वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजारका लागि सेड निर्माण कार्यको आज एक कार्यक्रमका बिच पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
वीरगंज तथा बारा, पर्साका किसानहरूले उत्पादन गर्ने फलफूल, तरकारी, खाद्यान्न लगायत कृषि उपज बिक्री वितरणका लागि नगवामा थोक कृषि बजार स्थापनाका लागि मधेश प्रदेश सरकारको सहयोगमा ३ करोड रुपैयाँको लागतमा सेड निर्माण कार्य शुरु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रदीप यादवले अन्नको भण्डारको रुपमा रहेको बारा, पर्सामा कृषि क्षेत्रको व्यवसायीकरण भए पनि व्यापारीकरण नभएको अवस्थामा प्रदेश सरकारको सहयोगमा थोक कृषि बजारका लागि सेड निर्माण गरिन लागेकोमा खुशी व्यक्त गर्नु भयो ।
सो अवसरमा वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले नगवा क्षेत्र वीरगंजकै कृषिको केन्द्र भएको र नगवामा थोक कृषि बजार स्थापना गर्ने आफ्नो सपना शिलान्यास सँगै पुरा हुन लागेको बताउनु भयो । कृषिको बजारीकरण र व्यवसायीकरण नाराले मात्रै सम्भव नरहेको बताउँदै नगर प्रमुख सिंहले त्यसका लागि किसानहरूलाई कृषि औजार, मल खाद्यमा अनुदान, बिउँ, सिँचाइको व्यवस्था गरी प्रोत्साहित गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
कृषि बजार निर्माण कार्यको ठेक्का दीप तामाकोसी कन्ट्रक्सन प्रालि भक्तपुरले लिएको छ । २०८१ असार मसान्तभित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । कृषि बजारमा कृषि सेड , कंक्रिट पेभर, शौचालय लगायतका संरचना निर्माण गरिने बीरगंज महानगरपालिकाका नगर प्रमुख सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिनुभयो । सभार : रेडियो नेपाल