नवलपरासी,पश्चिम् । आर्थिक मन्दीको असर इँटा उद्योगलाई पनि परेको छ ।पश्चिम् नवलपरासीका अधिकांश इँटा उद्योग यतिबेला पुर्णरुपमा धराशायी बनेका छन् । कात्तिकको मध्यदेखि काँचो इँटा बनाउने सिजन सुरु भएसँगै केही उद्योगले आफ्नो क्षमतालाई अधिकतम रुपमा खुम्च्याएका छन् भने केही उद्योगले उत्पादन नै बन्द गरेका छन् ।
आर्थिक मन्दी, सरकारी विकास निर्माणको काममा हुने चरम ढिलाइ, निर्माण व्यवसायीको भुक्तानीमा अवरोध, निजी घर निर्माणमा कमी,लगायतका कारणले इँटाको विक्रीमा उच्च ह्रास आउँदा उत्पादन नै बन्द गर्नु परेको व्यवसायीको गुनासो छ ।
जिल्लामा भएका ठुला र साना गरी २० वटा इँटा उद्योगहरू अधिकांश उत्पादनविहीन रहेको र स्टक रहेका उद्योगीहरूकोसमेत इँटा बिक्री नभएको इँटा उत्पादक पश्चिम् नवलपरासीका कार्यवाहक अध्यक्ष प्रभु शाहले बताउनुभयो। ‘बिक्रि छैन करिब दश लाख इँटा थन्किएर बसेको छ,’ बालाजी इँटा उद्योगका सञ्चालक कुलदिप आचार्यले भन्नू भयो। ‘ऋण धन गरेर चर्को ब्याजमा लिएर इँटा उत्पादन गर्यो न बिकास निर्माणका काम नैभएका छन्, भएका काम पनि सुस्त छन्,न घर,भवन नै बनेका छन्।नयाँ उत्पादन त परैको कुरा हो पुरानै स्टक समेत कसरी कटाउने हो ।’, आचार्यले भन्नुभयो। झन्डै ७० लाख इँटा उत्पादन हुने गरेकोमा बीचमा ५० लाखमा झार्दै अहिले सञ्चालनमा रहेका उद्योगले पनि आफ्नो उत्पादन क्षमता २० देखि २५ प्रतिशतमा खुम्च्याउन थालेको सञ्चालक आचार्यको भनाई छ ।
जिल्लामा यतिबेला १५ देखि २० प्रतिशत क्षमतामा पनि उद्योग सञ्चालन हुन नसकेको व्यवसायीहरू बताउँछन् ।
विगतमा १६ देखि साढे १६ रुपैयाँसम्म उक्लिएको इँटाको मूल्य अहिले १३ देखि साढे १३ रुपैयाँमा झरेको छ। इँटा पोल्ने कोइलाको मूल्य,मजदुर खर्च र सबै व्यवस्थापनको खर्च कटाउँदा फाइदा नहुने गरेको उद्योगीको भनाई छ । कोभिड समयले थला परेको व्यवसाय अहिलेको आर्थिक मन्दीले थप चौपट पारेको उनीहरूको भनाई छ ।
‘न उचित मूल्य छ,फेरी उत्पादन गर्ने मनोबल र अवस्था पनि छैन हामीले उत्पादन गर्न छोडेको त तीन वर्ष जति भइसक्यो’,जय बजरङ्ग इँटा उद्योगका सञ्चालक प्रभु शाह र अर्का स्टार ईटाका सञ्चालक व्यवसायी तुलसी न्यौपानेको भनाई छ ।
सरकारी र निजी दुवै क्षेत्रमा भौतिक संरचनाको निर्माण कार्य विगतका तुलनामा अत्यन्त कम देखिएको छ। यस्तो अवस्थामा नयाँ उत्पादन त परैको कुरा हो पुराना इँटा नै उद्योग परिसरमा थन्क्याएर राख्नुपर्दा उद्योगीहरू चरम वित्तीय संकटमा छन्। इँटाको मूल्यमा गिरावट आएर सस्तो हुँदासमेत जिल्लामा इँटाको बिक्रिबितरण ठप्प जस्तै देखिन्छ । रेडियो नेपाल