गोलबजार । गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्नेलगायतका सेवा रोकिएको जनाइएको छ ।
गृह–मन्त्रालयबाट छ-छ महिनाका लागि दिइने कायममुकायम कार्यालयप्रमुखमा नायब सुब्बा दिनेशकुमार राउतको विसं २०७८ असोज २२ गतेदेखि हालसम्म चार पटक म्याद थप भइसकेको छ । उहाँको गत असोज २६ गते म्याद सकिए पनि मन्त्रालयले अर्को व्यवस्था नगर्दा इलाका प्रशासनको सेवा प्रवाह प्रभावित भएको हो । इलाका प्रशासन कार्यालय बोदे बरसाइन् बजारबाट प्रवाह हुने सेवा रोकिएपछि पश्चिम– दक्षिण क्षेत्रका सर्वसाधारण पैदल हिँडेर आए पनि कार्यालयबाट सेवा नपाउँदा २५ किलोमिटर पूर्व राजविराज सेवा लिन जान बाध्य छन् ।
जिल्लाको पश्चिम–दक्षिण क्षेत्रको सेवाग्राहीलाई लक्षित बोदे बरसाइन्–५ बजारमा सञ्चालित इलाका प्रशासन कार्यालयको सेवा बन्द भएपछि सप्तरीका बोदे बरसाइन् नगरपालिका, सुरूङ्गा नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बलान बिहुल गाउँपालिका गरी २६ वडाका सेवाग्राही मारमा परेका छन् । जिम्मेवार कर्मचारीको व्यवस्था नहुँदा हाल नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि आउने सेवाग्राहीलाई राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको छ ।
गृह–मन्त्रालयले शाखा अधिकृत पठाउने वा कायममुकायमको जिम्मेवारी दिने व्यवस्था नगरेसम्म कार्यालयको काम प्रभावित हुने इलाका प्रशासन कार्यालयका नायब सुब्बा राउतले बताउनुभयो । “राउतले भन्नुभयो,“नागरिकता लिन आउने सेवाग्राहीलाई आवश्यक कागजात मिलाएर सदरमुकाम राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालयमा पठाउने गरिएको बताउनुभयो । स्थापनाकालदेखि नै निमित्तकै भरमा इलाका प्रशासन कार्यालय बोदे बर्साइन् चल्दै आएको छ । अधिकृतस्तरको दरबन्दी भए पनि गृहमन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन ।
बलान बिहुल गाउँपालिका–३ कि अमृता पण्डित नगरिकता बनाउन बोदे बरसाइन् बजार आए पनि नगरिकता नबनेपछि आफु रित्तै घर फर्कन बाध्य भएको बताउनुभयो । नागरिकता लिन भोलि राजविराज जाने उहाँले बताउनुभयो ।
लोकसेवा आयोगमा समावेशीतर्फ फर्म भर्नको लागि मधेसी प्रमाणितको प्रमाणपत्र लिन आएको बोदे बरसाइन् वडा नम्बर– ८ काचन कि कञ्चनकुमारी यादव कार्यालयबाट सेवा नपाउँदा समस्या भएको बताउनुहुन्छ । बस चढेर सदरमुकाम राजविराज जान पैसा नभएको उहाँले गुनासो गर्नुभयो । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कायममुकायम प्रमुखको म्याद सकिसकेको जानकारी सहितको पत्र गृह मन्त्रालयमा पठाइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयोे “गृह मन्त्रालयलाई पत्र पठाइसकेको छु, उतै बुझ्नु होला ।” गृहमन्त्रालयका प्रवक्ता नायारायणप्रसाद भट्टराईले भन्नुभयो इलाका प्रशासनमा अधिकृत नहुँदा कामकाज प्रभावित भइरहेको जिज्ञासा राख्दा यस विषयमा आफूलाई जानकारी नरहेको बताउनुभयो । उहाँले भन्नुभयोे “यस विषयमा मलाई जानकारी छैन, प्रशासन शाखासँग बुझ्दै छु ।” गोरखापत्र अनलाइन