जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि आफूहरू गम्भीर नै भएको बताउनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष ओलीले जनकपुरधाम विमान स्थलमा आज आयोजना गरिइएको पत्रकार सम्मेलनमा सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रहरी तथा निजामती ऐन बाधक नभएको स्पष्ट पार्नु भयो ।
उहाँले संविधानले तीन तहका सरकारको परिकल्पना गरेको बताउँदै स्थानीय तहसँग भएको १५ बेडको अस्पताललाई प्रदेश सरकारले खोसेर आफ्नो मातहतमा ल्याएर स्थानीय तहको अधिकार माथि हस्तक्षेप गरेको दाबी गर्दै मुलुकमा भएको प्रहरी माथि राजनीतिक हस्तक्षेप गर्ने काम भएको बताउँदै प्रदेशसँग प्रहरी भयो भने के होला पनि प्रश्न गर्नुभयो ।
उहाँले प्रदेश सरकारले आफ्नो मान्छेलाई प्रहरीमा भर्ना गर्नका लागि मात्र प्रहरी समायोजनको कुरा गरेको बताउँदै प्रदेश सरकारले जनतालाई विकास निर्माण, सेवा प्रवाह तथा सुशासन मार्फत परिवर्तन हुने गरि काम गरेको खण्डमा सङ्घीयता आफै बलियो हुने बताउनु भयो ।
पूर्व प्रधानमन्त्री ओलीले प्रदेश सरकारले अहिलेकै अवस्थामा प्रहरीको दुरुपयोग गर्न थालेको बताउँदै प्रदेशसँग प्रहरी भएको खण्ड के गर्ला सहजै अनुमान गर्न सकिन्छ भन्दै प्रहरीलाई स्वतन्त्र र आफ्नै तरिकाले चल्न दिने सङ्गठनको रुपमा रहन दिनु पर्दछ भन्नु भयो ।
उहाँले प्रदेश सरकारका कतिपय मन्त्रीहरूले केवल झण्डा हल्लाएर हिँड्ने गरेको आरोप लगाउँदै सङ्घीयताको अनुभूति गराउने गरि सही ढङ्गले काम गर्न नसकेको बताउँदै सरकारको कामकाज सफल, स्वच्छ तथा पारदर्शी रुपमा हुन नसकेको दाबी गर्नुभयो ।
एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धि विधेयक पास एमाले तयार भएपनि विधेयकमा पीडितलाई न्याय दिने तथा गम्भीर प्रकृतिको अपराधको घटनालाई उन्मुक्ति नदिने किसिमले आउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले पूर्व राजाको सक्रियता नयाँ पार्टी खोल्नका लागि हुन सक्ने बताउँदै इतिहास भएको विषयमा धेरै टिप्पणी गर्न नचाहेको बताउनु भयो । पत्रकार सम्मेलन पछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली महोत्तरीमा आयोजना गरिएको पार्टीको कार्यक्रममा सरिक हुनका लागि महोत्तरी जानु भएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव रघुवीर महासेठ, प्रतिनिधि सभाका सदस्य ज्वाला कुमारी साह, जुली कुमारी महतो, प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुर सहितका नेताहरूको उपस्थिति रहेका थिए । साभार : रेडियो नेपाल