काठमाडौं । राजनीतिक दलका नेता र उच्चपदस्थ कर्मचारीको गलत व्यवहारका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आर्थिक हालत गएगुज्रेको अवस्थामा पुगेको छ ।
विशेषगरी २०४७ सालको राजनीतिक परिवर्तनपछि भएको राजनीतिक हस्तक्षेप,भ्रष्टाचार र गलत नीतिका कारण साझा र ट्रली बसजस्तै निगम लगभग टाट पल्टने अवस्थामा पुगेको थियो ।
पछिल्लो समय बिस्तारै बौरिन थालेको नेपाल वायुसेवालाई चुस्न धमिरारुपी धेरैका अनेक दाउ जारी नै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै डेढ दर्जन सरकारी निकाय तैनाथ छन् । अचम्मको कुरा त उनीहरु नै सकेसम्म आफ्नो ध्वजावाहकलाई रित्याउन पछि पर्दैनन् ।
डिआइजीको नेतृत्वमा नेपाल प्रहरीको युनिट त्यहीँ तैनाथ छ । यतिखेर अर्जुन चन्द ठकुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख छन् । उनैले तिहार बिदा मनाउन बैंकक आउजाउ गर्ने भन्दै निगमसँग लिखित रुपमा चार वटा हवाई टिकट सित्तै मागेको रहस्य खुलेको छ ।
उनले परिवारका चार जना सदस्यलाई बैंकक भ्रमणको निम्ति निःशुल्क टिकटको प्रबन्ध गरिदिन आग्रह गरेका हुन् । डिआइजीको उक्त लिखित आग्रह एक कान,दुई कान मैदान हुँदै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको कानमा पुगेको छ ।
सेलिबृटी मन्त्री पनि के कम ! डिआइजीले पत्रै काटेर निशुल्क टिकट मागेको जानकारी प्रसङ्ग मिलाएर बालुवाटार जाँदा प्रधानमन्त्रीलाई सुनाइदिएको निकटस्थ स्रोतको दाबी छ । मन्त्रीले भनेका थिए, ‘यस्ता लोभीलाई विमानस्थलजस्तो संवेदनशील ठाउँमा राखेर के गर्नु सम्माननीयज्यू ? ५० हजारको टिकटमा त गति छाड्नेले अनि सुन,पान पराग,खैनी,म्यानपावरमा छ्याकन हान्दैनन् ?’ साभार : जन आस्था