वीरगंज । वीरगंज ब्रहम चौककि नगिया देवीले ०७९ असोज दशैको अष्टमीका दिन बाराको गढीमाई मन्दिरमा २ तोलाको चाँदीको छड्के तिलहरी चढाइन्। मन्दिरमा पुजारीसंग देवीको पुजा पाठ गरि 'अब यो तिलहरी माताको मुर्तिमा सधै लगाइदिनु' भन्दै मन्दिर बाहिर आइन्। बाहिर आएको १० मिनेट पछि फेरी मन्दिरमा फर्केर जादाँ त्यो तिलरी माताको घाटिमा थिएन। उनले मन्दिरका पुजारीसंग सोधिन्, 'पण्डित जि माताले लगाएको तिलहरी किन हटाइदिनुभयो? तिलरी कहाँ छ? हेर्दिन त! यति सोधेपछि त्यहाँ बसेका सबैले भने, 'तिलरी त समितिका मान्छेले लगे, तपाइ चिन्ता नगर्नुस् हामी माताको श्रृगांरमा सधै तिलरी लगाइदिन्छौ।' अहिले तिलरी चढाएको ८ महिना बिति सक्दा पनि त्यो गहनाको कहाँ गयो कुनै अत्तोपत्तो छैन।
यहि बैशाख १५ गते बारा सिमरौनगढ कि मनोरमा देवी सोनारले गढीमाई मन्दिरमा १ थान चाँदीको मुकुट चढाइन्। चढाएको केहि बेरमा माताको मुकुट उनको शिरमा थिएन्। पछि समितीले पुजारीले मुकुट आफ्नो घर लगेको खबर पाएपछि तत्काल मुकुट ल्याउन लगाएर समितिको नाममा रसिद काटे। अहिले मुकुट समितीको लकरमा छ।
गढीमाईको दर्शनका लागी झापाबाट आएका मनिष मानसिंहले मन्दिरको नाममा चैत २९ गते समितीको कोषमा ५०० जम्मा गरे। सुनसरी इटहरीबाट आएका मृगेन्द्र यादवले पनि यहि बैशाख १९ गते ५ सय ५ रुपैयाको रसिद काटे। यसरी मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुले दिने रकम संख्या लामै छ।
नेपाल तथा भारतबाट आउने हजारौ दर्शनार्थीले श्रद्धा पुर्वक गढीमाइलाई सुन चाँदी तथा नगर रुपैया चढाउने गरेका छन्। तर गहना चढाएको ५ मिनेट मै त्यहाबाट कसले लग्यो भनेर भक्तजनहरु अलमलमा पर्छन्। पुजारीसंग सोध्दा समितीका मानिसले लगे र समितिका मानिसलाई सोध्दा पुजारीले लगे भनेर एकअर्कामाथी दोषारोपण गरिरहेका छन्।
बारा जिल्लाको बरियापुरमा अवस्थीत गढीमाई मन्दिर पञ्चवर्षीय मेलाको नामले चर्चित छ। हजारौ लाखौको संख्यामा आउने दर्शनार्थीले गर्दा यस मन्दिरमा चढाइने भेटि र बलि विश्व प्रसिद्ध छ। मन्दिरमा नेपालदेखी छिमेकि देश भारतका लाखौ दर्शनार्थीहरु आउने गर्छन। तेस्रो मुलुकबाट आउने पर्यटकको पनि कमी छैन। दिनहुँ यस मन्दिरमा भारतको बिहार राज्यका र नेपालको विभिन्न जिल्लाका श्रद्धालुहरु आउने गर्दछन्। मेलाको समयमा भेटीको रकम गरी करोडौको कमाइ हुन्छ भने अन्य समयमा लाखौको नगद भेटि चढ्ने गरेको छ। सुनचाँदीका गहनाको त कुनै लेखा जोखा नै छैन।
गत माघ महिना देखी यहि बैशाख मसान्तसम्म तिन महिनाको अवधिमा दुई वटा चाँदीका मुकुट, सिक्कासहितको चाँदीका हार, सुनको नथिया एक जोड, टिका, दुइ जोड तिलहरी, लगायतका भेटि गरगहना समितिको लकरमा राखिएको छ। यसबाट अनुमान गर्न सकिन्छ कि गढीमाई मन्दिरमा अहिलेसम्म कति गहना भेटि चढेको होला। मन्दिरको आम्दानी तथा विकासको बारेमा कसैले जिज्ञासा राख्यो वा कतै बोलेमा दुव्र्यवहार गनुको साथै हातपातसमेत हुने गरेको नाम नबताउने सर्तमा एक स्थानीय पसल व्यवसायीले बताएका छन्।
गढीमाई मेलाको वर्ष दर्जनबढी संघ संस्था, एनजिओ, आईएनजिओ र स्थानीय रुपमा क्लब देखा परेपनि अन्य दिन भने, उनीहरुको सहभागीता शून्य हुने गरेको स्थानीयहरुको भनाइ छ।
आम्दानी पारदर्शीतामा एक अर्का माथि दोषारोपण
मन्दिरका पुजारी, समिती, पदाधिकारी र नगरप्रमुख लगायतले गढीमाई मातालाई श्रद्धालुबाट चढाएको गर, गहना, नगद र जिन्सीको बारेमा सोधपुछ गर्दा एकअर्कालाई दोषारोपण गर्ने गरेका छन्।
मन्दिरका पुजारी चन्द्रदेव चौधरीले देवीलाइ चढाउने भेटि समितीका व्यक्तिले लिएर जाने गरेको बताउँछन्।
चौधरीले भने, 'गहनाको त ठेकान छैन कति छ कति। हामीले त बारम्बार भनेकै हुन्छाैं गहनाले देवीको श्रृगांर गर्न तर यहाँ समितीले दिए पो, यहाँ देश विदेशबाट पर्यटकहरु मन्दिरमा आउछन, सजावटको लागी पनि हुन्छ तर यहाँ कुनै सामान आउने वित्तिकै समितीले लगी हाल्छ हामीले के गर्ने?,'
समितीका सदस्य हरेन्द्रप्रसाद कुशवाहाका अनुसार मन्दिरमा गहना चढाउने बित्तिकै पुजारीहरु घर लिएर भाग्छन्। 'एक पटक मन्दिरका पुजारी शम्भु चौधरीले माताको मुकुट चढाएको केहि बेरमै घर लिएर भागे, हामीलाइ जानकारी पाउने वित्तिकै प्रहरीको सहयोगमा मुकुट झिकाउन लगायौ,' उनले भने।
आफूले असार मसान्तमा एकवर्ष भित्रका सबै नगदी तथा जिन्सीका गरगहना समेतको रेकर्ड राखेर समितिमा बुझाउने गरेको समितिका सदस्य कुश्वाहाले बताए। त्यसपछि गढीमाईको मूल समितिले सम्पूर्ण आम्दानीको हिसाबकिताब कसरी पारदर्शीतागर्ने यस बारे आफूले केही भन्न नसकिने जनाए।
श्री गढीमाई मन्दिर संचालन तथा बिकाश समितीका अध्यक्ष रामचन्द्र साह तेलीले भेटिको रकम चलखेल गर्ने धेरै निकाय रहेको बताए। यसमा समिती मात्र जिम्मेवार नरहेको उनको भनाइ छ। उनी विगत २० वर्ष देखी यस समितीमा छन्। समितीमा पुर्जा कटाएको भेटिको मात्र आफूहरुलाई जानकारी हुने गरेको तर मन्दिरमा देवीलाइ चढाइएको गहना र पैसा पुजारीले लिने गरेको उनले बताए।
साहले भने, 'माताको भेटि कहाँ चढ्छ, कुनै जोखेको थोडै छ, अब कसैले आखाँ चढाइदियो, हार चढाइदियो, छत्र चढाइदियो यो सब श्रद्धाको कुरा हो, रसिद कटाएको समितिलाई मात्र थाहा हुन्छ, बाकि कसले लग्यो हामीलाइ थाहा छैन।' मन्दिरमा चोरीको डर भएकाले गहना देवीको मुर्तिमा नलगाइ दिने गरेको उनले बताए।
मन्दिरमा अहिलेसम्म डेढ सय जति चाँदीका आखाँ ७ वटा मुकुट चाँदीका छत्र आफूहरु संग रहेको अध्यक्षले बताए। मन्दिरको आम्दानी र भेटिको रेकर्डको बारेमा बुझ्दा आफूसंग भएको बताए पनि हेर्न खोज्दा आलटाल गरे। गहनाले माताको सजावट गर्ने गरेको भनेता पनि आजसम्म कसैले देवीलाइ श्रृगांर गरेको देखेका छैनन्। मन्दिरको आम्दानी अहिले श्रद्धालुको भिड अनुसार कुनै महिना ५० हजार देखी १ लाख सम्म हुने गरेको समितीले जनाएको छ। पञ्चवर्षिय मेलाको करिब करोड आम्दानी भए पनि खर्च आधाबढी हुने गरेको समितिले जनाएको छ।
कोषाध्यक्ष महेश जैशवालका अनुसार मन्दिरको भेटि समितीको कार्यालयमा राखिएको बताए। मन्दिरमा पारदर्शी रुपले गहना नलगाइदिनुको कारण चोरी हुने डर रहेको उनको भनाइ छ।
जैशवालले भने, 'सबै गहना त लगाउन सकिदैन, त्यहाँ हामीले समितिको तर्फबाट राम्रो गहना पुजारीको जिम्मा लगाइदिएका छौं, यहाँ मान्छेहरु सधै केहि नकेहि गहना लिएर आउने गर्छन् अब सबै त मातालाइ लगाइदिन सकिदैन।'
मन्दिरमा सुरक्षा व्यवस्था कमजोर भएकाले गहना समितिको लकरमा राख्ने गरेको जैसवालको भनाई छ। हरेक वर्षको आश्विन महिना अर्थात दशैंको दिनमा कोषमा भएको सबै सम्पति खुलाउने गरेको उनले बताए। तर स्थानीयले कोषमा भएको सबै सम्पती सार्वजनिक रुपमा कहिल्यै नखुलाइएको बताएका छन्।
यता महागढीमाइ नगरपालीकाका मेयर उपेन्द्र यादवले भेटीको बारेमा व्यवस्थापन समितीलाई जानकारी हुने गरेको बताए। कोहि श्रद्धालुले समितिमा रसिद नकटाइ गहना चढाएका छन भने पुजारीहरु आफैमा बाडफाड गर्छन्। पुजारीहरुको तलब नतोकिएकाले उनीहरुले यस्तो गरेको मेयर यादवको भनाई छ।
यादवले भने,'भेटी संरक्षणको बारेमा मैले सुरु कार्यकाल देखी नै भन्दै आएको छु तर यसमा समितीले कुनै चासो देखाउदैन, बितेको पञ्चवर्षिय मेलामा भेटीको नै टेण्डर गरेको थियौ त्यो बेला तिन दिनको भेटी संरक्षणमा हामीलाई १८ लाख रुपैया आएको थियो।,'
मन्दिरको आम्दानीबाट अहिलेसम्म नगरपालीकाले केहि नलिएको मेयरले दावी छ। मन्दिरको सफाइदेखी अन्य खर्च सबै नगरपालीले व्यहोर्ने गरेको उनको भनाई छ। कानुनी प्रकृया बिना समितिले टेण्डर लगाउने गरेको उनले बताए। समितीले पुजा पाठ र मन्दिरको अन्य कुरा भन्दा पनि भेटी र टेण्डरमा बढी ध्यान दिने गरेको मेयरले बताए।
सुरक्षा व्यवस्था कडा
मन्दिरमा आउने श्रद्धालु तथा भक्तजनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। मन्दिरको चारैतिर १० वटा सिसिटिभि क्यामरा जडान छ भने त्यसको निगरानी नेपाल प्रहरीले गर्ने गर्छ। नगर प्रहरी अनील कुमार लहेराले मन्दिरमा चोरीको घटना हुने कुनै सम्भावना नै नभएको बताए।
लहेराले भने,'मन्दिरमा बिहान ६ बजे देखी रातको १२ बजे सम्म ७ जना नगर प्रहरीको ड्युटि हुन्छ, यहाँ देवीको मुर्तीबाट चोरी हुन सक्दैन, दर्शन गर्न आउने भक्तजनहरुको पाकेटमारले चोरी गर्छन त्यो पनि भिडको बेलामा मात्र तर तिनीहरु पनि समातिन्छन्।'
मन्दिरमा चौधरी र कानु जातिका ३५ जना पुजारी रहेका छन्। उनीहरु दिनहुँ आलोपालो गरी मन्दिरमा भएको भिडको अनुसार १० देखी १५ जना पुजारी रहन्छन्। गढीमाईको मुर्तीको दायाबाया दुई जना, हातमा रक्षा सुत बाध्न तीन जना पुजारी अगाडी नै बसेको हुन्छ। देवीको प्रतिमा अगाडी डबल चेन गेट लगाइएको छ।
बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटिका अनुसार मेलाको बेलामा शान्ति सुरक्षाका लागी धेरै ध्यान दिनुपर्ने हुन्छ किन भने त्यसबेला भारतिय गिरोहहरु लुटपाट गर्ने उद्देश्यले आउँछन्। उक्त समयमा प्रहरीले कडा निगरानीका साथ कारवाहि गर्ने गरेको उनले बताए। तर मन्दिरको आन्तरिक सजावट र बहुमुल्य समानहरुको निगरानी नेपाल प्रहरीले सिसिटिभी बाट गरिरहेको हुँदा यसमा डराउने कुरा नभएको उनको भनाइ छ।
बोगटिले भने,'मन्दिर अगाडी हामीले प्रहरी बुथ राखेका छौं, गढीमाई मन्दिरको सुरक्षाका लागी नै ३ जना प्रहरी छन् सुरक्षाको विषयमा मेयरसंग पनि कुरा भएको छ, यसमा मन्दिरको सम्पति सुरक्षाका लागी थप सुरक्षा चाहे हामीहरु अझ दिन तयार छौ।'
मन्दिरमा करोडौंको आम्दानी विकास भने अव्यवस्थित
गढीमाइ मन्दिरमा करोडौंको आम्दानी भएपनि विकास भने अव्यवस्थित, आपसी मनमुटाव, पार्टीगत राजनीति द्वन्द्व, मुल कारण रहेको स्थानीयहरु बताउँछन्। भिआईपीहरुको लागि एसि जडित शौचालय निर्माण भएपनि अन्यको लागि व्यवस्थित शौचालय नरहेको, करिब पाँच वर्षदेखि निर्माणाधिन सूर्य मन्दिर अधुरै रहेको तथा खाने पानीको समेत कमी रहेको मन्दिरमा आउनेहरुले बताएका छन्।
अहिले नगरपालीकाले पनि मन्दिरमा चलखेल गरिरहेको समितीका अध्यक्ष रामचन्द्र साहको भनाइ छ। गएको वर्षको मेलाबाट ४ करोड आम्दानी हुने ठाउँमा नगरपालीका र जिल्ला प्रशासनका प्रमुखले गर्दा मन्दिरले २ करोड मात्र कमाइ गरेको उनले बताए। जसकारण मेला लगाउने विषयमा नगरपालीका र समितीको आपसी द्वन्द्धमा मन्दिरले करोडौको घाटा व्यहोर्नु परेको थियो।
०६३ सालमा पर्यटन क्षेत्र घोषणाको तयारी हुदाँ सो कार्यालयबाट ४५ लाख आएको बजेट बाट मेलामा राँगा काट्ने स्टेडियम बनेर ०६६ सालमा तयार भयो। तर मन्त्रीमाथी भएको द्रुव्यवहारले बजेट रोकिएको अध्यक्ष साहले बताए।
उनले भने, '०६६ सालको मेलामा पूर्व साँसद शिवचन्द्र कुशवाहाले पनि लुट मच्चाए, त्यो बेला पर्यटन क्षेत्र घोषणा भएको मन्दिरमा मन्त्रि माथी कुशवाहाला जुत्ता चप्पल चलाउन लगाउदा त्यो बेला देखी पर्यटन विभागबाट पनि आम्दानी आउने गरेको छैन्।'
प्रदेश सरकारको सहयोगमा अहिले मन्दिर नजिकै ८ करोडको लागतमा विवाह मण्डप अन्तिम चरणमा रहेको छ। मण्डपमा रंगरोगनको काम भइरहेको छ। यसमा नगरपालिकाले केहि सहयोग नगरेको समितिको भनाइ छ। मन्दिरको आम्दानीबाट हालका दिनसम्म करिब अढाइ विगहा जग्गा खरिद गरि मन्दिरको अचल सम्पति निर्माणमा मुल समिति लागेको अध्यक्ष रामचन्द्र प्रसाद साहले बताए। समितिले ३ वटा कर्मचारी राखेको छ। जसलाई मासिक १२ देखी १५ हजार सम्म दिने गरिएको छ।
५ वर्षदेखी मन्दिर बाहिर लगाइएको पुजा पसलबाट भाँडा स्वरुपको पैसा उठेको छैन। उनीहरुबाट करिब तीन सय रुपैयाको दरले अहिलेसम्म १८ लाख रुपैया बाकि रहेको मन्दिर समितीले जनाएको छ। नागरिक दैनिक