वीरगन्ज । वीरगन्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयले लिने सवारीचालक अनुमतिपत्रको ट्रायल (प्रयोगात्मक) परीक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा भएको छ ।
अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीको प्रत्यक्ष निगरानीमा सोमबार भएको लाइसेन्सको ट्रायलमा अधिकांश परीक्षार्थी फेल भएका छन् । गत शुक्रबार यातायात कार्यालयले सोमबार ‘जी’ (बस) वर्गको ट्रायल परीक्षा लिइने सूचना प्रकाशित गरेको थियो ।
विभिन्न मितिमा लाइसेन्समा ‘जी’ वर्ग थपका लागि आवेदन दिएका ७ सय ५४ जना आवेदकको नामावली यातायात कार्यालय वीरगन्जले प्रकाशित गरेको थियो ।प्रहरी निरीक्षक सागर घले नेतृत्वको ४ जना टोली सोमबार विहान साढे ७ बजे नै वीरगन्ज–२३ प्रसौनीमा रहेको ट्रायल सेन्टरमा पुगेको थियो ।
ट्रायल प्रमुख बबिता जैसवाल, प्राविधिक र ट्राफिक प्रहरीका प्रतिनिधिसँगै अख्तियारको टोली बसेर प्रत्यक्ष निगरानीमा प्रयोगात्मक परीक्षा सुरु गरिएको थियो । ट्रायलको सुरुवाती चरणदेखि लिएर अन्तिम चरणसम्म अख्तियारका कर्मचारीले निगरानी गरेका थिए । अख्तियारका कर्मचारी खटिएका थिए ।
परीक्षार्थीहरुले चलाएको बसको चक्का लाइनमा छुनेबित्तिकै फेल भएको भन्दै अख्तियारको टोलीले चेकलिस्ट (नामावली) मा रातो कलमले चिन्ह लगाएका थिए । दिउँसो साढे २ बजेसम्म ३ सय २० जना परीक्षार्थीले ट्रायल दिएका थिए । जसमध्ये १४ जना मात्र उत्तीर्ण भएका छन् । प्रहरी निरीक्षक सागर घलेले ट्रायल अनुगमनका लागि कार्यालयले खटाएको बताए । ‘३ सय २० जनाले ट्रायल दिंदा जम्मा १४ जना पास भएका छन्,’ उनले भने ।
यातायात व्यवस्था कार्यालयको ट्रायल प्रमुख बबिता जैसवालले अख्तियारको निर्देशनमा टोली आएको बताइन् । ‘अख्तियारको टोली आफ्नो काम गर्दै छ, हामी आफ्नो काम गर्दै छौँ,’ उनले भनिन्, ।वीरगन्जमा यसरी अख्तियारको प्रत्यक्ष निगरानीमा सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा भएको थिएन् ।
लाइसेन्सको लिखित र ट्रायल परीक्षामा अनियमितताको उजुरी पर्दा अख्यितारले छानबिन तथा अनुसन्धान गर्दै आएको थियो । ‘अनियमितता गर्नेलाई अनुसन्धानसहित कारवाही गरेको भए सुधार आउँथ्यो,’ ‘यातायातका एक अधिकृत भन्छन्, ‘कर्मचारीलाई हतोत्साही गरि कार्यक्षेत्रमा हस्तक्षेप भएको छ ।’ सबैलाई एउटै नजरले हेरेर काममा हस्तक्षेप गरेर सुधार नहुने उनले तर्क गरे । साभार : इकान्तिपुर