वीरगन्ज । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राप्रपाको सरकार आए देशका भ्रष्ट नेताहरुको पैसा खोस्टो बनाईदिने बताउनु भएको छ । राप्रपाले वीरगन्जमा मंगलबार आयोजना गरेको आमसभामा अध्यक्ष लिङ्गदेनले देश संकटमा पु-याउन देशका ठूला दलहरुको मुख्य भूमिका रहेको भन्दै भ्रष्टाचारमा उनीहरु सबै एक रहेको बताउनुभयो ।
विकसित देशले मंगल ग्रहमा जमिन लिईसकेको अवस्थामा पनि उनै सीमित व्यक्तिहरुका कारण नेपालीहरु भने एक गाउँबाट अर्को गाउँसम्म पुग्नका लागि पनि छट्पटाउनु परेको अवस्था रहेको बताउनुभयो ।
३१ बर्षदेखि सीमित व्यक्तिहरुको हातमा सत्ता गएकोले देशको विकास नभएको भन्दै उहाँले भने, “सिटामोलको लागि अदालतले आदेश दिनुपर्ने, किसानले समयमा मल, विऊ पाउदैन, जसरी तसरी ल्याएको मलबाट उत्पादन गरेको कृषि उपज विक्री गर्ने ठाउँ पनि पाउदैन ।”
उहाँले यथास्थितिमा देशलाई निरन्तरन्ता दिईराख्ने हो भने तीनै पार्टी र तीनै नेताहरुलाई मात्रै भोट दिईराख्ने हो भने, भावी सन्तती र हाम्रो देशको भविष्य पनि समाप्त पार्ने भागीदार बन्ने बताउनुभयो । त्यसैले हामी हाम्रो भाग्य परिवर्तन गर्ने, हाम्रो जीवनकालमै यो देश बनेको हेरेर मर्ने हो भने, हामीले विकल्प खोज्ने बेला आयो र विकल्प खोज्नुप-यो भनेर अपिल गर्न आएको बताउनुभयो ।
पूर्व जन्ममा पाप गरेको कारण श्राप पाएर नेपाली जनताले दुःख पाएको नभई हामीले गएको चुनावमा ठिक पार्टी ठिक नेता चुन्न नसकेर दुःख पाएको लिङ्गदेनको भनाई थियो । उहाँले भन्नुभयो, “राप्रपाले जित्यो भने राजा आउछ र हामी हा-यौं भने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता खतरामा पर्छ भन्दै हिडेका छन् । गणतन्त्र, संघीयताले के पाउछ ? समग्र देश र मधेसलाई सरकारमा चढ्ने सिँढी मात्रै बनाए । यो यथास्थितिबाट देशलाई मुक्त बनाउनुपर्छ ।”
त्यस्तै पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले देशको वास्तविक स्थिति, जनताको वास्तविक अवस्था दिनप्रतिदिन विग्रिदै गएको बताउनुभयो । उहाँले नेपालमा अग्रमनको नाममा पश्चगमको यात्रामा नेपाली समाज जकडिएको बताउनुभयो । नेपालमा भ्रष्टाचार हरेक दिन बढेर गएको भन्दै प्रधानमन्त्रीदेखि तल्लो तहसम्म पुगेको उहाँले बताउनुभयो ।
राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष तथा पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनी, धु्रब बहादुर प्रधान, भुवन पाठक, राज गुरुङ, रेखा थापा, मोहन यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।