जनकपुर । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मधेसका प्रहरी चौकी र कार्यालय खाली गर्न संघीय सरकारलाई चेतावनी दिएका छन्।
संघीय सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै मन्त्री साहले प्रदेश सरकारले आफैं प्रहरी भर्ना गर्ने बताए।
प्रदेशसभामा पेस गरिएको प्रदेश प्रहरी संकल्प प्रस्तावमाथि मंगलबारको बैठकमा बोल्दै उनले प्रदेश प्रहरी भर्नाका लागि मन्त्रिपरिषदको बैठकमा ठाडो प्रस्ताव लैजाने उल्लेख गरे।
‘यही अवधिमा जसरी पनि प्रहरी समायोजन गर्छु। ब्युरोक्रेट्सहरू प्रहरी भर्नाको प्रस्ताव लान अहिले डाराइरहेको स्थिति छ। हाम्रो क्याबिनेटका मन्त्री, मुख्यमन्त्रीले पनि प्रस्ताव ल्याउन भनिराख्नुभएको छ। अब सदनले सरकारलाई निर्देशन दियो भने ठाडो प्रस्ताव क्याबिनेटमा लानेछु। धेरै होइन सय, दुई सय, तीन सय प्रहरी जवानमात्रै। ठाडो प्रस्ताव क्याबिनेटबाट पास हुन्छ भने देश द्वन्द्वमा जान्छ भने जाओस् हामी प्रहरी भर्ना निकाल्छौं,’ मन्त्री साहले भने।
‘तर त्यो भर्नालाई व्यवस्थित गर्नका निमित्त अझै पनि नेपाल प्रहरीका कैयन् ओहोदामा पुगेका पदाधिकारी वा संघको गृह मन्त्रालयलाई लाग्छ भने भोलि हाम्रो मधेसको प्रहरी चौकीहरू तिमी खाली गर। अब त्यहाँ मधेस प्रहरी त्यहाँ शान्ति सुरक्षाको जिम्मा लिन्छ। हैन भने प्रदेश सरकारले बनाएको प्रहरीका भवनहरूमा हाम्रो प्रदेश प्रहरी बस्छ। त्यहाँबाट शान्ति सुरक्षा दिन्छ।’
सबै राजनीतिक दलका साथ रहे गाउँ-गाउँमा संघ सरकारविरूद्ध जनता सडकमा उतार्ने स्थिति समेत आउन सक्ने उनले चेतावनी दिए। संघीय सरकारले सर्वोच्च अदालतमा रिट दायर गरे पनि प्रहरी समायोजन गर्ने उनको भनाइ छ।
अग्रगामी सरकार आइसके पनि संविधानको पहिलो बुँदामा रहेको शान्ति सुरक्षा प्रदेश प्रहरीको अधिकार प्रयोग गर्न नपाएकोमा उनले असन्तुष्टि जनाए।
‘दुबैतिर ऐन बनिसकेको छ। प्राविधिक प्रक्रिया सबै तयार गरिसकेको छ। समायोजनको सूचना निकाल्ने बित्तिकै जुन प्रहरीले जुन प्रदेशमा जाने हो त्यो प्रक्रिया अगाडि बढ्छ र बाँकी बसेको सिट हुन्छ त्यसमा प्रदेश सरकारले विज्ञापन निकाल्ने हो,’ उनले थपे।