वीरगंज । वीरगंजमा कर्फ्यु जारी भएसंगै झडप भएको छ । झडपमा ११ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार दुई पक्षबिच भएको विवाद नियन्त्रण गर्न पुगेको प्रहरीलाई ताकेर ढुङ्गा मुढा प्रहारले नेपाल प्रहरीको ९ र सशस्त्र प्रहरीको २ गरी ११ जना घाइते भएका हुन् ।
रौतहटको इसानाथ नगरपालिकाको मोतीपुरमा फागुन ३ गते दुई पक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगंजमा बन्द, जुलुस तथा प्रदर्शनको क्रममा दुवै पक्षको विवादले उग्र रुप लिदाँ प्रहरीको टाउको, खुट्टा लगायतको स्थानमा चोट पटक लागेको छ। घाइते प्रहरीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा केही प्रदर्शनकारी समेत घाइते भएका छन् । ठाउँ ठाउँमा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ ।
स्थितीलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मित्तेरी पुल भित्र पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनले निषेधित क्षेत्रमा आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ¥याली तथा अन्य कुनै उङ्खल गतिविधि गर्न नपाउने उल्लेख गरेको छ।