बीरगंज । वीरगञ्जमा सुरक्षित गर्भपतनका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पत्रकारमार्फत जनतालाई सुरक्षित गर्भपतनका सम्बन्धतामा सचेतना फैलाउने अभिप्रायका साथ अभिमुखीकरण गरिएको स्वास्थ्य पत्रकार नेपाल का उपाध्यक्ष अर्जुन अधिकारीले बताए ।
नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा आइतवार आयोजित अभिमुखीकरणलाई सम्बोधन गर्दै बिपि कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले असुरक्षित तरिका ले गर्भपतन गराउने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । सुरक्षित तरिकाले गर्भपतन गर्ने संस्थाहरुको बारेमा जनतालाई सुसुचित गराउनका लागि उनले सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । असुरक्षित गर्भपतन गराउँदा स्वास्थ्यमा आउने जोखिम अवस्थाका बारेमा पनि जानकारी गराउन उनको आग्रह छ ।
औषधी व्यवस्था विभाग पर्साका प्रमुख किरण बर्जचार्यले सुरक्षित गर्भपतनका लागि १० वटा औषधीले नेपालमा मान्यता पाएको जानकारी दिए । दर्ता नभएका र मान्यता नपाएका फार्मेसी तथा क्लिनिकहरुबाट पनि औषधी खरिदबिक्रि हुने गरेकोमा उनले आपत्ती जनाए । यसतर्फ विभागले अनुगमन गर्दै आएपनि प्रभावकारी रुपमा अनुगमन हुन नसकेको उनको भनाई छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले सबै अधिकार स्थानीय तहको भएको हुँदा कार्यालयको जिम्मेवारी समन्वय गर्ने मात्रै भएको बताए । आवश्यक्ताअनुसार सम्बन्धीत निकायलाई अनुरोध गर्ने र आवश्यक सहकार्य तथा समन्वय गर्ने बाहेकका काम कार्यालयको अधिकार क्षेत्रभन्दा बाहिरको भएको उनले स्पष्ट पारे । स्वास्थ्य पत्रकार नेपाल प्रबन्ध का अर्जुन अधिकारीले वीरगञ्ज महानगरसहित मधेश प्रदेश र समग्र देशको तथ्यांक प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको तथ्यांकअनुसार अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी तथा डर लाग्दो रहेको । यसले मातृ मृत्युदर पनि बढीरहेको हुँदा सुरक्षित गर्भपतन गरी स्वास्थ्यको जोखिम कम गर्नुपर्नेमा उनले जोड दिए । उपत्यका बाहिर रहेर पत्रकारिता गर्दा सबै क्षेत्रमा गर्नुपर्ने बाध्यता सुनाउँदै उनले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर रिपोर्टींग गर्न आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पर्सेली पत्रकारलाई सुरक्षित गर्भपतनका सम्बन्धमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएकोमा आयोजक स्वास्थ्य पत्रकार नेपाल प्रति आभार व्यक्त गरे । यसले पत्रकारको क्षमता अभिवृद्धिसँगै समाचार लेखनका विषयवस्तुहरुको ज्ञान भएको अध्यक्ष तिवारीको विश्वास छ । साथै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि उनले गरेका छन् ।