दिपेन्द्र पटेल ।
वीरगंज । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड काठमाडौंले उद्योग स्थापना गर्ने उदेश्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरी उदेश्य बिपरित नेपालको दर्जनौ ठाउंमा चिठ्ठा र किस्ताबन्दीको नाममा ठगी गरिरहेको रहस्य खुलेको छ ।
सो कम्पनीका संचालक दोलखा निवासी विष्णु प्रसाद काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १३ मा देखाए पनि उनी देशको दर्जनौ स्थान काठमाडौं, राजविराज, बुटवल, भैरहवा, वीरगंज लगायतका ठाउंहरुमा चिठ्ठा र किस्ताबन्दी खेलाउदै करोडौं करोड ठगी गरिरहेको पाईएको छ । वीरगंजको बसपार्कमा सो कम्पनीको शाखा कार्यालय खोली नगवा निवासी ऋषिकान्त गुप्ता, घडिअर्वा निवासी दिपेश वर्णवाल र रानीघाट निवासी सुशिल सर्राफले हजारौं सदस्यहरुलाई ठगी गरिरहका हुन ।
वीरगंजमा मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरुले प्रवेश शुल्क रु. ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरु ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताए । मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया आउंछ भने २४ औं किस्तासम्म चल्ने सो किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय जम्मा गर्ने लक्ष्य वीरगंज कार्यालयको रहेको सदस्यहरुले नै बताउंदछन् ।
किस्ताबन्दी खेल्ने सदस्यहरुलाई मात्र युटयुबमा जोडी मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लले गोला प्रथा मार्फत काठमाडौं कार्यालयमा चिठ्ठा खोल्ने गरेका छन् । मासिक पिच्छै चिठ्ठा किस्ताबन्दीको रुपमा कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई लोभ्याउदै ठगी गर्ने गरेपनि नियमनकारी निकायको ध्यान नजांदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।
वीरगंज कार्यालयमा साझेदारी रही जिम्मा लिएका ऋषिकान्त गुप्ता, दिपेश वर्णवाल र सुशिल सर्राफले पर्सा, बारा, रौतहट जिल्ला लगायत मधेश प्रदेश भरी नै चालु किस्ताबन्दीको ७ हजार ९ सय ९९ जना सदस्यहरु बनाउन सफल भएको बताईन्छ । मुख्य सञ्चालक काफ्लेलाई केही हिस्सा दिई बाकी रकमहरुमा तीनै जना सञ्चालकहरु बाडफाड गर्ने सो कार्यक्रममा सहभागीहरुले नै बताउंदछन् ।
नटवरलालको नामले चर्चा कमाएका मुख्य सञ्चालक काफ्लेले कम्पनी रजिष्टारको कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड दर्ता गराउंदा उदेश्यमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने भनिए पनि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयको एक जना सदस्यलाई मोटो रकम बुझाउदै देशको दर्जनौ ठाउंमा यस्तो ठगी धन्दा गर्ने गरेको स्रोतको कथन रहेको छ । यस्तै ठगी धन्दाका कार्यालय स्टार डिजिटल वल्र्ड प्रा.लि. नामक कम्पनी दर्ता गरी नयां गिरोहले सञ्चालनमा ल्याउने तयारी गरिराखेको स्रोतले जनाएको छ ।