जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका फोहोर दैनिक रूपमा उठ्न नसक्दा वातावरण दुर्गन्धित भएको छ । फोहोर उठ्न नसकेर वातावरण बिग्रन थालेपछि स्थानीयहरू चिन्ता व्यक्त गरेका छन् ।
फोहोर उठाउने साधन स्रोत उपलब्ध गराउने भनिए पनि अहिलेसम्म कुनै साधन स्रोत उपलब्ध नहुँदा वडाले आफूले चाहेअनुसार फोहोर उठाउन नसकेका कारण सडक, टोल र गल्ली दुर्गन्धित बनेको स्थानीयको भनाइ छ ।
उपमहानगरपालिकाले फोहोर उठाउने जिम्मेवारी वडालाई नै दिने भनिए पनि अहिलेसम्म झाडु खरिद गर्ने अधिकार समेत वडालाई नदिएको वडा १ का अध्यक्ष दिपनारायण यादवले बताउनुभयो । दुई जना सपाइ कर्मचारी पर्याप्त नरहेको र फोहोर सङ्कलनका लागि वडालाई दिने भनिएको सवारी समेत उपलब्ध नगराएको प्रति उहाँको आक्रोश छ ।
अध्यक्ष यादवले भन्नुभयो, ‘फोहोर उठेन भनेर वडावासी हामीमाथि आक्रोशित हुन्छन् । यहाँ उपमहानगरपालिकाको गाडी आउँछ, एक टोलबाट अर्को टोल पुग्दा दुई–चार दिनपछि मात्र पालो आउँछ । त्यसरी पालो आउँदा कैयौँ दिनको फोहोर गन्हाएर वातावरण दुर्गन्धित हुँदा वडावासी आक्रोशित हुने स्वाभाविक हो ।’
यस्तै, जनकपुरधाम वडा १० का अध्यक्ष मिथिलेशकुमार कर्णका अनुसार उपमहानगरका प्रमुख मनोजकुमार साहले निर्वाचित भएपछि सबै वडामा फोहोर सङ्कलनका लागि ट्याक्टर उपलब्ध गराउने, वडालाई नै फोहोर व्यवस्थापनको जिम्मेवारी दिने भनेको स्मरण गर्नुभयो ।
उपमहानगरकै गाडीले फोहोर उठाउँदा एक टोलको पालो ६ दिनमा आउँछ । यहाँ जनतालाई दैनिक सफा चाहिन्छ, छ दिनको फोहोर गन्हाउन थाल्छ, यसमा उपमहानगर दोषी छ । उपमहानगरकै कारण वडाको दैनिक फोहोर उठाउन नसकेको अध्यक्ष कर्णले बताउनुभयो ।
जनकपुरधाम घुम्न आउनुभएका सुनसरीका रामकुमार महतो कोइरीले जनकपुरधाम पवित्र नगर भए पनि फोहोर नउठ्दा सहर दुर्गन्धित भएको बताउनुभयो । यहाँका कुनै पोखरी फोहोरमुक्त नरहेको उहाँको भनाइ छ ।
भारतको उडिसा राज्य जगननाथधामबाट जनकपुरधाम दर्शनका लागि आउनुभएका पण्डित सदानन्द दास महाराजले भन्नुभयो, ‘भागवत कथामा आउनुभएका मारवाडी सेवा समितिमा बसोबास गर्नुभएको छ । पहिलोपटक जनकपुरधाम आएको ऐतिहासिक धार्मिक सहरलाई बेवास्ता गरेकोजस्तो देखियो । भारतमा रामायणसँग जोडिएका सम्पूर्ण मन्दिर तथा संरचनालाई संरक्षण गरिएको छ ।’
उपमहानगरसँग आफ्नै ल्याण्डफिल साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या भइरहेको र यसको लागि गुठी संस्थानसँग जग्गा माग गरिएको जनकपुरधामका उपप्रमुख किशोरी साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले तत्कालका लागि कसैको जग्गा भाडामा लिएर फोहोर त्यही खाल्डो खनेर पुर्ने गरेका छौँ । तर चाँडै नै यो समस्या पनि समाधान हुनेछ ।’ साभार : गोरखापत्र अनलाइन