सर्लाही । झमझम झरी पर्नुपर्ने साउन महिनामा चैत, वैशाखमा झैँ हावा चलेर खडेरी लम्बिँदा सर्लाहीसहित तराई क्षेत्रका किसान चिन्तित बनेका छन्। पानी नपर्दा यहाँ धान रोपाइँ प्रभावित बनेको छ भने रोपिसकेको रोपो सुक्न थालेको छ। वर्षाले साथ नदिँदा सुत्ला लाग्न लागेको मकै बाली सुक्न थालेको किसानले गुनासो गरेका छन्। धान खेती हुने फाँट बाँझो छन्। “साउनको यो खडेरीले हामी किसानलाई अत्याँएको छ, पानी नभएर रोपाइँ गर्न पाइएको छैन,” लालबन्दी नगरपालिका–५ का किसान कमलप्रसाद बरालले भन्नुभयो, “रोपाइँ भई सक्नुपर्ने खेतमा सुक्खा भएर कमिला दौडिएका छन्। यो वर्ष के खाने होला ! भन्ने चिन्ताले सताउन थालेको छ।”
नहर तथा कुलोको पानी लाग्ने ठाउँ र पप्पसेट चल्ने क्षेत्रमा मात्रै फाट्टफुट्ट रोपाइँ भइरहेको देखिन्छ। नत्र भने आकाशे वर्षा नहुँदा अधिकांश खेतका फाँट बाँझो नै देखिन्छन्। रोपाइँ गर्न आली भित्ता गरेर राखे पनि पानी पर्न नसक्दा किसान चिन्तित बनेका छन्। हरिपुर नगरपालिका–१, जानकीनगरका किसान दीपमान दोङले यो वर्ष मौसमले किसानलाई निराश बनाएको गुनासो गर्नुभयो।
असारमा एक/दुई पटक परेको पानीमा हतारमा रोपाइँ गरेका किसानको खेतमा पुग्दा पानी नपरेर धान सुकेको देखेर मन भक्कानिएर आउने गरेको दोङले सुनाउनुभयो। “अहिले सुत्ला च्याप्ने बेला भएको मकैलाई पानी चाहिएको छ, रोपाइँ गर्न नपाउँदा धानको ब्याड (बिउ) छिप्पिएर कामै नलाग्ने भइसक्यो,” दोङले भन्नुभयो, “धान रोपिसकेका किसानलाई पनि चिन्ता नै छ, धान खेतमा पूरै धाजा फाटेर सुक्न थालेको छ।”
खेतीको मुख्ययाम साउनको यो खडेरीले यो वर्ष हरेक खाद्यान्नको भाउ बढ्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्। हरिवन नगरपालिका–१, का किसान विप्लव घिसिङले पानी नपर्दा यो वर्ष मकैको उत्पादन राम्रो हुन नसकेको र धान रोप्ने बेला पनि खडेरी हुँदा महँगी बढ्ने निश्चित रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। दोङका अनुसार पर्याप्त वर्षा नभएकाले यो वर्ष चुरेभेग भएर बग्ने खोलामा पानी नै छैन। कुलोमा पानी घटेकाले पानी पटाउनका लागि किसानबिच हानाथाप नै चलिरहेको छ।
लालबन्दी नगरपालिका–१६, परवानीपुरका किसान कृष्ण गौतमले पछिल्ला वर्षमा वर्षाले साथ नदिँदा खेती गर्नै गाह्रो पर्न थालेको दुःखेसो पोख्नुभयो। “हिजोआज खेती गर्न कामदार पाइँदैन, जसोतसो खेती लगायो मौसमले पनि साथ दिँदैन,” उहाँले भन्नुभयो, “पर्याप्त वर्षा हुनुपर्ने साउन महिनामा यसरी खडेरी परेको छ, यो अवस्थामा किसानले कसरी व्यवहार धान्नु ? खेतबारीमा लगाएको बाली सुकेर गएको छ। आय आर्जनको अन्य माध्यम छैन।”
कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द यादवले खडेरीका कारण धान रोपाइँमा उल्लेख्य प्रगति हुन नसकेको जानकारी दिनुभयो। “जिल्लामा अहिलेसम्म ४० देखि ५० प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ,” उहाँले भन्नुभयो, “बागमती तथा मनुष्मारा सिँचाइको नहर लाग्ने र पप्पसेट तथा स्यालो ट्युबवेलको सुविधा रहेको क्षेत्रमा ७० प्रतिशत जति रोपाइँ भइसकेको छ तर आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा ३० प्रतिशतजति मात्रै रोपाइँ भएको छ।” अहिलेको खडेरीले आफूहरूलाई चिन्ता थपेको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले बताउनुभयो। कार्यालयका अनुसार जिल्लामा साढे ४४ हजार हेक्टर जग्गामा धान खेती हुन्छ।