वीरगन्ज । राउण्ड टेबल नेपाल नामक संस्थाले देशभर एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृति वीरगन्जका ५२ जना विधार्थीले पनि पाएका छन् ।
संस्थाले चलाउँदै आएको ‘एजुकेट ए चाइल्ड’ अर्थात एउटा बच्चालाई पढाऔं भन्ने कार्यक्रममार्फत बुधबार देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । संस्थाको वीरगन्ज, विराटनगर, धनगढी, नारायाणघाट, भैरहवा र काठमाडौँलगायत देशभर रहेका शाखामार्फत बुधबार एकै पटक विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
‘एजुकेट ए चाइल्ड’ अन्तर्गत वीरगञ्जस्थित विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका ३ वटा सामूदायिक विद्यालयका ५२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयका २९, श्री महानगरपालिका आधारभूत विद्यालयका १० र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका १३ जना गरी ५२ जना विद्यार्थीलाई २ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको संस्थाका एरिया ३ प्रोजेक्ट कन्भेनर दीपल खन्नाले बताए ।
राउण्ड टेबलको शाखा वीरगन्ज फ्रेन्ड्स राउण्ड टेबल ८ र वीरगन्ज राइजीङ राउण्ड टेबल २० ले संयुक्त रुपमा आफ्नो क्षेत्रमा पर्ने विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयका २९ जना विद्यार्थीलाई ९६ हजार, श्री महानगरपालिका आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई ४४ हजार र श्री नेपाल राष्ट्रिय आधारभूत विह्द्यलीका १३ जनालाई ६० हजार गरी कूल २ लाख रुपैयाँ प्रदान गरिएको खन्नाले जानकारी दिए । प्रदान गरिएको रकम बराबरको चेक सम्बन्धित विद्यालयका प्रधानाध्यपक एवम् प्रतिनिधिहरुलाई प्रदान गरिएको उनले बताए ।
छात्रवृत्ति वितरणसँगै संस्थाले विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयका २९ जना विद्यार्थीलाई पाठ्यपुस्तक र ब्याग (झोला) पनि प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकको सहयोगमा ब्याग प्रदान गरिएको खन्नाले बताए । त्यस्तै कार्यक्रममै क्लबका सदस्य गौरभ अग्रवालले व्यक्तिगत खर्चमा सोही विद्यालयलाई ६ थान पंखापनि दान गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् राउण्ड टेबल इन्टरनेशनल एएसपीए क्षेत्रका प्रमुख सदस्य सौरभ केडियाले आधा दशकदेखि चल्दै आएको ‘एजुकेट ए चाइल्ड’ आजको दिनसम्म आउँदा धेरै ठूलो कार्यक्रम भइसकेको बताउँदै खुशी व्यक्त गरे । उनले एक हजार विद्यार्थीलाई शिक्षामा सहयोग गर्नु ऐतिहासिक विषय भएको उल्लेख गर्दै भने, ‘आज हामीले एक हजार विद्यार्थीलाई सहयोग गर्न सकेका छौं । आउने वर्षमा यो सङ्ख्यालाई हामीले बढाउँदै लग्नु पर्छ । समाज शिक्षित भए मात्र देश विकसित हुन्छ । देश विकासमा हाम्रो एउटा महत्वपूर्ण योगदान छ ।’
केडियाले दातृ संस्था र व्यक्तिहरुलाई छात्रवृत्तिबाट लाभावान्वित विद्यार्थीको प्रगति विवरणको बारेमा जानकारी गराउन आग्रह पनि गरे । ‘हामीले छात्रवृत्ति प्रदान गर्नुसम्म आफूलाई सिमित राख्नु हुँदैन । प्राप्त गरेका विद्यार्थीले यसबाट प्राप्त उपलब्धि बारे सहयोगीहरुलाई जानकारी गराउन पर्छ । यसले उहाँहरुलाई आफ्नो सहयोगको सदुपयोग भएको जानकारी हुन्छ,’ उनले भने ।
त्यस्तै विशिष्ट अतिथि एवम् राउण्ड टेबल नेपालका पूर्वसदस्य मनोज दासले आफ्नो विगतको अनुभवलाई साझा गर्दै ‘एजुकेट ए चाइल्ड’ जस्तो परोपकारी कामलाई निरन्तरता दिन सुझाव दिए । उनले आफू यस कार्यक्रमको सानो दाता भएको जानकारी गराउँदै आउने दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘पाँच वर्षदेखि चल्दै आएको यस कार्यक्रमको म पनि एउटा दाता हुँ । गरिब, असाहय र अब्बल विद्यार्थीलाई यसरी छात्रवृत्ति प्रदान गर्दा उनीहरुको पढाई तर्फ आकर्षण बढ्दै जाने भएकोले यस कार्यक्रमसँग जोडिन पाउँदा खुसी महसुस भएको छ । संस्थाका साथीहरुलाई आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन मेरो सुझाव छ । मेरो तर्फबाट हुने हरेक सहयोग मैले गर्नेछु ।’
त्यस्तै विद्यार्थीहरुलाई ब्याग उपलध गराउने महालक्ष्मी विकास बैंकका मधेस प्रदेश प्रमुख सुदीप पोखरेलले हजारौँ विद्यार्थीलाई सहयोग गर्ने कामको भाग हुन पाउनु सौभाग्यको विषय भएको बताए । उनले शैक्षिक क्षेत्रको सुधारका सहयोग गर्न आफ्नो बैंक सधै तयार रहेको जानकारी गराउँदै आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा तिनवटै विद्यालयका प्रधानाध्यापकहरुले सामूदायिक विद्यालय सरकारको एकल लगानीबाट मात्र नचल्न सक्ने भएको हुँदा राउण्ड टेबल नेपाल जस्ता संघ संस्थाहरुको सहयोग अपरिहार्य भएको बताए । भविष्यमा पनि विद्यालयलाई हुँदै आएको सहयोगलाई निरन्तरता दिन उनीहरुको आग्रह थियो ।
कार्यक्रमलाई समापन गर्दै वीरगन्ज फ्रेन्ड्स राउण्ड टेबल ८ का अध्यक्ष मनिष लाठले राउण्ड टेबल नेपालले अन्य सामाजिक काम गरेपनि शिक्षा पहिलो प्राथमिकतामा पर्ने बताए । लाठले देशको विकास र समृद्धिका लागि शिक्षित समाज अपरीहार्य भएको बताउँदै राउण्ड टेबलले यस्ता कामलाई अझै विस्तार गर्दै बढीभन्दा बढी विद्यालयसम्म पुग्ने लक्ष्य लिएको बताए ।
कार्यक्रममा वीरगन्ज राइजीङ राउण्ड टेबल २० का अध्यक्ष राहुल सौथालिया, महालक्ष्मी विकास बैंकका वीरगन्ज शाखा प्रबन्धक पुरुषोत्तम अधिकारी, राउण्ड टेबल नेपाल एरिया ३ का संयोजक आरोह मित्तल, लेडिज सर्कल नेपाल, विद्यालय र राउण्ड टेबल नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साभार : मधेस खबर