वीरगन्ज । बाराको परवानीपुर गाँउपालिकामा केही वर्षअघि सहयोग स्वरुप पाएको एम्बुलेन्स चालक अभावमा थन्किएको छ।
भारत सरकारले नेपालस्थित दूतावासमार्फत पालिकालाई सहयोग स्वरुप दिएको प्रदेश २ –०३ –००१ झ ००२५ नम्बरको एम्बुलेन्स चालक अभावमा करिब एक वर्षदेखि थन्किएको हो।
नेपालकै सबैभन्दा सानो पालिकामा सहयोग स्वरुप आएको एम्बुलेन्स सञ्चालन गर्न पालिकाले वास्ता नगरेपछि आवश्यक परेको बेला स्थानीयहरु चर्को रकम तिरेर अन्य ठाँउको एम्बुलेन्स प्रयोग गर्दै आएका छन्।
स्थानीय प्रभास यादवका अनुसार पालिकामा ०७९ को बैशाखमा निर्वाचित भएर आएका जनप्रतिनिधिले एम्बुलेन्स प्रयोगविहीन बनाएका हुन्।
मानवका लागि अति आवश्यक रहेको एम्बुलेन्स सञ्चालन गर्न खासै वास्ता नगरेको स्थानीय रौनीयार बताए। पाँच वटा वडा रहेको यस पालिकाका स्थानीय आवश्यक परेका बेला वीरगन्जबाट एम्बुलेन्स मगाएर प्रयोग गर्दै आएको उनले बताए।
उनले ०७९ मा निर्वाचित जनप्रतिनिधिले ८/९ महिना अगाडिदेखि वडा नम्बर १ को प्रहरी चौकीमा थन्काएर राखेको एम्बुलेन्स अहिले वडा नम्बर ३ को कार्यालय परिसरमा थन्काएको छ।
जनप्रतिनिधि एम्बुलेन्स सञ्चालन गर्न चालकको जोहो नगरे पनि विभिन्न पद खडा गरेर कर्मचारी भने नियुत्तिः गर्दै आए स्थानीय श्याम रौनीयारको आरोप छ।
उनका अनुसार पालिकाले एक दर्जनभन्दा बढी पालिका प्रहरी र शिक्षक भर्ना गर्न आवेदन खुला गरेका छन्।
अधिकृतलाई मासिक एक लाख ३५ हजारको भाडावाला गाडी
०७९ सालमा यस पालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका रौनीयारले भाडाको स्कारपियो गाडी प्रयोग गर्दै आएको पालिकाको कर्मचारीहरुले बताए।
पलिकामा रहेको एम्बुलेन्सको चालक भर्ना नगरेर पालिकाका प्रशासकीय अधिकृत मासिक एक लाख ३५ हजारको भाडामा गाडी प्रयोग गर्दै आएका हुन्।
उनले करिब एक सालदेखि मधेस प्रदेश –०३–००१ च ६३४० नम्बरको स्कोरपियो भाडामा लिएर प्रयोग गर्दै आइरहेका छन्।
वीरगन्ज बस्दै आएका अधिकृत रौनीयार कार्यालयमा कम र बाहिरको काममा बढी गाडी प्रयोग गर्दै आएको स्थानीय कन्हैया यादवले गुनासो गरे।
गाँउपालिका कार्यालयभन्दा करिब ५ किलो मिटरको दूरीमा बस्दै आएका अधिकृत रौनीयारलाई मोटरसाइकल प्रयोग नगरी चार चक्का गाडी प्रयोग गरेर पालिकालाई आर्थिक भारमा लगेको उनको आरोप छ।
यता प्रशासकीय अधिकृत रौनीयारले जनप्रतिनिधिले एम्बुलेन्स सञ्चालन गर्न कुनै निर्णय नगरेको बताए। उनले वडा कार्यालयको नाममा रहेको एम्बुलेन्स पालिकाको नाममा ल्याउने कार्य बाँकी रहेकाले सञ्चालनविहीन बनेको जवाफ दिए।
महंगो भावाको सवारीबारे जिज्ञासा राख्दा आफूले प्रयोग गर्दै आएको स्कोरपियो गाडी पालिकाका निर्णयबमोजिम नै भाडामा लिएर प्रयोग गर्दै आएको उनले प्रतिक्रिया दिए । साभार : नयाँ पत्रिका