प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई पनि समेट्दै नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका एमालेका एक नेताले पुष्टि गरेका छन्।
नेताहरूका अनुसार नयाँ नियुक्त हुने मन्त्रीहरूको शपथको समय लगायतका विषयमा टुङ्गो लाग्न बाँकी छ।
“प्रधानमन्त्रीले एमाले, रास्वपा र जसपालाई समेटेर आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुन्छ,” केन्द्रीय सचिवालयको बैठकपछि बीबीसीसँग कुरा गर्दै एमाले नेता सुरेन्द्र पाण्डेले भने।
उनका अनुसार एमालेको तर्फबाट पदम गिरीले पहिलो चरणमा मन्त्रीको शपथ लिनेछन्। मन्त्रालयको अहिले टुङ्गो चाहिँ लागिनसकेको पाण्डेले बताए।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले सोमवार सानो आकारकै मन्त्रिपरिषद् गठन हुने बीबीसीलाई बताए।
"चारवटै [माओवादी केन्द्र, एमाले, रास्वपा र जसपा] बाट एक/एकजना हुने गरी मन्त्रिपरिषद् पुनर्गठन हुन्छ। पुरानो पूरै सेटलाई नै प्रधानमन्त्रीज्यूले हटाउनुहुन्छ," बीबीसीसँग उनले भने।
लामिछानेलाई जिम्मेवारी
एमाले सचिवालय बैठकमा पछिल्ला घटनाबारे छलफल भएको नेता प्रदीप ज्ञवालीले बताए।
ज्ञवालीका अनुसार प्रधानमन्त्रीले वर्तमान गठबन्धनलाई अगाडि बढाउन नसकिने आइतवार नै एमाले नेतृत्वलाई बताएका थिए।
मन्त्रिपरिषद्को पुनर्गठनसँगै बनेको १३ महिनापछि वर्तमान सत्तारूढ गठबन्धन टुट्नेछ।
त्यस बेला कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरी पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
सरकारमा आफ्नो सहभागिताबारे रास्वपाका नेताहरूले प्रतिक्रिया दिएका छैनन्।
सोमवार बिहान बसेको बैठकमा पछिल्लो समय विकसित घटनाक्रमहरूबारे छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बीबीसीलाई बताए।
रास्वपाको सचिवालय बैठकले परिवर्तित सन्दर्भमा निर्णय गर्ने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिएको छ।
“केही विषयमा तत्काल निर्णय गर्नुपर्ने भए पार्टी सभापतिलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ,” रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बीबीसीसँग भने।
परियारका अनुसार बैठकमा सभापति लामिछानेले सङ्क्रमणकालीन न्यायका बाँकी विषय, राष्ट्रियसभाका अध्यक्ष निर्वाचन लगायतका मुद्दामा भएका समझदारीबारे जानकारी गराएका थिए।
सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रको पदाधिकारी बैठकले पछिल्लो घटनाक्रमबारे छलफल गरेको नेता देवेन्द्र पौडेलले बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वामपन्थी एकताका लागि पछिल्लो कदम चालिएको उल्लेख गरे।
नेता मनिष सुमनका अनुसार जसपाको पनि आन्तरिक बैठक चलिरहेको छ।
सोमवार बिहान बस्ने भनिएको सत्तारूढ गठबन्धनको बैठक चाहिँ स्थगित भएको छ।
'प्रचण्डले गठबन्धन तोडे'
सोमवार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले नै वर्तमान गठबन्धन तोडेको निष्कर्ष निकालेको नेता रमेश लेखकले बीबीसीलाई बताएका छन्।
"हामीले निरन्तरता दिने गरी काम गर्दै आएकोमा प्रधानमन्त्रीले अप्रत्यासित रूपमा गठबन्धन तोड्नुभएको हाम्रो निष्कर्ष हो," लेखकले भने।
कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको हकमा के गर्ने भन्ने विषयमा निर्णय लिने कुरा प्रधानमन्त्रीको भएको उनले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई आइतवार राति नै बोलाएर राजीनामाका लागि तयार रहन निर्देशन दिएका थिए।
यसअघि कांग्रेसका नेताहरूले वर्तमान सत्तारूढ गठबन्धनमा गम्भीर हलचल भएको बीबीसीलाई बताएका थिए।
“प्रधानमन्त्रीले एमालेसँग मिलेर जाने मनस्थिति बनाइसक्नुभएको देखिन्छ,”नाम उल्लेख नगर्ने शर्तमा कांग्रेसका एक नेता तथा सरकारमा सहभागी मन्त्रीले बीबीसीसँग भने।
केही सातायता खासगरी राष्ट्रियसभा अध्यक्ष चयनको विषयलाई लिएर माओवादी केन्द्र र कांग्रेसबीच मतभेद छताछुल्ल भएको छ।
तर कांग्रेसका एक नेताका अनुसार देउवा माओवादीलाई राष्ट्रियसभा अध्यक्ष दिन विषयमा पनि सहमति जनाएका बताएका थिए।
“हाम्रा सभापतिज्यूले राष्ट्रियसभा अध्यक्ष पनि लिनूस् र गठबन्धनको नेतृत्व गर्दै सरकार पनि तपाईँ नै चलाउनूस् भनेर प्रधानमन्त्रीज्यूलाई भन्नुभयो,” ती नेताले भने।
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि देउवाले सहमति जनाएका ती नेताको भनाइ थियो।
“मन्त्रिमण्डलमा हेरफेर गर्न खोज्नु भएका प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय खासगरी अर्थमन्त्री प्रकाशशरण महतलाई हटाउन चाहनुभएको रहेछ,” उनले भने।
परराष्ट्र एनपी साउदले वर्तमान गठबन्धनमा असमझदारी उत्पन्न भएको स्वीकारे। "गठबन्धनबीच असमझदारी उत्पन्न भएको छ। समस्या समाधान गर्न कांग्रेस लचिलो र उदार छ," उनले भने। साभार : बीबीसी नेपाली