जनकपुरधाम । देवनारायण मण्डल जनकपुर क्षेत्रमा पर्यावरण संरक्षण अभियानीका रूपमा परिचित छन्। अहिले उनले कृषि पर्यटनमा पनि पाइला चालेका छन्। उनले आफूसहित ग्रामीण भेगका बासिन्दाको जीविकोपार्जनमा दिगोपनका लागि कृषि पर्यटन अन्तर्गत ’कल्चरल भिलेज’ रेस्टुरेन्ट तथा फार्म सुरू गरेका हुन्।
यो रेस्टुेन्ट–फार्ममा मिथिलाका कलासंस्कृति, खेतीपाती, वेशभूषा र रहनसहन अवलोकन गर्ने सुविधा छ। मिथिलाका परम्परागत परिकार खान पाइन्छ। ’कृषि पर्यटनमार्फत मधेसको विशिष्टता चिनाउन चाहन्छु,’ पर्यापर्यटनमा अनुभवी देवनारायण भन्छन्।
धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरनदाहामा उनले खोलेको कल्चरल भिलेजले तीन दशकअघिको मधेसको झल्को दिन्छ। जनकपुरधामबाट धार्मिक स्थल धनुषाधाम जाने बाटोमै छ यो रेस्टुरेन्ट। यहाँ लोपोन्मुख गीत घन्किन थालेको एक साता भयो। गीतसँगै नाच पनि हुन्छ। गीत सुन्न र नाच हेर्न आगन्तुकहरू जम्मा हुन थालेका छन्।
’यहाँ आन्तरिक र बाह्य दुबै किसिमका पर्यटकलाई लक्षित गरेर मधेसका परम्परागत घर बनाइएका छन्,’ देवनारायणले भने, ’ती घर बनाउँदा पर्यटकको सुविधा ख्याल राखिएको छ।’ बाँसको टाटीमा माटो लिपेर खरको छानो लगाइएको छ। घरका भित्ता मिथिला चित्रकलाले सजाइएका छन्। पाहुनाको स्वागतका लागि मिथिलाका परम्परागत र आधुनिक परिकारहरू उपलब्ध छन्।
नयहाँको रेस्टुरेन्टमा माटोकै भाँडामा खाना पकाइन्छ र माटाकै बर्तनमा खाना दिइन्छ। माटाकै भाँडामा पानी, चिया, काँढा दिएर पाहुनाको स्वागत गरिन्छ। रेस्टुरेन्टमा पाक्ने परिकारका लागि कल्चरल भिलेजमै अन्न र तरकारी उब्जाइन्छ। फलफूल पनि यहीँको हुन्छ। पाहुनाले मिथिलाका थरीथरीका परिकार खान पाउँछन्।
देवनारायणका अनुसार यहाँको अन्न, तरकारी, फलफूल र सबै खाद्य पूर्ण रूपमा अर्गानिक हुन्छ। यहाँ पाहुनाको स्वागतमा चिया–कफी पाक्दैन। यसको साटो आफ्नै खेतमा उब्जाएको सोइजन (सैजुन) को काँढा तयार हुन्छ। मकैको जुँगा, मेवाको पात, अर्जुनाको डाँठ र तुलसीको काँढा पनि बन्छ। लेमन ग्रासको चिया पाइन्छ।
’बाहिरका पर्यटक आउँदा यहाँको प्रकृति र संस्कृतिमा रमाउन चाहन्छन्। कंक्रिटमा बस्न रूचाउँदैनन्। तर यस किसिमको व्यवस्था यहाँ थिएन,’ उनले भने, ’पर्यटकले खोजेको वातावरण दिन हामीले परम्परागत किसिमले व्यवस्था गरेका छौं। हामी मधेसको कला र संस्कृति देखाउँछौं।’
कल्चरल भिलेजमा जैविक विधिबाट खेती हुने उनको भनाइ छ। रासायनिक मल र कीटनाशक विषादी प्रयोग हुँदैन। स्थानीय केही किसानलाई जैविक खेतीसम्बन्धी तालिम दिएका छन्। ती किसानले उत्पादन गरेको अन्न, तरकारी र फलफूल कल्चरल भिलेजले किन्छ। यहाँ चारवटा पोखरीमा माछा पालिएको छ। पोखरीमा सिंहारा, मखान र कमल फूल छ। एक वर्षअघि पोखरीमा राखिएको घोँघी, शंखेकीरा, सितुवा र माछा खानयोग्य भएका छन्।
माछाको भुरा उत्पादन गरी अर्को पोखरीमा सार्ने काम भइरहेको छ। हरेक खेतीयोग्य ठाउँ तीन तरिकाबाट प्रयोग गरिएको छ। पोखरीमा कुखुरा र हाँस पाल्ने र बाख्रापालनको पनि तयारी छ। देवनारायणका अनुसार जमिनको लिज (भाडा) तिर्ने ८० प्रतिशत रकम माछापालनकै आम्दानीबाट भइरहेको छ।
एउटा पोखरीमा ’फ्लोटिङ’ रेस्टुरेन्ट बन्दैछ। यो रेस्टुरेन्ट तयार भएपछि आगन्तुकहरूले आफैंले माछा मारेर पकाउन र खान पाउनेछन्। मिथिला वाइल्ड लाइफ ट्रस्टमा देवनारायणले पर्यावरणसँगै पर्यटन क्षेत्रमा काम गरेका थिए। वन, वातावरण र वन्यजन्तु संरक्षणको अभियानमा सक्रिय थिए। कारोना महामारीको समयमा उनले कल्चरल भिलेज परिकल्पना गरेका हुन्।
’कोरोनाका बेला हामी नराम्ररी प्रभावित भयौं। त्यही बेला मैले विकल्प सोचेँ। पर्यापर्यटनबाट समृद्धिमा राम्रो काम गर्न सकिन्छ भन्ने विश्वासले कल्चरल भिलेजको परिकल्पना भएको हो,’ उनी भन्छन्, ’पर्यटकहरूलाई यहाँको कला, संस्कृति र समाज देखाएर रोजगारी र अर्थोपार्जनको व्यापक सम्भावना देखेको छु।’
देवनारायणले साढे ६ बिघा जग्गा लिजमा लिएर अर्गानिक खेती गरेका छन्। त्यहीँ रेस्टुरेन्ट बनाएका छन्। निर्माण कार्यमा हालसम्ममा ६० लाख रूपैयाँ खर्च भएको छ। योजनाअनुसार काम पूरा हुन अझै ४० लाख रूपैयाँ खर्च लाग्ने उनको भनाइ छ। खेती विस्तार गर्न थप चार बिघा जग्गा लिजमा लिने तयारी छ।
उनले वरिष्ठ कृषि अधिकृत पदबाट अवकाश पाएका देवनारायण रजकको सहयोगमा जैविक खेती गरेका हुन्। ’देवनारायण रजकको विज्ञता र अनुभवले खेतीको काम सम्भव भएको हो। मेरो अनुभव र सीप पर्यटन प्रवर्द्धन प्रयोग गरेको हुँ,’ उनले भने।
देवनारायणले गाउँमा पर्यापर्यटनको पर्याप्त सम्भवना देखेका छन्। पाहुनालाई मधेसको संस्कृति देखाउन ३० जना संलग्न दुइटा ’झिझिया’ टिम बनाएका छन्। ढोल पिपही बजाउने पाँच जना छन्। झरीझरी खेल्ने समूहमा २० जना छन्। स्थानीयवासीलाई संस्कृति संरक्षणका साथ आर्थिक गतिविधिमा जोड्ने उद्देश्य रहेको उनको भनाइ छ।
यो उद्देश्य अन्तर्गत महिलाहरूलाई घरघरमा बथुवा (बेथे) को सागको बिरिया, दालको अदौरी, दनौरी, साना माछाको सिधरी बनाउन लगाइएको छ। गुणस्तरीय उत्पादनका लागि महिलाहरूलाई तालिम दिइएको छ।
कल्चरल भिलेजले हाल दस जना किसानबाट जैविक उत्पादन खरिद गरिरहेको छ। उनीहरूलाई बिउ र जैविक मल पनि भिलेजले नै दिन्छ।
’एकैपटक जैविक खेतीतर्फ नगई क्रमशः अघि बढ्न परामर्श दिइएको छ,’ देवनारायणले भने, ’वरिपरिका गाउँका पाँच सय किसानलाई जोड्ने लक्ष्य छ। अहिले ६५ परिवारलाई जोडिसकेका छौं। रेस्टुरेन्टमा जे बनाउँछौं, त्यो बाहिर स्टल राखेर पनि बेच्नेछौं।’
हाल किसानहरूलाई आलु, काउली र टामाटर खेती गर्न भनिएको छ। किसानका यस्ता सबै उत्पादन किनेर पाउडर, चिप्स, सस बनाएर बेच्ने योजना छ। हाल यहाँको कृषि फर्ममा जर्मनीकी दुई जना विद्यार्थी पनि अभ्यासका लागि आएका छन्। यहाँका मजदुरसँगै उनीहरू काममा खटेका छन्।
यहाँ फलफूल र सागपात पनि उब्जनी हुने गरेको छ। बिरूवाहरू बिक्रीमा पनि राखिएका छन्। दूध, मल र इन्धनका लागि ६ वटा गाई पालिएको छ। खाना गोबर ग्यासबाट पकाइन्छ। ग्यासमा प्रयोग भएको गोबरबाट झोल मल बनाइन्छ। अहिले खेती भइरहेको साढे ६ बिघा जग्गामा यहीँको मल र जैविक कीटनाशक पर्याप्त रहेको देवनारायणले बताए। बिरूवामा नाइट्रोजन आपूर्तिका लागि घैंचा (नाइट्रोजन फिक्सिङ प्लान्ट) लगाएका छन्।
देवनारायणलाई नेपालीको समृद्धिका लागि नेपाली कला र संस्कृतिको पर्यटकीय उपयोगमा ठूलो विश्वास छ। ’हामी वर्षभरि खानाका नयाँनयाँ परिकार पस्किन सक्छौं। कृषि र संस्कृतिबाट पर्यटन विकास सम्भव छ,’ उनले भने। साभार : सेतोपाटी