वीरगंज । पर्सामा जनता समाजवादी पार्टी (जसपा) नेपालको समानान्तर समिति गठन भएको छ । वीरगंजस्थित एक पार्टी प्यालेशमा जसपाका पूर्व मन्त्री एवम् पर्सा निर्वाचन क्षेत्र नं १ का सांसद प्रदिप यादवको प्रमुख आतिथ्यतामा आयोजित नेता कार्यकर्ताहरुको भेलाले समानान्तर समिति गठन गरेको छ ।
जिल्लाको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेलीको अध्यक्षतामा १६ सदस्यीय जसपाको समानान्तर जिल्ला कार्यसमित गठन गरिएको छ । उक्त जिल्ला कार्यसमितिको उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सह–सचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, कोषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनिता शर्मा, सुरज मानन्धर, खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद यादवले रामनरेश यादव अध्यक्ष रहेको जिल्ला तदर्थ समितिको वैधानिकता सकिएपछि बुधबार नेता कार्यकर्ताको भेलाबाट तेलीको अध्यक्षतामा जसपाको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको बताए । उनले भने, यादव अध्यक्ष रहेको समिति तदर्थ समिति थियो, उक्त तदर्थ समितिको वैधानिकता बढीमा ६ महिनामात्रै थियो । तर वर्ष बित्दासमेत तदर्थ समितले न त जिल्ला अधिवेशन गरेर नयाँ जिल्ला समिति गठन गर्न सक्यो न समितिलाई नै पुर्णता दिन सक्यो । त्यसकारण बुधबार जिल्ला कार्यसमिति पुनर्गठन गरिएको हो । यो नै वैधानिक जिल्ला कार्यसमिति हो । समानान्तर समिति होइन । समानान्तर जिल्ला समिति गठनले जसपा पर्सा भित्र दुई गुटबिच लामो समयदेखि चल्दै आएको विवाद छताछुल्ल भएको छ ।
पर्सामा गत निर्वाचनदेखि जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित नेताहरुबिच चर्काे विवाद चल्दै आएकोमा थियो । पर्सामा जसपाभित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, पुर्व मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुको एक गुट छ भने अर्काे गुटको नेतृत्व सांसद यादवले गरिरहेका छन् । यादवको गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले साथ दिइरहेका छन् । बुधबार तेलीको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव र सचिव तबरेज अहमदले भने बुधबार नै अपरान्ह एक विज्ञप्ति जारी गरेर तेलीको अध्यक्षतामा गठित समिति अवैधानिक रहेको बताएका छन् ।
अध्यक्ष यादव र सचिव अहमदद्वारा संयुक्त रुपमा जारि गरिएको विज्ञप्तिमा पार्टी संगठन भताभुङ्ग पार्ने, अराजक प्रवृति र व्याक्तिवादी चिन्तन भएका, पटक पटक पार्टीको नीतिनियम विरुद्धको कार्य गर्दै आएका व्याक्तिहरुको सोचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएको टिप्पणी गरिएको छ।