सर्लाही । नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपाली कांग्रेसभित्रको अन्तर्घातले ठुलो विकृति निम्त्याएको बताउनुभएको छ ।
सर्लाहीको धनकौल बजारमा बुधबार कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ देउवाले पार्टीभित्रको अन्तर्धातकै कारण कांग्रेसले चुनाव हार्ने गरेको बताउनुभयो । “३६४ दिनसम्म कांग्रेस हुने तर मतदानको एक दिन कम्युनिस्ट तथा अन्य पार्टीमा लाग्नेहरूका कारण हामीले चुनाव हार्ने गरेका छौँ,” नेतृ देउवाले भन्नुभयो, “हामी हाम्रै कारणले चुनाव हार्छौं, हामीलाई कसैले हराउनु पर्दैन ।”
उहाँले सर्लाही क्षेत्र नं. ४ मा कांग्रेसले राम्रो उम्मेदवार उठाउँदा उठाउँदै आफूहरूकै कारणले चुनाव हार्नु परेको उल्लेख गर्नुभयो । यो क्षेत्रमा डाक्टर अमरेशकुमार सिंह अन्तिममा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार दिई कांग्रेसका उम्मेदवार नागेन्द्र रायलाई पराजित गर्दै तेस्रो पटक सांसद बन्नुभएको थियो ।
उहाँले भारतबाट एक सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय व्यावहारिक नभएको बताउनुहुँदै निर्णय तुरुन्त सच्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ६० वर्षसम्म पनि मधेश कांग्रेसको गढकै रूपमा रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यदि कांग्रेसभित्र अन्तर्घात नभएको भए सर्लाहीका १२ वटा पालिकामा मात्रै नभई २० मा २० वटै पालिकामा कांग्रेसले चुनाव जित्ने अवस्था रहेको दाबी गर्नुभयो ।
कांग्रेस सर्लाही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामआश्रय साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेस मधेश प्रदेशका सभापतिलगायतले पार्टीको अवस्थाबारे धारणा राख्नुभएको थियो ।