’ उनले भने, ‘दुःखजिलो गरी उब्जाएको बाली वन्यजन्तुले सखाप पारिदिन्छन्, केही सीप नलागेपछि खेतीपाती गर्नै छोडियो ।’
ठोरी गाउँपालिका वडा नं ३ का अध्यक्ष शम्भु खड्काले आफूहरू चितवन राष्ट्रिय निकुञ्जभन्दा नेपाल–भारत सीमासम्मै जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भबाट आउने वन्यजन्तुबाट आजित भएको बताउँछन् ।
‘वन्यजन्तुको प्रवेश रोक्न टाइगर रिजर्भसँग करिब ५ किमि सीमाक्षेत्रमा तारबारसमेत गरिएको छ,’ उनले भने, ‘तर ठाउँठाउँमा भारतीय बजारहरूसँग जोडिएको परम्परागत बाटोका लागि तारबार नगरी खुल्ला राखिएकाले ती स्थानबाट बढीजसो वन्यजन्तु नेपालतर्फ प्रवेश गर्छन् ।’
उनले हाल सीमामा रहेको तारबारको उचाइ बढाउने र त्यसमा सोलारबाट करेन्ट प्रवाह गरेर वन्यजन्तुको नेपालतर्फको प्रवेश रोक्न आवश्यक पहल गरिदिन आफूले भर्खरै ठोरी भ्रमणका आएका सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई आग्रह गरेको बताए । ‘उहाँहरूको भारतीय पक्षसँग निरन्तर बैठक भइरहन्छ, त्यो बैठकमा हाम्रो पीडाबारे बोलेर हाल सीमामा रहेको तारबारको स्तरोन्नति र त्यसमा सोलारबाट करेन्ट प्रवाह गर्ने व्यवस्था मिलाइदिन आग्रह पनि गरेको छु,’ उनले भने, ‘एसपी’साब हाम्रो समस्या बुझेर सकारात्मक पनि हुनुभएको छ ।’
उनले चितवन राष्ट्रिय निकुञ्जबाट भारतको वाल्मीकि टाइगर रिजर्भसम्म पुग्ने हात्तीको बथानलाई भारतीय पक्षले अनेक उपाय गरी नेपालतर्फ नै धपाउने गरेकाले पनि समस्या हुने गरेको उनले बताए । ‘नेपालबाट भारत पुग्ने हात्तीको बथानलाई भारतीयले अनेक उपाय गरी नेपालतर्फ नै धपाइदिने गर्छन्,’ उनले भने, ‘यसरी भारतबाट धपाइएका हात्तीका बथान नेपाल प्रवेश गरेपछि झनै आक्रामक रूपमा क्षति पु¥याउन थाल्छन् ।’ साभार : इकान्तिपुर