वीरगन्ज । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित सरकारी स्वामित्वमा सञ्चालित जनकपुर चुरोट कारखाना करिब १० वर्षदेखि पूर्णरुपमा बन्द छ ।
सरकारले रुग्ण उद्योग सञ्चालनमा चासो देखाएको छ । तर सरकारले नै कुनै समय बन्द गरेको जनकपुर चुरोट कारखाना यथास्थितिमा सञ्चालनको सम्भावना नरहेको पूर्व कर्मचारी बताउँछन् ।
सरकारकै निर्णयअनुसार २०७० असार २० गतेबाट जनकपुर चुरोट कारखाना पूर्णरूपमा बन्द गरियो । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वको तत्कालीन सरकारले जनकपुर चुरोट कारखानामा कार्यरत कर्मचारीहरूलाई अवकाश दिने निर्णय गरेको थियो । त्यस यता जनकपुर चुरोट कारखाना अहिलेसम्म बन्द छ ।
कारखाना बन्द हुँदा त्यहाँ कार्यरत तत्कालीन स्थायी तथा ज्यालादारी तथा करारका कर्मचारीहरूले अवकाश पाएका थिए । कारखानाको सुरुवाती चरणमा अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार रुपैयाँ थियो ।
कहिले सुरु भएको थियो ?
०२१ सालको २९ पुसमा तत्कालीन राजा महेन्द्रबाट जनकपुर चुरोट कारखाना उदघाटन भएको थियो । २०२१ सालमा रूस र नेपालबिचको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले रूस सरकारले आफ्नै अनुदानमा नेपालमा २ वटा ठुला परियोजनाको निर्माण ग¥यो । सोही बमोजिम नेपालमा चिनी फ्याक्ट्री र चुरोट कारखाना निर्माण गर्न सरकारले सक्रियता बढायो ।
३३ बिघा ९ कट्ठा क्षेत्रफलमा फैलिएको यस कारखानाको कुल क्षेत्रफललाई तीन भागमा छुट्याइएको थियो । कारखानाको भवन ८ बिघामा र आवास २० बिघामा बनाइएको थियो भने ५ बिघा जग्गा गोदाम राख्नका लागि छुट्याइएको थियो ।
जनकपुर चुरोट कारखानामा त्यसबखतका म्यानुअल मिसिनहरु सञ्चालनमा थिए, जसबाट चुरोट उत्पादन हुन्थ्यो । पूर्वकर्मचारी मिश्रका अनुसार त्यो बेला चुरोट कारखानामा खासगरी प्राइमरी मेसिन, मेकिङ मेसिन, प्याकिङ मेसिन, प्रिन्टिङ मेसिन, भेहिकल युनिट, विद्युत यूनिट र पावर हाउस यूनिट थियो ।
कारखाना सञ्चालनमा रहेको बेला कर्मचारीहरूको आवासका लागि २५ वटा भवन निर्माण गरिएका थिए ।
जनकपुर चुरोट कारखानामा त्यसबखत उत्पादित देउराली, याक र गैंडा गरी तीन प्रकारका चुरोट प्रसिद्ध थियो । प्रिन्टिङ यूनिटका तत्कालीन इन्चार्ज सुनिल मिश्रका अनुसार त्यसबेला हरेक दिन एक करोड खिल्ली चुरोट उत्पादन हुन्थ्यो ।
वार्षिक रुपमा २ अर्ब ३६ करोड खिल्ली चुरोट उत्पादन हुने गरेको उनले बताए । यो कारखानामा करोडौं मूल्यका मेसिन र उपकरणहरू रेखदेखको अभावमा कामै नलाग्ने भएको मिश्र बताउँछन् ।
जनकपुर चुरोट कारखानामा त्यसबखतका म्यानुअल मिसिनहरु सञ्चालनमा थिए, जसबाट चुरोट उत्पादन हुन्थ्यो । पूर्वकर्मचारी मिश्रका अनुसार त्यो बेला चुरोट कारखानामा खासगरी प्राइमरी मेसिन, मेकिङ मेसिन, प्याकिङ मेसिन, प्रिन्टिङ मेसिन, भेहिकल युनिट, विद्युत यूनिट र पावर हाउस यूनिट थियो ।
जसमा प्राइमरी मेसिनले चुरोटको सुर्तीको तयार गर्थ्यो भने मेकिङ मेसिनले चुरोट तयार गर्थ्यो । पूर्वकर्मचारी मिश्र भन्छन्, ‘चुरोट तयारी भइसकेपछि प्याकिङ मेसिनबाट डब्बामा राखेर प्याकिङ गरिन्थ्यो, त्यसपछि प्रिन्टिङ यूनिटमा लगेर सबै प्रिन्टका कामहरु गरिन्थ्यो । अनि बल्ल बजारमा पठाइन्थ्यो ।’
उनका अनुसार तर अहिले कारखाना बन्द भएपछि कर्मचारी बेरोजगारमात्रै भएका छैनन्, मेसिनहरुमा खिया लागेर ध्वस्त नै भएको छ ।
‘त्यो बेला सरकारले सबै पुराना कर्मचारीलाई हटायो । दक्ष कर्मचारीहरुको निष्कासनपछि मेसिनहरु बिग्रिन थाल्यो, जसको मर्मत सम्भार कसैलै गर्न जानेनन् । अनि बिस्तारै खराब हुँदै गयो । जुनकारण ०६० सालमा आएर कारखाना नै बन्द गर्नुपर्यो ।’
३२ वर्ष जनकपुर चुरोट कारखानाको कर्मचारी भएर काम गरेका मिश्रले २०६६ सालमा अवकाश पाए । सरकारले ल्याएको ‘फोर्स रिटार्यडमेन्ट’को अवधारणा अनुरुप आफूसहित २४१ जना कर्मचारीलाई अवकाश दिइएको पूर्वकर्मचारी मिश्रको भनाइ छ ।
कारखाना धराशायी र बन्द हुनुको पछाडि मूलतः यही कर्मचारीहरुको अवकाश नै रहेको पूर्वकर्मचारी मिश्रको दाबी छ । उद्योग राजनीतिक प्रभाव, व्यवस्थापनको अभाव र संक्रमणकालको चपेटमा परी बन्द भएको पूर्वकर्मचारी मिश्रको बुझाइ छ ।
उनी भन्छन्, ‘त्यो बेला सरकारले सबै पुराना कर्मचारीलाई हटायो । दक्ष कर्मचारीहरुको निष्कासनपछि मेसिनहरु बिग्रिन थाल्यो, जसको मर्मत सम्भार कसैलै गर्न जानेनन् । अनि बिस्तारै खराब हुँदै गयो । जुनकारण ०६० सालमा आएर कारखाना नै बन्द गर्नुपर्यो ।’
कारखाना चल्न नसकेपछि ऋण लिएर तलब खुवाउनुपर्ने अवस्था आयो, अनि सरकारले बन्द गरिदियो । उनका अनुसार यो कारखाना त्यही मेसिनबाट पुनः सञ्चालन गर्ने सम्भावना छैन । उनी भन्छन्, ‘हो, यहाँको भवन प्रयोग गर्न सकिन्छ, जग्गा प्रयोग गरेर चलाउन सकिन्छ । तर पूरै नयाँ आधुनिक मेसिन राख्नुपर्छ । किनकि बजारमा अहिले चर्को प्रतिस्पर्धा छ । त्योसँग प्रतिस्पर्धा गर्न आधुनिक मेसिन राख्नैपर्छ ।’
कारखाना अहिले मधेस सरकारको कब्जामा
बन्द रहेको जनकपुर चुरोट कारखानाको परिसर र यसका भवनहरूलाई हाल मधेस प्रदेश सरकारले आफ्नो प्रयोगमा ल्याएको छ । कारखाना भएको क्षेत्रमा मधेस प्रदेश सरकारको बोर्ड राखिएको छ ।
कारखानाका भवनहरूलाई रङरोगन र मर्मत सम्भार गरी मधेस प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू र प्रदेश सरकारको कार्यालय र मन्त्री निवासकोे रूपमा प्रयोग गरिएको छ । अहिले यस परिसरमा मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा आवास, मुख्यमन्त्रीको आवास, आन्तरिक मामिला तथा गृह मन्त्रालय, वन, पर्यटन, उद्योग तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालयसहितका प्रशासनिक कार्यालयहरू छन् । साभार : रातोपाटी