सर्लाही । मधेश प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार संयुक्त अभ्यास रौतहटको ननुथरस्थित बागमती नदिमा सम्पन्न भएको छ । बुधवार सर्लाही, रौतहट, मकवानपुर र सिन्धुलीको संगम मानिने नुनथरस्थित बागमती नदिमा प्रदेशका तीन वटै सुरक्षा निकायले संयुक्त उद्धार अभ्यास गरेका हुन् । कृत्रिम रुपमा विपद्को अवस्था सृजना गरी पीडितहरूको उद्धार र व्यवस्थापनका नमुना क्रियाकलाप गरिएको थियो ।
नमुना अभ्यासमा बाढि तथा ढुवानीमा परेका पीडितहरूको उद्धार, व्यवस्थापन, मानवीय, भौतिक तथा मानसिक क्षति व्यवस्थापन, राहत वितरण लगायतका कार्यको प्रदर्शनी गरिएको थियो । विपद्को समयमा गरिने उद्धार, उनीहरूको स्वास्थ्य उपचार तथा राहत वितरण लगायतको गतिविधि पूर्व तयारी अभ्यासमा समेटिएका हुन् ।
नेपाल सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धारकहरूले बाढीमा बगेका, नदिमा बेपत्ता भएकाहरूको बोट, मोटरबोट, लिफ्टिङ, जिपलाईन लगायतको प्रविधिको प्रयोगबाट उद्धार गरेका थिए । भने, विपद्को समयमा स्थानीय स्तरमा पाइने बोटल, ड्रम लगाएको सामग्रीको प्रयोगबाट पानीमा तैरिने विधि समेत प्रदर्शन गरिएको हो ।
मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न अभ्यासमा सशस्त्र प्रहरीले गोताखोर अभ्यास समेत प्रदर्शन गरेको थियो । अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री यादवले प्रदेश सरकारले मधेशमा हुने प्रकोप जन्य विपद् व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनु भयो । उहाँले सरकारको सुरक्षा निकायलाई आवश्यक विभिन्न उपकरण उपलब्ध गराउने योजना रहेको समेत जानकारी दिनुभयो ।
यस प्रदेशमा धेरै विपद्को जोखिम रहने गरेको बताउनुभयो । गर्मीमा लु, जाडोमा सित लहर र बर्षातमा बाढि र डुबानको जोखिम उच्च रहेको उहाँको दाबी छ । कोशी, कमला, बागमती, बकैया नदीले यस प्रदेशमा बर्षेनी धेरै जनधनको क्षति पु¥याउने गरेको स्मरण गर्नुभयो । यस्ता प्रकोपबाट हुने जनधनको क्षति रोक्न प्रदेशको क्षमता अनुसार बजेट व्यवस्थापनको लागि प्रदेशको गृह मन्त्रालय अन्तरगत गृह सचिवलाई निर्देशन दिएको उहाँले उल्लेख गर्नु भयो ।
सुरक्षा निकायले प्रदर्शनीमा राखेका उद्धारका सामाग्रीको समेत मुख्य मन्त्री यादवले अवलोकन गर्नुभयो । कार्यक्रममा तिन वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न पाटीका जनप्रतिनिधि उपस्थिति रहेको थियो । सभार : रेडियो नेपाल