राजविराज । राजविराज नगरको सौन्दर्य बढाएको भगवती मन्दिर पोखरी फोहोर फाल्ने डम्पिङ साइटका रूपमा प्रयोग हुन थालेको छ । राजविराज–७ स्थित नगरपालिका कार्यालयको मुखमै अवस्थित भगवती पोखरीले धार्मिक रूपमा निकै महत्त्व बोकेको छ । यस पोखरीलाई छठ पूजाका लागि जिल्लाकै मुख्य स्थल मानिन्छ । दक्षिण डिलमा भगवती मन्दिर, पश्चिममा शिव मन्दिर, हनुमान मन्दिर, उत्तरमा बाल मन्दिरबिचमा अवस्थित यस पोखरीमा दुई वटा शौचालय पनि बनाइएको छ । पोखरीको पश्चिमउत्तर कुनामा एउटा शौचालय छ भने अर्को प्रवेशद्वारमै शौचालय बनाइएको छ तर फोहोरले भरिएको शौचालयमा गएर शौच गर्ने अवस्था छैन ।
यहाँ छठ पूजाका बेला सरसफाइ गरी पूजा गरिन्छ । पूजा सकिएपछि फोहोर फाल्ने, खुला शौच गर्ने, घरमा गरिएको पूजापाठको फूल, अबिर, पात, कपडा सेलाउने, विभिन्न अवसरमा बनाइएको माटोको मूर्ति सेलाउने, श्राद्धकर्मपछिको नचाहिने सामग्री विसर्जन गर्नेलगायतका फोहोर फाल्ने गरिएको वडा नं. ७ का वडा सदस्य रमानन्द देवले बताउनुभयो । नगरवासीले नै यसरी फोहोर फाल्ने र पोखरीको डिलमा शौच गर्ने गरेको उहाँको कथन छ ।
राजविराज नगरपालिका खुला शौचालयमुक्त नगरपालिका पनि हो तर यहाँ खुला शौच गर्ने कार्य अझै रोकिएको छैन । पछिल्लो छ वर्षयता छठ पूजामा सफा गरिने तर वर्षभरि फोहोर गर्ने गरिएको भगवती पोखरीको मुहार फेर्ने आशा पलाएको छ । भगवती पोखरीलाई सधैँ सफा राख्ने प्रयास नभएको पनि होइन । नगरको मुख्य स्थानमा रहेको यस पोखरीलाई वर्षभरि सफासुग्घर राखेर पोखरीको सौन्दर्यीकरणको सुरुवात पनि भएको थियो ।
विसं २०७२ अघि जनप्रतिनिधिविहीन रहेको अवस्थामा राजविराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले भगवती पोखरीको धार्मिक एवं पर्यटकीय स्थलका रूपमा रूपान्तरण गर्न सरसफाइ, घाट निर्माण, डिलको मर्मतसम्भार, घाटमै आकर्षक बिजुली बत्ती जडान गर्नेलगायतका योजनासहितको काम अगाडि बढाउनुभएको थियो । त्यसपछि पोखरीको सौन्दर्य बढाउने काममा पछिल्लो पटक प्रदेश सभा सदस्य किरण साहले संसदीय विकास कोषको रकमबाट दक्षिणतर्फको डिलमा पक्की घाटमा टायल्ससहित स्तरोन्नति र प्रवेशद्वार (गेट) निर्माण गरिएको छ ।
पोखरीका चारैतिर आकर्षक बिजुली बत्ती जडान, पोखरीको डिलमा बगैँचा निर्माण, बस्ने बेन्च, बोटिङ, छठ पूजाका लागि घाट निर्माणलगायतका योजनासहित कार्य गर्न सकिने प्रबल सम्भावना रहेको यस पोखरी सफा गर्ने अभियान थालिसकेको पुनः यहाँ सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयो ।
पोखरी सफा बनाउने अभियान सुरु भएको र यस कार्यमा नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, वडाध्यक्ष, सदस्यहरूसमेतको सहभागिता देखिएको छ । “पोखरी घाँसपात, जलकुम्भी आदिले ढाकिएको छ, ती सबैलाई पानीबाट झिक्न सरसफाइ अभियन्ताहरू पानीमा पस्ने गरेका छन्,” सरसफाइ अभियन्ता विष्णु यादवले बताउनुभयो ।
एक महिनापछि आउने छठका लागि मात्र नभई सधैँ सफा राख्ने गरी सरसफाइ अभियान सुरु गरिएको नगरपालिकाका कार्यवाहक प्रमुख परविनले बताउनुभयो । सातामा एक दिन पोखरी सफाइ गर्ने कार्यव्रmम तय गरेर अभियान थालिएपछि आधा जति सफा भइसकेको उहाँले बताउनुभयो ।
भगवती पोखरीको सरसफाइमा अग्रस्थानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी रहने गरेको छ । सँगसँगै सरसफाइ अभियानमा लागेका सङ्घ संस्थाका प्रतिनिधि पनि संलग्न रहने गरेका छन् । नेपाली सेनाले सामाजिक कार्यमा पनि अग्रणी भूमिका खेल्ने गरेको देख्दा सारै खुसी लागेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताउनुभयो । शान्तिसुरक्षाका लागि विशेष अवस्थामा ब्यारेकबाहिर निस्किने नेपाली सेना सरसफाइका सामग्री बोकेर भगवती पोखरीको सफाइमा खटिएको देखेर उहाँले प्रश्न गर्नुभयो, “सेना पनि मानव हो, फोहोर गर्ने हामी नगरवासी, अनि सफा गर्ने सेना, अभियन्ता, नगरपालिका हो ? नगरलाई स्वच्छ, सफा, हराभरा, सौन्दर्य राख्ने काम नगरवासीको पनि हो, यो कुरालाई नगरवासीले आत्मसात् गर्नु पर्छ ।”
भगवती पोखरी सफा गरेर त्यत्तिकै छोडियो भने फेरि पूर्ववत् अवस्थामै फर्किने भन्दै नगरपालिकाका पूर्वप्रमुख जगरनाथ दासले नियमित निगरानी र आम्दानी हुने गरी संरचना तयार गर्नुपर्ने बताउनुभयो । “फोहोर नफाल्ने वातावरण तयार भए फोहोर हुँदैन, यसका लागि नगरपालिकाले पहलकदमी लिनु पर्छ,” उहाँले भन्नुभयो ।